Pages

Monday, March 11, 2013

संघर्षको नेपाली मोडल

नेपाल कम्युनिष्ट पार्टी – माओवादीले वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धाराको प्रतिनिधित्व  गर्दछ । एकीकृत माओवादीको मूल नेतृत्व नवसंशोधनवादमा पतन भइसकेपछि त्यससीत सम्बन्धविच्छेद गरेर २०६९ असार २–५ को राष्ट्रिय भेलाबाट यस पार्टीको पुनर्गठन भएको हो । यसले २०६९ पुस २५– माघ १ मा सातौं राष्ट्रिय महाधिवेशन गरेर पार्टीको नीति, कार्यक्रम र कार्ययोजना पारित गरिसकेको छ । माओवादी पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषद व्याख्या र विश्लेषण गर्दै नेपाली क्रान्तिको रणनीति र कार्यनीति पनि पारित गरिसकेको छ । र, वर्तमान नेपाली क्रान्तिको कार्यदिशाको रुपमा जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा निक्र्योल गरेको छ ।
    एमाओवादीबाट विद्रोह गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा– माओवादीको पुनर्गठन भएपस्चात यसका पछाडि धेरै प्रकारका हल्लाहरु चल्ने गरेका छन् । एकातिर माओवादी पार्टीले निर्वाचन आयोगमा दर्ता गरेको छैन । यो पार्टी पुनः जंगलतिर फर्कदै छ । फेरि यो पार्टी जनयुद्धमा फर्कदै छ । छापामार दस्ता र जनसेना निर्माण गर्दैछ, छिट्टै हतियार उठाएर सशस्त्र संघर्षमा फर्कदै छ । पार्टीलाई पनि भूमिगत शैलीमा विकास गर्दैछ जस्ता प्रचार गरिएको छ भने अर्कोतिर माओवादी पार्टी एमाओवादीबाट पद, पोष्ट र भागबन्डा नमिलेर फुटेको हो । यो पनि एमाओवादी र एमाले जस्तै संसदीय भाषामा रमाउने पार्टी हो, त्यो भन्दा बढ्ता यस पार्टीले पनि केही गर्ने वाला छैन । अहिले उसले प्रधानमन्त्रिको उम्मेदवारको रुपमा पार्टीका महासचिव रामबहादुर थापा बादललाई अगाडि सारिरहेको छ र गोलमेच सभाको कार्ड फ्याकिरहेको छ । यो तरिका भनेको पार्टीलाई संसदीय पार्टीको रुपमा लैजाने नै हो भन्ने प्रचारवाजी गरिएको छ ।
    अतः यी त भए वाह्य रुपमा गरिएका प्रचारवाजीहरु वास्तवमा माओवादी भनेको के हो ? किन यो एमाओवादीबाट विद्रोह गरेर अलग पार्टी बनाउन पुगेको हो ? के माओवादी पुनः जंगलतिर फर्कदै छ र जनयुद्धमा जाँदै छ त ? यात त यो पार्टी पनि उही एमोवादी र एमाले जस्तै संसदीय पार्टी नै बन्ने हो त ?
    यात माओवादी पार्टीका निश्चित लक्ष्य उद्देश्यहरु के हुन् र यसको खास रोडम्याप के हो त ? भन्ने बारेमा स्पष्ट हुन जरुरी हुन्छ ।
    यहाँनेर स्पष्ट हुनुपर्ने कुरा के हो भने नेकपा–माओवादी नेपाली सर्वहारावर्गको सबैभन्दा उच्चस्तरको संगठित अग्रदस्ता र राजनीतिक प्रतिनिधि संस्था हो । र, नवसंशोधनवाद र राष्ट्रिय आत्मसमर्पणवादसीत सम्बन्धविच्छेद गरेर पुर्नगठित यो क्रान्तिकारी पार्टी हो । साथै माओवादी पार्टी अन्तरराष्ट्रिय सर्वहारा वर्गको एक टुकडी पनि हो । अन्तर्राष्ट्रिय सर्वहारा वादमा आधारित भएर पुर्नगठित यो पार्टी माक्र्सवाद– लेनिनवाद– माओवादको पथप्रदर्शन र मार्गनिर्देशनमा अगाडि बढ्न चाहन्छ । अर्थात –माओवादी पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद – लेनिनवाद –माओवाद हो । यसै मार्गदर्शनमा रहेर यस पार्टीले आफ्ना सबै क्रियाकलापहरु अगाडि बढाउन चाहन्छ ।
    सर्वविदितै कुरा हो, नेपाली कम्युनिष्ट आन्दोलनले ६४ वर्ष पार गर्दैछ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलन भित्र वर्गसंघर्ष र अन्तरसंघर्षका अनेकौ जटिल, वाङ्गा टिङ्गा र कहाली लाग्दा घुम्तिहरु रहेका छन् । यद्यपि यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौ समूह–उपसमूहहरुमा विभाजित रहँदै आएको छ । अतः सारमा यस आन्दोलन भित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आएको छ । आज नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थि संशोधनवादी धाराले आपूmलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थि सुधारवादी, संशोधनवादी एवं आधुनिक संशोधनवादी हुँदै नवसंशोधनवादी (जो एमाओवादी एमालेले प्रतिनिधित्व गर्दछन्) ले धारामा गुणात्मक ढंगले फड्को हान्न पुगेको छ भने यसको ठिक विपरित नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा (जो पुर्नगठित माओवादीले प्रतिनिधित्व गर्दछ) ले आज माक्र्सवादी–लेनिनवादी–माओवादीका रुपमा गुणात्मक ढंगले विकसित हुँदै जनयुद्धको जगमा जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने अन्तिम ऐतिहासिक मोडमा खडा हुन पुगेको छ । यो नै नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको द्वन्द्ववाद हो । र, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको यस द्वन्द्ववादलाई हामी सबैले अत्याधिक गहिराइका साथ आत्मसाथ गर्न जरुरी छ ।
