Wednesday, May 15, 2013
के हो नयाँ जनवादी क्रान्ति ?
विषय प्रवेशः
अर्धसामन्ती, अर्धऔपनिवेशिक एवं नवऔपनिवेशिक देशमा सर्वहारावर्गको उच्चस्तरको राजनीतिक संगठित अग्रदस्ताको रुपमा रहेको कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर किसान एकताको आधारमा गरिने क्रान्तिलाई नयाँ जनवादी क्रान्ति भनिन्छ । यसखाले क्रान्तिले जनताको जनवादी अधिनायकत्वसहितको नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना गर्दछ । नयाँ जनवाद भनेको अर्धसामन्ती र अर्धऔपनिवेशिक तथा कृषि प्रधान समाजमा विकसित गरिएको माक्र्सवादी सिद्धान्त हो । नयाँ जनवाद तथा नयाँ जनवादी क्रान्तिका सिद्धान्तकार चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङ हुनुहुन्छ । वहाँकै नेतृत्वमा चीनमा सन् १९४९ तिर नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।
कार्ल माक्र्स र लेनिनले पुँजीवादको विकास भइसकेको मुलुकमा सर्वहारावर्गको नेतृत्वमा क्रान्ति सम्पन्न गरी समाजवादी राज्यप्रणाली स्थापना गर्ने सिद्धान्त प्रतिपादन गर्नु भएको थियो, तर चीन जस्तो पुँजीवादको विकास भइनसकेको अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा जनवादी क्रान्तिको सम्भावना र सिधै समाजवादको स्थापना गर्न नसकिने भएको हुँदा यसका लागि नयाँ किसिमको जनवादी क्रान्ति र नयाँ जनवादको सिद्धान्त प्रतिपादन गरेर चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरिएको थियो । अहिले जनवादी क्रान्तिको चर्चा चलिरहेको बेला हामीले त्यसैको बारेमा यहाँ केही चर्चा गर्न खोजिएको छ ।
के हो पुरानो जनवादी क्रान्ति ?
सन् १७८९ मा सम्पन्न फ्रान्सेली राज्यक्रान्तिलाई पूरानो खाले जनवादी पुँजीवादी क्रान्तिका रुपमा मानिन्छ । त्यस फ्रान्सेली राज्यक्रान्तिको नेतृत्व मध्यम वर्गको नेतृत्वमा मजदुर किसान एकताको आधारमा सम्पन्न गरिएको थियो । तत्कालीन अवस्थामा मध्यम वर्गले क्रान्तिकारी भूमिका निर्वाह गरेको थियो र त्यसले सामन्तवादसित पूर्णरुपमा सम्बन्ध विच्छेद गरेको थियो र सामन्तवादको समूल रुपमा नष्ट गरेर पुँजीवादी जनवादी अर्थव्यवस्था अर्थात अधिनायकत्व स्थापना गरेको थियो । यसले सामन्ती राज्यव्यवस्थाका सम्पूर्ण आर्थिक, राजनीतिक, प्रशासनिक समेतलाई अन्त्य गरेर पँुजीवादी जनवादी अधिनायकत्वसहितको राज्य व्यवस्था स्थापना गरेको थियो । सामन्ती व्यवस्थाभन्दा पुँजीवादी व्यवस्थालाई एक कदम अगाडिको प्रगतिशील व्यवस्था मानिन्छ ।
तर पुँजीवादले साम्राज्यवादमा विकास गरेपश्चात पुँजीवादी वर्गले पुनः सामन्तवाद र साम्राज्यवादसित घाटी जोड्न पुग्यो र दलाल तथा नोकरशाही पुँजीवादमा परिणत भएपश्चात त्यसले पुँजीवादी एकाधिकारवादलाई आत्मसात गर्न पुग्यो । फ्रान्सेली राज्यक्रान्तिको नेतृत्व गरेको मध्यमवर्गले पुनः सामन्तवादसित सम्झौता गरेर सन् १७९४ मा नै नेपालियन बोनापार्टलाई साम्राटको रुपमा खडा गरेर पुनः सामन्तवादी राजतन्त्रलाई व्यूताउन पुग्यो । त्यसपछि मानव समाजको विकासक्रममा सामन्तवादको चिहान खन्ने महान् अभिभारा बोकेर सन् १७८९ मा फ्रान्सेली राज्य क्रान्तिको नेतृत्व समेत गरेको मध्यमवर्ग सामन्तवाद र साम्राज्यवादको ठिमाह सन्तानको रुपमा विश्वमानव समाजमा उदायमान हुन पुगेपछि अब पुरानोखाले पँुजीवादी क्रान्तिको नेतृत्वदायी शक्तिको अवसान हुन पुग्यो । र सामन्तवाद र साम्राज्यवादको छत्रछायाँमा उदयमान भएको पुँजीवादी एकाधिकारवादी शासन व्यवस्थालाई चिहान खन्ने उद्घोषका साथ पँुजीवादकै गर्भबाट औद्योगिक मजदुरवर्ग अर्थात् सर्वहारावर्गको जन्म भयो । र यसलाई मार्गनिर्देशन गर्नका लागि कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्धारा सन् १८४८ मा कम्युनिस्ट घोषणापत्रमार्फत माक्र्सवादको प्रतिपादन भएपछि सर्वहारावर्गले आफ्नो मुक्तिको सिद्धान्तसहित माक्र्सवादलाई प्राप्त गरेपछि पुँजीवादी राज्यव्यवस्थालाई समूल नष्ट गरी वैज्ञानिक समाज व्यवस्था स्थापना गर्ने नेतृत्वदायी शक्तिको रुपमा विश्व सर्वहारावर्गको उदय भयो ।
के हो नयाँ जनवादी क्रान्ति ?