    सबैले बुझ्नु पर्ने कुरा के हो भने नेकपा–माओवादीको न्यूनतम लक्ष्य नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु रहेको छ भने अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्नु रहेको छ । तर अहिलेसम्म पनि नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामै गुज्रिएको छ । यस अवस्थामा रहेको देशमा गरिने क्रान्ति भनेको मजदुर– किसान एकताको आधारमा सर्वहारा वर्गको राजनीतिक पार्टी कम्युनिष्ट पार्टीको नेतृत्वमा सम्पन्न गरिने नयाँ जनवादी क्रान्ति नै हो । अर्थात् नयाँ खाले पूँजीवादी क्रान्ति नै हो । त्यसो भएर नै नेपाली क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी पनि अहिले नेकपा–माओवादीको काधमा आएको छ । यी नेपाली क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्ने उद्देश्यका सात एमाओवादीबाट सैद्धान्तिक, वैचारिक, राजनीतिक एवं सांगठनिक रुपले समेत सम्बन्धविच्छेद गरेर यो पार्टीको पुनर्गठन हुन पुगेको हो भन्ने कुरा पनि भूल्न मिल्दैन ।
    यहाँ अब नेपाली क्रान्तिको मोडेल के हुने ? जनयुद्धको कि जनविद्रोह ? भन्ने विषयमा पनि व्यापक बहस चल्ने गरेको छ । अझैं अर्को के विषयमा पनि के बहस चल्ने गरेको छ भने अब गरिने नेपाली क्रान्तिको मोडेल रसीयन क्रान्तिको जनविद्रोहको मोडेल कि चिनीया नयाँ जनवादी क्रान्तिको छापामार जनयुद्धकै मोडेल भन्ने विषयमा पनि व्यापक बहस चल्ने गरेको छ । खास कुरा के हो भने नेपालमा अब गरिने क्रान्ति रसीयन मोडेलको जनविद्रोहको सोझै नक्कल गरिएको जनविद्रोहको मोडेल पनि हुनेछैन र चिनीया नयाँ जनवादी क्रान्तिको सोझै नक्कल गरिएको छापामार शैलीको जनयुद्धको मोडेल नभएर नेपालको विशिष्टतामा आधारित नयाँ नेपाली मोडेलकै क्रान्तिको मोडेलबाट क्रान्ति सम्पन्न गरिनेछ भन्ने पुर्नगठित माओवादीको रणनीतिक एवं कार्यनीतिक योजना अर्थात् दश वर्षे जनयुद्धको जगमा जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गरिने छ भन्ने नेपाली क्रान्तिको रोडम्याप तय गरिसकेको छ ।
    यतिबेला जनयुद्धको जगको आधारमा रहेका जनसेनाहरु, आधार इलाकाहरु, नयाँ जनसत्ता, जनअदालत र जनसरकारहरु त खारेज भइसकेको अवस्था छ । यस्ता अवस्थामा केलाई जनयुद्धको जग मान्ने त भन्ने कुरा पनि जोडदार रुपले उठ्ने गरेको छ । हो जनयुद्धले निर्माण गरेका यी प्रमुख आधारहरु त खारेज भइसकेको कुरा साचो हो । तर वास्तविकता के हो भने दश वर्षको जनयुद्धको विषद अनुभव र शिक्षा तथा शक्ति पुनर्गठित माओवादी पार्टीमै रहेको छ । यसैका जगमा टेकेर जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने समग्र योजना माओवादी पार्टीले बनाएको छ ।
    जनयुद्धको जगमा जनविद्रोह नेपाली क्रान्ति सम्पन्न गर्ने माओवादीको कार्यनीतिक कार्यदिशा भएको कुरा प्रष्टै छ । शहरीया जनसंघर्षको माध्यमबाट जनताको जनविद्रोहलाई संगठित गरेर अगाडि बढ्नुपर्ने भएकोले नेपाली क्रान्तिको थलो राजधानी लगायत ठूला शहरहरुलाई बनाउने र गाउलाई नेपाली क्रान्तिको आधार क्षेत्र अर्थात आधार इलाका बनाउने माओवादीको रणनैतिक योजना रहेको छ । यसको निम्ति जुझारु प्रतिरोधी शक्तिको निर्माण गर्ने र संयुक्त राजनीतिक मोर्चा समेत निर्माण गर्ने यसका प्राथमिक महत्वका विषय रहेका छन् । तर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने, संविधान सभा वा कुनै पनि प्रकारका संसदीय चुनावहरु कुनै महत्वका विषय सूचीमा रहेका छैनन् । परिस्थित अनुसार चुनावलाई उपयोग वा बहिष्कार र खारेज जुनकुनै पनि नीति अवलम्बन गर्न सक्ने नीति माओवादी पार्टीले बनाएको छ । र वर्तमान राष्ट्रिय गतिरोधको अन्त्यका लागि गोलमेच सभाको विकल्प नरहेको माओवादीको ठहर छ । साथै संसदवादी दलहरु, तिनका नेताहरु असफलतासँगै सिँगै संसदीय व्यवस्था नै असफल बन्दै गएको ठहर माओवादीको रहेको छ । र जनयुबद्धको जगमा गरिने जनविद्रोहले मात्र नेपाली क्रान्ति सम्पन्न हुनेछ र यसले मात्र नयाँ नेपालको  निर्माण गर्नेछ एवं नेपाली जनताका नयाँ नेपाल निर्माणका सुन्दर सपनाहरु पूरा गर्नेछ भन्ने मान्यता माओवादीले राखेको छ ।

No comments:

Post a Comment