नयाँ जनवादी क्रान्ति भनेको एउटा अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा मजदुर–किसानको एकतामा आधारित सर्वहारा वर्गको उच्चस्तरको संगठित अग्रदस्ताको रुपमा रहेको कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न गरिने सशस्त्र क्रान्ति हो । यो कृषि क्रान्तिकै रुपमा प्रयोग गरिने दीर्घकालीन वा अल्पकालिन सशस्त्र जनयुद्धको माध्यमवाट सम्पन्न गरिने नयाँ खाले पुँजीवादी क्रान्ति हो र यो समाज वैज्ञानिक समाजवादमा प्रवेश गर्ने संक्रमणकालिन अवस्था हो ।
कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले माक्र्सवादको प्रतिपादनसँगै मानव समाजको विकासको क्रमको व्यवस्था गर्ने क्रममा आदिम साम्यवादी व्यवस्था, दासयुगीन व्यवस्था, सामन्तवादी राज्यव्यवस्था, पँुजीवादी राज्यव्यवस्था र वैज्ञानिक समाजवादी राज्यव्यवस्था गरी समाज विकासको क्रमको निर्धारण गर्नु भयो र अन्तिममा मानवसमाज वर्गविहीन, राज्यविहीन साम्यवादमा पुग्ने परिकल्पना समेत गर्नु भयो र आजसम्मको इतिहास वर्गसंघर्षको इतिहासले भन्ने कुराको पुष्टि समेत गर्नु भयो ।
समाज विकास क्रमको व्याख्या गर्ने क्रममा माक्र्स–एंगेल्सले आदिम साम्यवादलाई छोडेर दासयुग, सामन्ती युग र पुँजीवादी युगलाई वर्गीय समाजको रुपमा रहेको औल्याउनुका साथै दास युगलाई पहिलो वर्गीय समाज व्यवस्था हो भन्ने वैज्ञानिक रुपले पुष्टि गर्नु भयो । अर्थात् दासयुग नै पहिलो वर्गीय समाज व्यवस्था हो भन्ने पुष्टि गरिदिनु भयो ।
दासयुगमा दासमालिक अर्थात् दास स्वामी र दासदासीका बीचको वर्गसंघर्षले दासयुगीन राज्यव्यवस्थालाई अन्त्य गरेर सामन्तवादी युगको जग खडा गरिने भएकोले दासदासीहरु दासयुगको चिहान खन्ने शक्तिको रुपमा जन्म भयो । सामन्तवादी युगमा सामन्त तथा जमिन्दारवर्ग र किसानहरु बीचको वर्गसंघर्षले सामन्तवादी राज्यव्यवस्थालाई अन्त्य गरेर पुँजीवादी व्यवस्थाको जग खडा गर्ने शक्तिका रुपमा किसान वर्गको जन्म भयो र किसानहरु नै सामन्तवादी राज्यव्यवस्थाको चिहान खन्ने शक्तिको रुपमा उदयमान हुन पुग्यो । अनि पुँजीवादी राज्यव्यवस्थालाई सदाका लागि माटोमा पुर्नका लागि अर्थात् पुँजीवादी राज्यव्यवस्थाको चिहान खन्नका लागि पुँजीवादकै गर्भवाट जन्मिएको औद्योगिक मजदुरवर्ग अर्थात् विश्व सर्वहारावर्गको खडा हुन पुग्यो ।
दासयुगमा दासदासीहरु प्रगतिशील वर्गको रुपमा जन्मियो र दासप्रथात्मक व्यवस्था विरोधी वर्गसंघर्षको नेतृत्वदायी शक्तिको रुपमा रह्यो । सामन्तवादी युगमा किसानहरु प्रगतिशील शक्तिको रुपमा उदयमान हुन पुग्यो । सामन्तवादविरोधी वर्गसंघर्षको नेतृत्व किसान वर्गले गर्न पुग्यो । त्यसै पुँजीवादी राज्यवस्था औद्योगिक सर्वहारावर्गबीचको वर्गसंघर्षको नेतृत्व सर्वहारा वर्गले मात्र गर्न सक्ने कुरा माक्र्सवादले सैद्धान्तिक रुपमा व्याख्या गरिदिएको छ भने विश्वमा आजसम्म सम्पन्न भएका समाजवादी जनक्रान्तिहरुले पनि त्यसको व्यवहारिक रुपमा पुर्नपुष्टि गरिदिएका छन् ।
जहासम्म नयाँ जनवादी क्रान्तिको प्रश्न हो यो ज्यादै गहन प्रश्न हो । किनकि कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणापत्रमार्फत माक्र्सवादको प्रतिपादन गर्ने क्रममा के कुराको व्याख्या गर्नु भएको छ भने संसारका सबै मुलुकहरुमा पुँजीवादी क्रान्ति सम्पन्न भएपछि मात्र समाजवादी क्रान्तिहरु सम्पन्न हुनेछन् । अझै अगाडि बढेर उहाले के भन्नु भएको छ भने पुँजीवादको विकास गरी सकेका बेलायत, जर्मनी र फ्रान्स जस्ता देशहरुमा सवैभन्दा पहिले समाजवादी क्रान्तिहरु सम्पन्न हुनेछन् भन्ने व्याख्या गर्नु भएको थियो । तर विश्वसर्वहारा वर्गका महान् नेता भि.आई. लेनिनको पालामा आएर वहाँले के भन्नु भयो भने पुँजीवादले साम्राज्यवादमा विकास गरी सकेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा पुँजीवादको विकास भइसकेर सर्वहारा क्रान्तिका निम्ति वस्तुगत र आत्मगत परिस्थिति परिपक्व बनिसकेको जुनसुकै मुलुकमा पनि अर्थात त्यस किसिमको एउटै देशमा सर्वहारा समाजवादी क्रान्ति सम्पन्न गर्न सकिने सैद्धान्तिक अवधारणा अगाडि सार्नु भयो । साम्राज्यवादमा प्रवेश गरिसकेको मुलुक सोभियत रुसमा आफ्नै नेतृत्वमा लेनिनले सन् १९१७ मा अक्टुवर समाजवादी क्रान्ति सम्पन्न गरेर जीवन व्यवहारबाटै पुष्टि गरिदिनु भयो ।
यसले के प्रश्न खडा गरिदियो भने सर्वहारा समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि कुनै पनि मुलुकमा पुँजीवादी क्रान्ति सम्पन्न भएकै हुनुपर्ने भयो । तर जुन मुलुकमा पुँजीवादी क्रान्ति भएकै छैन । जहाँ मुलुक अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ र पुरानो पुँजीवादी क्रान्तिको नेतृत्व गरेको मध्यमवर्गीय पुँजीपति वर्गले पुनः सामन्तवाद र साम्राज्यवादसित घाटी जोड्न पुगेर गद्धारी गरिसकेको स्थिति हुन्छ, त्यहाँ नयाँ ढंगले क्रान्ति गर्नुपर्ने स्थिति पैदा भयो । यस्तो बेला कमरेड माओले सन् १९३९ मा नयाँ जनवादी क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नु भयो । जुन देशमा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको छ, त्यस देशमा गरिने क्रान्ति नयाँ खाले पुँजीवादी जनवादी क्रान्ति हुनेछ र यस क्रान्तिको नेतृत्व मजदुर किसानवर्गको एकतामा आधारित सर्वहारावर्गको राजनीतिक पार्टी कम्युनिस्ट पार्टीले गर्नेछ भन्ने सिद्धान्त अगाडि सार्नु भयो । क्रान्तिको चरित्र निर्धारण गर्दै ग्रामीण इलाकाहरुमा आधारइलाकाहरुको निर्माण गर्ने, छापामार युद्धबाट चलायनमान युद्धहुँदै रणनीतिक प्रत्याक्रमणको चरणबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशा तय गरियो । यो माओको नयाँ सिद्धान्त हुनुको साथै विश्वका धेरै देशहरुमा लागू हुने सिद्धान्त थियो ।
नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि कमरेड माओले तीन जादुमयी हतियार भन्नु भएको छ । र रानीतिक सत्ता बन्दुकको नालबाट निस्कन्छ भनेर वैज्ञानिक सश्लेषण समेत गर्नुभएको छ । कमरेड माओले नयाँ जनवादी क्रान्तिका मित्र शक्ति र शत्रु शक्तिहरुको पनि प्रष्ट रुपले किटान गरिदिनु भएको छ । आफ्नै नेतृत्वमा सन् १९४९ मा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति पनि सम्पन्न गर्नु भयो । त्यसैले कमरेड माओ नयाँ जनवादी क्रान्तिका सिद्धान्तकार रणनीतिज्ञ समेत हुनुहुन्छ । साथै नयाँ जनवादी क्रान्तिका प्रयोगकर्ता समेत हुनुहुन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment