Sunday, January 27, 2013

माक्र्सवाद र माक्र्सवादी ज्ञान–सिद्धान्त

दर्शन
माक्र्सवाद र माक्र्सवादी ज्ञान–सिद्धान्त

दर्शन के–हो ?
जीवन र जगतको बारेमा बुझ्न, अध्ययन गर्न, विश्लेषण गर्न र मालेमावादी सिद्धान्तलाई जीवन दर्शनको रूपमा ग्रहण गर्नको निम्ति यो माक्र्सवादी ज्ञान सिद्धान्तले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरूलाई मदत गर्नेछ भन्ने हेतुले यो लेख लेख्ने प्रयत्न गरिएको छ । दर्शन भनेको कुनै बस्तुलाई हेर्ने, बुझने र व्याख्या गर्ने साधनको नाम हो । अर्को शब्दमा दर्शन भनेको मानिसको भित्री आँखा हो, जुन आँखाले जीवन र जगतका बारेमा हेर्नु, बुझ्न र व्याख्या गर्ने क्रममा मदत गर्दछ ।
    जीवन र जगतका सामान्य नियमहरूको अध्ययन गर्ने साधनको नाम नै दर्शन हो । ‘दर्शन’ शब्दको साधारण अर्थ ‘हेर्नु’ भन्ने हुन्छ । यसको ब्यापक अर्थ ‘हेर्न खोज्नु’ र ‘बुझ्नु’ हुनछ विश्वको उत्पती कसरी भयो ? पृथ्वीमा जीव–जन्तु र मानिसको उत्पति कसरी भयो ? जीवन र जगतलाई चलाउने चालक शक्ति वा नियम के हुन् ? भविष्यमा विश्वको स्थिति के हुनेछ ? आदि विषयहरूको खोज, व्याख्या र द«ष्टिकोणलाई दर्शन भनिन्छ । साथै मानव जीवनका उद्देश्य, कर्तव्य, मूल्य–मान्यता र आर्दश के हुन् ? के प्रकृति र समाजमा कुनै व्यवस्था र नियम संगति छ ? के मान्छेले प्रकृति र समाजको सत्पूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? के मानिस आफ्नो ज्ञान र व्यवहारिक क्रियाशिलताका आधारमा प्रकृतिलाई बदल्न सम्भव छ । यीर यस्तै अनेकौं प्रश्नहरूको सही जवाफ खोज्ने मान्छेको जिज्ञासावृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो । अतः दर्शन भनेको मानिसको विश्वद«ष्टिकोण ९ध्यचमि इगतयियप० हो । संसार के हो ? यसको सृष्टि कसरी भयो ? यसको विकास र अन्त्य कसरी हुन्छ ? भन्ने जस्ता सवालमा हरेक व्यक्तिको एउटा निश्चित द«ष्टिकोण हुन्छ, यो नै उसको दर्शन हो ।
दर्शनका प्रकारहरूः
    आज संसारका धेरै प्रकारका दर्शनहरू देखिएतापनि मूख्य तथा दर्शन दुई प्रकारका छन् । जस्तै एकथरि चेतनालाई आदि तत्व या मुल तत्व मानेर जगतलाई त्यसका स्वतः स्फुत्त र रचना मान्यलाई अध्यात्मवादी दर्शन र अर्को पदार्थलाई मुल तत्व या त्यसको विकसित रूपलाई चेतना मान्य दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ । दर्शनको छेत्रमा दुईओटा आधारभूत प्रश्नहरू छन् ? जसको जवाफको आधारमा दार्शनिकहरू पनि दुई सिविरमा बाँधिएका छन् ।
    पदार्थलाई आदितत्व र चेतनालाई उत्पति पदार्थबाट भएको मान्य कुरा दार्शनिकहरू भौतिकवादसित सम्बन्धीत छन् भने ‘आत्मा’ चेतनालाई आदितत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् ।
    विश्व अवोधगाम्य छ अर्थात अज्ञय छ । यसलाई जान्न र बुझ्न सकिदैन भन्ने दार्शनिकहरू अध्यात्मबादसित सम्बन्धीत छन् भने विश्व बोधगाम्य छ । अर्थात ज्ञय छन् । विश्वलाई जान्न र बुझ्न सकिन्छ र यसलाई फेर्न सकिन्छ भन्ने दार्शनिकहरू भौतिकवादी दर्शनको खेमा भित्र पर्दछन् अतः भौतिकवादी दार्शनिकहरूले जगत वोधगाम्य छ भन्ने पृष्टि गरेका छन् भने अध्यात्मवादी दार्शनिकहरूले जगतको वोधगाम्यतालाई अस्विकार गर्दछन् ।
    उन्नाइसौं शताब्दीको मध्यतिर आएर अर्थात सन् १८४८ मा कार्ल माक्र्स (१८१८–१८४८), र फ्रेडरिक उंगेल्स (१८२०–१८९५) ले कम्युनिस्ट घोषणापत्र मार्फत सर्वहारा श्रमजीवि वर्गको मुक्तिको सिद्धान्त माक्र्सवादको प्रतिपादन गर्नुभयो । माक्र्सवादी दर्शनको उत्पतीले विश्वमा ठूलो क्रान्ति ल्याईदियो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भीक अवस्थामा विकसीत भएको हो । द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंङ्घर्ष, इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । साथै प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्लमाक्र्स र फ्रेडरिक उैगेल्सले महान्् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपती वर्गको राज्यसत्तालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीवि वर्गको राज्य व्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउँदछ । माक्र्सवादका भौतिक विशेषताहरू द्वन्दात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूलयको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्ति निहित, सर्वहारा अधिनायकत्व आदि कुरा हुन् ।
दर्शनको उत्पती र विकासः
    दर्शनको उत्पती मानव ज्ञानको विकाससँग–सँगै भएको हो । हाल सम्मका वैज्ञानिक आविष्कार तथा प्राप्त तथ्यहरूका अनुहार आजभन्दा करिव १५ अर्ब वर्ष पहिले ब्रह्माण्डको स्वनिर्माण भएको थियो । त्यसै करिव ४ अर्व ६० करोड वर्ष पहिले हाम्रो पृथ्वी सहित सार्यमण्डल पनि स्वनिर्माण भएको थियो । आजभन्दा करिव ३ अर्व ८० करोड वर्ष पहिले जीवनको अस्तित्व देखा प¥यो । त्यसै आजभन्दा करिव २० देखि ४० लाख वर्ष पहिले अफ्रिका र दक्षिणपूर्वि उसियाका विभिन्न क्षेत्रमा अष्ट्रलोपिथेकस नाम दिइएको मानवीय गुणले युक्त आदि मानव देखा प¥यो । र आजभन्दा करिव ४० हजार वर्ष पहिले मात्र आधुनिक मानव वा प्रज्ञा मानवको विकास भएको बतायएको छ ।
    जब मानिस जंगली अवस्थाबाट सामुदायीक जीवनको तहमा आयपुग्यो र उसले सामुदायीक चिन्तन पनि गर्न थाल्यो र मानव समाज वर्गमा विभाजीत हुन पुग्यो, त्यसै बखत दर्शनको पनि उत्पति भएको हो । ईसापूर्व प्रथम शताब्दीमा दक्षिण एसियामा उपनिषदिक चिन्तन तथा संख्या, लोकापत, जैन, बोद्ध आदि दर्शन देखा परे, चीनमा कन्फयुसियसवाद र ताओवादी दर्शन देखा प¥यो भने प्राचिन युनानको आयोनिया दिपमा चेल्स, अनोक्सिमेण्डर र अनेक्सिमेनसका प्राकृतिक भौतिकवादी दार्शनिक चिन्तनहरू देखा परे । थेल्सले पानीलाई, अनेक्सीमेडरले कुहिरोलाई र अनेक्सिमेनसले वायुलाई सृष्टिको आधारमा मान्दथे । ईसापूर्व प्रथम शताब्दीको उत्तर्राद्धमा युनानका दार्शनिकहरू पाइथागोरस, हेराक्लिट्स, डेमोक्रेटस्, एपीकुरस, प्लेटो, अरिस्टोटल आदिले दर्शनशास्त्रको शास्त्रीय रूपरेखाको विकास गरेका थिए । दर्शनशास्त्रको विकासको क्षेत्रमा प्राचिन युनानी दार्शनिक थेल्सलाई पहिलो दार्शनिक मानिन्छ ।
माक्र्सवादको उत्पति र विकासः
    जब मानव समाज अस्तित्व आयो, त्यसपछि मानब समाजका सर्वोतम चिन्तकहरूले ‘मानिसद्वारा मानिसको शोषण र उत्पीडनबाट मुक्त हुने आफ्नो उत्पादनको मालिक आफै हुने, खुशी र समृद्धशाली समाजको निर्माण गर्ने’ परिकलपना गर्दै आएका थिए । यस विषयमा तभाभरवाले बिचारकहरूले न्याय र समानताको आधारमा समाजको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा अनेकौं थरिका परिकल्पनाहरू सहितका सिद्धान्तहरू प्स्तुत गर्दै आएका थिए । तर त्यस प्रकारका सबै विचार र सिद्धान्त समाज विज्ञानका नियम र वास्तविक परिस्थितिमा आधारित नभई कोराकल्पनामा आधारित थिए । ती विचारहरूले वास्तवीक रूपमा सामाजीक शोषण र उत्पीडनबाट कसरी मुक्त हुने र न्याय र समानतामा आधारित समाजको निर्माण गर्ने भन्ने सम्बन्धमा सटिक र वैज्ञानिक जवाफ दिन सकेका थिएनन् ।
    मानव जातीको विकास जब पुँजीवादमा भयो तब सर्वहारावर्गको सङ्घर्ष विकासको प्रमुख बाधक बन्यो । ऐतिहासिक आवश्यकताको रूपमा वर्गीय शोषण र उत्पीडनमा मुक्त हुन उपाय र न्यापूर्ण समाजमा संक्रमण हुने नियम, तरिका र तिनका रूपहरूका बारेमा घोषणा गर्दै आजभन्दा १६४ वर्ष पहिले कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले सन् १८४८ फ्रेबुअरी १२ का दिन विश्वविख्यात कम्युनिस्ट घोषणापत्रले अभिव्यक्त गरेको विचार र सिद्धान्तले विश्वभरिका मजदूर तथा सर्वहारावर्गको हितलाई वैज्ञानिक आधारमा पुष्टि गर्ने काम ग¥यो । माक्र्स–एंगेल्सद्वारा जारि गरिएको यस घोषणापत्रको आधारमा संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरूले आ–आफ्नो मुलुकको सामाजिक वस्तुस्थितिको विश्लेषण गर्दै त्यस सिद्धान्तलाई लागु गर्ने प्रयत्न गर्दै आएका छन् । यो क्रान्तिको विज्ञान सम्बन्धी कम्युनिस्ट घोषणापत्रको निर्माण गर्नुभन्दा पहिले–पहिले उनिहरूले आफुभन्दा पूर्ववर्ती दार्शनिक, आर्थिक, सामाजिक ज्ञानको पसस्त अध्ययन गरेर त्यसैको निस्कर्षको रूपमा माक्र्सवादको प्रतिपादन भयो । यसमा शास्त्रीय दर्शन, अंग्रेजी अर्थशास्त्र र फ्रान्सेली समाजवादको उच्च विकास र माक्र्स र एंगेल्समा रूपमा ऐतिहासिक प्रतिभाको समन्वयले माक्र्सवादको प्रादुर्भावमा पृष्ठिभूमिको काम ग¥यो । माथि पनि भनिएको छ । माक्र्सवादको जन्म पँुजीवादको विकासको प्रारम्भीक अवस्थामा भएको हो । र माक्र्सले जर्मन शास्त्रीय दर्शन, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सीसी समाजवादलाई संस्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो ।
    माक्र्सवाद एउटा वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद एउटा समाज विज्ञान पनि हो । माक्र्सवादी दर्शन द्वन्दात्मक भौतिकवादी दर्शन हो । माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित छ । माक्र्सवादी दर्शनका दुई भाग छन् – द्वन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको मानव चिन्तनको उज्जवल तथा प्गतिशिल परम्परालाई आत्मसाथ गरेर भएको हो । यस विषयमा लेनिनले भन्नुभएको छ । – ‘माक्र्सवादको जन्म विश्व सभ्यताको अनजान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन आदितकालमा सर्वाधिक प्रगतिशिल मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।’
    वर्गीय समाजमा प्त्येक दर्शन वर्गदर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु हुन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्ग दर्शन हो तर यो अन्य दर्शन झैं अल्पसंख्यकहरूको, शोषणहरूको दर्शन नभएर बहुसंख्यक सर्वहारा श्रमजीविहरूको दर्शन हो । यसलाई स्टालिनले माक्र्सवादी लेनिनवादी पार्टीको विश्वदृष्टिकोणका रूपमा परिभाषित गर्नुभएको छ । एक पुरै वैज्ञानिक दर्शनका रूपमा माक्र्सवादी दर्शनले पूरानो पुँजीवादी विश्वको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनको लागि अर्थात विश्वको आमुल रूपान्तरणको लागि जब्बर सैद्धानितक जग प्रदान गरेको छ । अर्थात विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरेको सर्वहारावर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक, न्यायोचितताको आधार र निद्रेशन प्रदान गरेको छ । त्यसमा विश्व सर्वहारावर्गको संसारलाई विकसीत बुझ्ने र त्यसलाई बदल्ने एक अथुक बौद्धिकअस्त्र भेटाएको छ । यस विषयमा लेनिनले यसरी दर्शाउनु भएको छ । – ‘माक्र्सवादको दर्शन एउटा यस्तो परिपूर्ण दाशृनिक भौतिकवाद हो जसले मानव जातिलाई र खास रूपले मजदूरवर्गलाई ज्ञानका शक्तिसाली औजार प्रदान गरेको छ’ ।
    जसले जीवन र जगतलाई फेर्न चाहन्छ, विद्यमान यर्थाथतालाई फेरेर नयाँ यथार्थताको निर्माण गर्न चाहन्छ त्यसले संसारलाई बुझ्नु पदृछ । त्यसलाई फेर्ने तरिका जान्नुपर्दछ । यह िसामथ्र्य माक्र्सवादी दर्शनले मात्र उसलाई दिन्छ । मानब समाजमा सर्वहारावर्ग सबैभन्दा ठूलो शक्तिसाली र सचेत वर्ग हो । यस वर्गको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई स्वयं कार्ल माक्र्सले यसरी व्याख्या गर्नुभएको छ । – ‘जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक ‘हतियार भेटाउँछ’ त्यसै गरि माक्र्सवादको – दार्शनिक पक्षको महत्वलाई माओतसेतुङ्ले यसरी दर्शाउनु भएको छ । – ‘माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दशृन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्गसङ्घर्षको सिद्धान्त तर जग चाँही माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिदैन भने हाम्रो एउटा कुनै साझा भाषा वा साझा तरिका हुने छैन हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुराको तर्क मात्र गरिरहेका हुने छौं । द्वन्दात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुर्पै दुःख कष्ठ बाट जोगिने छ र धेरै गल्तिहरू हट्ने छन् ।
    पुरानो संसारलाई विनष्ठ पारि त्यसको लासमा नयाँ वर्गबिहिन संसारको रचना गर्न सर्वहारा श्रमजीवि वर्गको लागि माक्र्सवाद अन्चुक, अमोध, अजय अस्त्र बन्न पुग्यो । क्रान्तिको विज्ञानको रूपमा माक्र्सवाद विश्वक्रान्तिकारी आन्दोलनको व्यवहार सँगै निरन्तर विकसित भइरहेको छ ।
    माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्न पुगेपछि सर्वहारावर्गले आफ्नो मुक्तिको सिद्धान्तको प्रतिपादन र विकासको कामलाई तीन ऐतिहासिक चरणमा सम्पन्न गरेको छ – जस्तै माक्र्सवादी चरण, लेनिनवादी चरण र माओवादी चरण । हामीले विशेष रूपले बुझ्ने कुरा के हो भने संसारलाई बदल्ने ऐतिहासिक जिम्मेवारी बहन गरिरहेको सर्वहारावर्गको सिद्धान्तको जन्म र विकासका दृष्टिले यी तिनवछै चरणको विशेष ऐतिहासिक महत्व छ । माक्र्सले जर्मन शास्त्रीय दर्शन, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सीसी समाजवादलाई संस्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो । माक्र्सवाद विश्वक्रान्तिको इतिहासमा एक युगान्तकारी परिघटना हो । साथै यसको चरणबद्ध विकासको क्रममा लेनिनवादी तथा माओवादी चरणमा पनि यसप्रकारको सिद्धान्तका तिनवटै संघटक अंगको विकास गर्ने काम भएको छ ।
    माक्र्सवादको प्रतिपादन र त्यसको विकास र रक्षा गरीरहेको बेला माक्र्स र एंगेल्सले सर्वहारा वर्गको नेतृतवमा समाजवादी क्रान्ति एउटा देशमा मात्र नभएर एड्डल्याण्ड, फ्रान्स, जर्मनी जस्ता औधोगिक विकास भएका पुँजीवादी देशहरूमा एकैसाथ हुने कुरा बताउनुभएको थियो । तर लेनिनले पुँजीवादको चरम अवस्था साम्राज्यवाद भएको र साम्राज्यवादको उदयको स्थितिमाथि ध्यान दिंदै त्यसको अनिवार्य परिणाम सुद्ध हुने र साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला बन्न जाने स्थितिको विश्लेषण गर्दै एउटा देशमा पनि समाजवादको जीत हुन सक्छ भन्ने मान्यता प्रस्तुत गर्नुभयो त्यसै अनुरूप सशस्त्र विद्रोह मार्फत सन् १९१७ मा रूसमा महान्् अक्टुवर समाजवादी क्रान्ति पनि सम्पन्न भयो । यसरी लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद बन्न पुग्यो । यसरी लेनिनवाद माक्र्सवादको प्रयोग र विकास मात्र होइन, सिद्धान्त र व्यवहारबीच द्वन्दात्मक एकरूपता कायम गर्न गरि विश्व क्रान्तिको इतिहासमा नयाँ अध्याय थप्न पनि सफल भएको छ । किन कि माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो र पुँजीवादले साम्राज्यबादमा प्रवेश गर्नु, उत्पादक शक्ति सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको हो ।
    त्यसैगरि चीनमा विशिष्ट परिस्थितिमा माक्र्सवाद–लेनिनवादको सृजनात्मक रूपमा प्रयोग गर्ने क्रममा माओको नेतृतवमा अर्धसामन्ती तथा अर्धऔपनेवेशिक अवस्थामा रहेको चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । र समाजवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाइयो । अर्धसामन्ती तथा अर्धऔपनेवेशिक देशहरूमा सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र समाजवादी क्रान्तिलाई सर्वहारा वर्गको अधिनायकत्व अन्तरगत निरन्तरता दिंदै महान्् सर्वहारा साास्कृतिक क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक प्रक्रियामा चीनमा मात्र होइन विश्व क्रान्तिकै लागि समेत माओको विशिष्ट योगदान रहेको छ । किनकि माक्र्सवाद–लेनिनवादको गुणात्मक विकास तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवाद–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूमा क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने रूस, पूर्वी युरोपका कयौं देशहरूमा पुँजीवादको पुनः स्थापनाका कारणहरूको खोज, अनुसन्धान गरि त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाई लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरि त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तस्रो नयाँ र गुणात्मक उचाईमा पु¥याउने काम भएको हो ।

सन्दर्भ माक्र्सवादी ज्ञान सिद्धान्तकोः
    ज्ञानसम्बन्धी सिद्धान्त द्वन्द्वात्मक भौतिकवादको एक महत्वपूर्ण तत्व हो । अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता भ्लादिमिर इल्वीच लेनिनले माक्र्सवादी ज्ञान– सिद्धान्तका बारेमा भन्नुभएको छ– ‘द्वन्द्ववाद माक्र्सवादको ज्ञानसम्बन्धी सिद्धान्त हो ।’– लेनिन, संकलित रचनाहरू, भाग ३८, पृष्ठ ३६२ ।
    द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त भौतिक संसार र चेतनाबीचको सम्बन्धको आधारभूत सवालको अर्को महत्वपूर्ण पक्षसित सम्बन्धित छ । आफू रहेको संसारलाई हामी जान्न सक्छौं कि सक्दैनौं ? के त्यो यथार्थताको ठीक प्रतिबिम्ब हुन सक्छ ? के चिन्तन र सत्ताको मेल हुनसक्छ ? यी प्रश्नहरूको जवाफ पनि भौतिकवाद र आदर्शवादले एकदमै भिन्न–भिन्न ढंगले दिएका छन् । यस विषयमा दार्शनिकहरू दुई खेमामा विभाजित भएका छन् । यो संसार ज्ञेय छ (बुभन र जान्न सकिन्छ) भन्ने दार्शनिकहरू भौतिकवादी खेमामा खडा भएका छन् भने यो संसार अज्ञेय छ (बुझ्न र जान्न सकिदैन) भन्ने दार्शनिकहरू आदर्शवादी (अध्यात्मवादी) खेमामा खडा हुन पुगेका छन् ।
    जीवन र जगतको सामान्य नियमहरूको अध्ययन दर्शन हो । दर्शनको खास अर्थ ‘हेर्न खोज्नु र बुझ्नु’ हुन्छ । विश्व ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीवजन्तु र मानिसको उत्पत्ति कसरी भयो ? जगत र जीवनलाई चलाउने शक्ति या नियम के हुन् ? पदार्थको स्थान पहिलो कि चेतनाको स्थान पहिलो ? आदि विषयहरूको खोज, व्याख्या र दृष्टिकोणलाई दर्शन भनिन्छ । आज विश्वमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतया दर्शन दुई प्रकारका छन् । एकथरि चेतनालाई आदि दत्व वा मूल तत्व मानेर जगतलाई त्यसको स्वतःस्फूर्त रचना मान्ने अध्यात्मवादी दर्शन र अर्को पदार्थलाई मूल तत्व र त्यसको विकसितरूपलाई चेतना मान्ने भौतिकवादी दर्शन ।
    पदार्थलाई आदि तत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरू भौतिकवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थ शास्वत छ अर्थात् कसैले पनि कहिल्यै पनि पदार्थको सृष्टि गरेको होइन र वस्तुगत जगतमा कुनै किसिमको अलौकिक वा पारलौकिक शक्तिको अस्तित्व छैन । चेतना चाहिँ पदार्थको ऐतिहासिक विकासको उपज हो भन्ने अवधारणा भौतिकवादी दार्शनिकहरूको रहेको छ भने ‘आत्मा’ चेतनालाई आदि तत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थ भन्दा पहिले नै चेतनाको अस्तित्व थियो र त्यसैले पदार्थलाई जन्माएको हो । अर्थात् चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो भन्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् र उनीहरूले जगतको बोधगम्यतालाई अस्वीकार गर्छन् ।
    द्वन्द्वात्मक भौतिकवादी दार्शनिक एवम् वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्सको उदय हुनु भन्दा पहिले नै जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने कार्य प्रशस्त मात्रामा भइसकेको थियो तर जीवन र जगतलाई सञ्चालन गर्ने र त्यसलाई बदल्ने सन्दर्भमा अध्यात्मवादी धारणाले काम गर्दै आएको थियो । दर्शनका क्षेत्रमा भएका सबभन्दा पछिल्लो विकासका क्रममा शास्त्रीय जर्मन दर्शनका रूपमा हेगेलको द्वन्द्ववाद र लुडाविक फायरवाखको भौतिकवादको रूपमा देखा परेको थियो । तत्कालीन समयमा देखापरेका यी दुई दर्शनका मूल्यवान तथा सुसंगत विचारहरूलाई आत्मसात गरेर कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सेले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गरे । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन माक्र्सवादी विश्वदृष्टिकोण हो । यसले प्रकृति, मानव समाज र विचारधारात्मक विकासका अधिकतम सामान्य नियमहरूको अध्ययन र वैज्ञानिक व्याख्या गर्दछ । माक्र्सवादी दर्शन त्यस्तो दर्शन हो, जसले विश्वलाई रूपान्तरण गर्नका लागि त्यसलाई बुझ्ने प्रयत्न गर्दछ । यस विषयमा कार्लमाक्र्सले यसरी व्याख्या गर्नुभएको छ–‘दार्शनिकहरूले संसारको बेग्लाबेग्लै व्याख्या मात्रै गरेका छन् तर गाँठी कुरा त त्यसलाई बदल्नु पो हो त ।’– कार्लमाक्र्स, फायरवाखसम्बन्धी प्रस्थापनाहरू ।
    प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारको संयुक्त योगलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले सामन्त वर्ग र पूँजीपति वर्गको राज्यव्यवस्थालाई निषेध गरेर सर्वहारा श्रमजीवी वर्गको राज्यव्यवस्था स्थापना गर्ने सही तथा क्रान्तिकारी बाटो देखाउँदछ । विश्व ब्रह्माण्डको सृष्टि र सञ्चालन ईश्वरले गर्दछ भन्ने सृष्टिवादी अध्यात्मवादको पूर्णरूपले खण्डन गरी त्यसको ठाउँमा प्रकृति र समाजको द्वन्द्वात्मक विकासको सिद्धान्त अघि सारेको छ । यसका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्ति आदि कुरा लेखेको छन् ।
                    ज्ञान– सिद्धान्तको क्षेत्र
    वस्तुगत जगतका नियमको सक्रिय तथा उद्देश्यमूलक मानसिक प्रतिबिम्बलाई ज्ञान भनिन्छ । भीआई लेनिनले ‘ज्ञान भनेको वस्तुसँग चिन्तनको शास्वत र अन्त्यहीन समानुपातिकरण हो’ भन्नुभएको छ । ज्ञानको आधार भनेको व्यवहार हो । व्यवहार भनेको विश्वलाई रूपान्तरण गर्ने मानिसहरूको भौतिक क्रियाकलाप हो । द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तअनुसार ज्ञानको स्रोत मानिसको चारैतिर जगतमा उसको व्यवहार हो । ज्ञान प्राप्ति भनेको मानिसको मजगमा वस्तुगत जगत र त्यसका नियमहरूको क्रियाशील तथा मानसिक क्रियाकलापहरूको प्रतिबिम्ब हो । बाह्य जगतले मानिसमाथि असर पार्दछ र मानिस त्यहीअनुरूप अनुभूति, अवधारणा र ज्ञान उत्पन्न गर्दछ ।
    वस्तुगत जगतमा रहेका वस्तुहरू तथा घटनाहरूलाई मानवीय ज्ञानको एकमात्र स्रोतको मान्यता दिनु नै माक्र्सवादी तथा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको आधारभूत प्रस्थानविन्दु हो । कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले ज्ञान प्राप्तिको वैज्ञानिक तथा व्यवहारिक धरातलमा उभिएर पहिलेका दार्शनिकहरूको सीमिततालाई हटाएर गुणात्मक दृष्टिकोणले नै नयाँ द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको प्रतिपादन गर्नुभयो । व्यवहारिक अनुभव अर्थात् मानिसहरूको भौतिक उत्पादनसम्बन्धी क्रियाकलापलाई ज्ञान प्राप्तिको आधार मान्नु नै माक्र्सवादी ज्ञान सिद्धान्तको मूलभूत विशेषता हो । माक्र्सवादी दर्शनमा अनुभव भनेको ज्ञान प्राप्तिको प्रक्रियाको आधार र प्रस्थानविन्दु मात्र होइन, यो ज्ञानको सत्यता र सहीपनाको कसौटी हो भनिएको छ । यस विषयमा भी.आई. लेनिनले भन्नुभएको छ– ‘जीवन र अनुभवको दृष्टिकोण नै ज्ञान सिद्धान्तको पहिलो मुख्य दृष्टिकोण हुनुपर्छ र यसले अनिवार्यतः भौतिकवादमा नै ल्याउनेछ ।’
व्यवहार नै ज्ञान प्राप्तिको पहिलो आधार
    द्वन्द्वात्मक भौतिकवादी ज्ञान–सिद्धान्तअनुसार प्रकृति र समाजलाई बदल्न मानिसले गर्ने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ । श्रम र भौतिक उत्पादन नै त्यसको आधार हो । राजनीतिक सङ्घर्ष सञ्चालन गर्नु, वर्गसङ्घर्षको उठान गर्नु, राष्ट्रिय मुक्ति आन्दोलन तथा वैज्ञानिक अनुसन्धान सबै प्रयोग गर्नुजस्ता सक्रिय व्यवहारद्वारा नै मानिसले प्रकृतिमा भएका ठोस भौतिक वस्तुहरूको रूपान्तरण मात्र नगरेर नयाँ वस्तुहरूको निर्माण समेत गर्दछ । त्यसको निम्ति मानिस प्रत्यक्षरूपमा श्रममा संलग्न हुनुपर्छ । किनभने व्यवहार नै ज्ञानको प्रस्थान विन्दु र आधार हो । सर्वप्रथम स्वयं ज्ञान नै व्यवहारको आधारमा र मुख्यतया भौतिक उत्पादनको प्रभावले गर्दा उत्पन्न भएको थियो भन्ने कुरा द्वन्द्वात्मक भौतिकवादी (माक्र्सवादी ज्ञान) ज्ञान सिद्धान्तले प्रमाणित गरिदिएको छ । यस विषयमा कमरेड माओत्सेतुङले यसरी व्याख्या गर्नुभएको छ–‘व्यवहारद्वारा सत्य पत्ता लगाऊ र फेरि व्यवहारद्वारा सत्यको पारख गर र त्यसलाई विकसित गर । इन्द्रियग्राह्य ज्ञानबाट शुरु गर र सक्रियतापूर्वक त्यसलाई बुद्धिसंगत ज्ञानमा विकसित गर, अनि बुद्धिसंगत ज्ञानबाट शुरु गर र मनोगत तथा वस्तुगत दुबै संसारलाई फेर्नका लागि सक्रियरूपले क्रान्तिकारी व्यवहारको पथप्रदर्शन गर । व्यवहार ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान । यो क्रम अनन्तरूपले दोहोरिन्छ र प्रत्येक आवृत्तिका साथसाथै व्यवहार र ज्ञानको सारतत्व माथिल्लोस्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धानत हो र यो नै बोध र कार्यको एकतासम्बन्धी द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो ।’ माओत्सेतुङ, संकलित रचना भाग १ पृष्ठ २४६
    मानिस आफ्नो अस्तित्वको पहिलो घडीदेखि नै श्रम गर्न बाध्य भयो । मानिस आफ्नो जीवनयापनका साधनहरू जुटाउन बाध्य भयो । श्रमको दौरानमा मानिसले प्रकृतिका जटिलतम शक्तिहरूसित लड्नुप¥यो र तिनलाई बदल्दै आफ्नो हितानुकूल काममा प्रयोग गर्दै विस्तार विस्तार तिनको ज्ञान पनि हासिल गर्दै गयो । उत्पादनको भावी विकासको निम्ति नयाँ नयाँ ज्ञानको आवश्यकता पर्दै गयो । त्यसको पूर्तिको लागि विविध निर्माणको काममा जुट्दै गयो र विज्ञान र प्रविधिको समेत विकास गर्न सक्षम भयो । वैज्ञानिक ज्ञानले व्यवहारबाट नै यन्त्र, उपकरण र प्रविधिहरूको निर्माण गर्न सफल भयो र व्यवहारले ज्ञान प्राप्तिमा योगदान पु¥याउँदै आएको छ । अतः व्यवहार ज्ञान प्राप्तिको आधार मात्र नभएर मानिसको उद्देश्य प्राप्त गर्ने वैज्ञानिक हतियारको रूपमा प्रमाणित हुनपुग्यो ।
    ज्ञान प्राप्ति मानिसहरूको श्रमको एउटा रूप हो । यो मानिसको सैद्धान्तिक क्रियाकलाप पनि हो । सिद्धान्तले स्वतः वास्तविकतालाई सक्दैन, त्यसमा सिद्धान्त र व्यवहारका बीचमा एकता कायम भएको हुन्छ । यही नै सिद्धान्त र व्यवहारबीचको अन्तर हो । अव्यवहारिक सिद्धान्त निरर्थक हुन्छ । भनिन्छ, सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ र सिद्धान्तले व्यवहारलाई बाटो देखाउँछ । आफ्नो सुप्रसिद्ध लेख व्यवहारबारेमा कमरेड माओत्सेतुङले सिद्धान्त र व्यवहारको सम्बन्धबारे निचोडको रूपमा भन्नुभएको छ– ‘हाम्रो निष्कर्ष हो, मनोगत र वस्तुगतको सिद्धान्त र व्यवहारको ज्ञान र ठोस कार्यको ऐतिहासिक एकता ।’ माओत्सेतुङ चुनिएका रचनाहरू, भाग १ पृष्ठ ३०८ ।
प्रत्यक्ष अनुभवबाट भावनात्मक चिन्तन ः
    द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तअनुसार ज्ञान प्राप्ति स्थिर हुँदैन । यो निरन्तर गतिशील र विकासशील हुन्छ । प्रत्यक्ष अनुभवबाट भावनात्मक चिन्तनतिरको गतिमा ज्ञान प्राप्तिको विकास प्रक्रियाको अभिव्यक्ति भएको पाइन्छ । यस विषयमा लेनिनले भन्नुभएको छ– ‘प्रत्यक्षबोधबाट भावनात्मक चिन्तनतिर, अनि त्यसबाट व्यवहारतिरको बाटो नै सत्यको ज्ञान अर्थात् वस्तुगत यथार्थताको ज्ञानको मार्ग हो ।’ भी.आई.लेनिन, संकलित रचना संग्रह, खण्ड २९ पृष्ठ १५२–१५३ ।
    ज्ञानेन्द्रियहरूको सहायताबाट बाह्य जगतका वस्तुहरूको परिचयद्वारा नै ज्ञान प्राप्तिको प्रक्रिया शुरु हुन्छ । दैनिक अनुभवबाट नै मानिसलाई यस कुरामा विश्वास हुन्छ । प्रत्यक्ष अनुभव नै ज्ञान प्राप्तिको बाटोमा चालिने पहिलो पाइला हो । ज्ञान प्राप्तिको बाटोमा अनुभूतिहरूको ज्यादै ठूलो महत्व हुन्छ किनभने जगतका वस्तुहरूबाट ठीक ठीक जानकारी राख्न तिनले मानिसलाई आवश्यक सामग्रीहरू दिन्छन् । ज्ञान प्राप्तिको सम्पूर्ण प्रक्रिया तथ्यहरूमा आधारित हुन्छ । माक्र्सवादी दार्शनिकहरूले ज्ञान प्राप्तिको जटिलतम प्रक्रियामा वस्तुगत जगतबाट त्यसलाइृ अलग्याउन पर्दा हाल्दै आएको अध्यात्मवादको ज्ञान शास्त्रीय मूल प्रवृत्तिहरूलाई चकनाचुर पारिदिएका छन् । लेनिनले अध्यात्मवादलाई ‘फलहीन फूल’ को संज्ञा दिनुभएको छ ।
सत्यको बारेमा माक्र्सवादी दृष्टिकोण
    द्वन्द्वात्मक भौतिकवादमा ‘सत्य’ भन्ने शब्दले वस्तुसम्बन्धी त्यो ज्ञान बुझाउँछ, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यस वस्तुको अनुरूप हुन्छ । द्वन्द्वात्मक भौतिकवादले मानव जातिको युगौंको व्यवहार तथा विज्ञानका उपलब्धिहरूको आधारमा सत्य वस्तुरपरक हुन्छ भन्ने पुष्टि गरेको छ । जस्तै पृथ्वी भकुण्डोजस्तो गोलो छ भन्ने निष्कर्षलाई नै लिन सकिन्छ । यो निष्कर्ष सत्य छ किनभने त्यो वास्तविकताको अनुरूप छ । यो पृथ्वीको स्वरूप मानिसले सोचेभन्दा धेरै बाहिर छ । किनभने मानिसभन्दा धेरै पहिले नै पृथ्वीको अस्तित्व थियो । माक्र्सवादी ज्ञान सिद्धान्तले ‘पदार्थ प्रथमोत्पन्न हो र चेतना द्वितीयोत्पन्न हो’, ‘चेतना मस्तिष्कको स्वभाव हो’ भन्ने अवधारणा नै सत्यको बारेमा माक्र्सवादी दृष्टिकोण हो ।
व्यवहार नै सत्यको कसौटी
    माक्र्सवादी दार्शनिकहरूले व्यवहारलाई नै सत्यको कसौटी हो भन्ने प्रमाण प्रस्तुत गरेका छन् । द्वन्द्वात्मक भौतिकवादमा सत्य भन्नाले वस्तुसम्बन्धी त्यो ज्ञानलाई बुझिन्छ, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यसको अनुरूप हुन्छ । जस्तै– ‘पिण्ड अणुहरूबाट बनेको हुन्छ’,‘मानिस भन्दा पहिले नै पृथ्वीको अस्तित्व थियो’, ‘जनता नै इतिहासका वास्तविक निर्माता हुन्’ इत्यादि विज्ञानले सिद्ध गरेका निष्कर्षहरू सत्य छन् भन्ने निचोडमा माक्र्सवादी दार्शनिकहरू पुगेका छन् ।
    अध्यात्मवादको विपरीत भौतिकवादले मानव जातिको युगौंदेखिको व्यवहार तथा विज्ञानका उपलब्धिहरूको आधारमा सत्य वस्तुपरक हुन्छ भन्ने दृष्टिकोण गरेको पाइन्छ । सत्यले वस्तुगतरूपमा अस्तित्वमा रहेको जगतलाई नै प्रतिबिम्बित गर्छ । त्यसै कारणले सत्यको सार पनि मानव चेतनामा निर्भर रहँदैन । यस विषयमा भीआई लेनिनले भन्नुभएको छ– ‘सत्य भनेको हाम्रो ज्ञानको यस्तो सार हो, जुन मानिसमा भर पर्दैन, मानव जातिमा भर पर्दैन । सत्यको सार तिनै वस्तुगत प्रक्रियाहरूको निरुपित गर्छन् । जसलाई त्यसले प्रतिबिम्बत गरेको हुन्छ’ लेनिन, संकलित रचना संग्रह, खण्ड १८, पृष्ठ १३७ ।
    उदाहरणको निम्ति ‘पृथ्वी भकुण्डो जस्तै गोलो छ’ भन्ने निष्कर्षलाई लिन सकिन्छ । यो निष्कर्ष सत्य छ । किनभने त्यो वास्तविकताको अनुरूप छ । पृथ्वीको रूप मानिसको चेतनामा भर पर्दैन र मानिस भन्दा धेरै पहिलेदेखि नै पृथ्वीको अस्तित्व थियो ।
    माक्र्सवादी दार्शनिकहरूले के पुष्टि गर्दै आएका छन् भने सत्यको पत्ता लगाउनु भनेको मानिसबाट स्वतन्त्र रहेको त्यो वस्तुगत आधार पत्ता लगाउनु हो । जसले सत्यको सही निष्कर्ष निकाल्छ र गलतबाट वास्तविक ज्ञानलाई छुट्याउने प्रशस्त सम्भावनाका ढोकाहरू खोलिदिन्छ । व्यवहार नै सत्यको एकमात्र यस्तो कसौटी हो, जुन कुनै पनि विचार वा वैज्ञानिक सिद्धान्तको सत्यताबारे जति पनि विवाद गर्न सकिन्छ तर व्यवहारले अर्थात् भौतिक उत्पादन, राजनीतिक सङ्घर्ष, वैज्ञानिक प्रयषेगले मात्र यस विवादको अन्तिम फैसला गर्न सक्छ । यस विषयमा कार्लमाक्र्सले लेख्नुभएको छ–‘मानव चिन्तनले वस्तुगत सत्यताको अभिव्यक्ति गर्दछ कि गर्दैन भन्ने प्रश्न सैद्धान्तिक प्रश्न होइन, यो त व्यवहारिक प्रश्न हो । व्यवहार नै मानिसले सत्यता अर्थात् आफ्नो चिन्तनको इहलौकिकता, व्यवहारिकता र क्षमता प्रमाणित गर्नुपर्छ ।’ कार्लमाक्र्स र फ्रेडरिक एंगेल्स, संकलित रचना संग्रह खण्ड ३, पृष्ठ १ ।
    तर विभिन्न किसिमका अध्यात्मवादीहरू द्वन्द्वात्मक भौतिकवादको यस महत्वपूर्ण निष्कर्षसित सहमत छैनन्, उनीहरू ज्ञान प्राप्तिमा व्यवहारको महत्वलाई अस्वीकार गर्दछन् र स्वयं मनुष्य तथा उसको चिन्तन नै सत्यको कसी हो भन्ने ठान्दछन् ।
    व्यवहारको जग भनेको मानवीय श्रमशीलता र भौतिक उत्पादन हो । ज्ञानको समष्टिगत व्यवहारबाट प्रमाणित पक्षलाई सिद्धान्त भनिन्छ । सिद्धान्त स्वयंले समाजलाई बदल्न सक्दैन । त्यस सिद्धा्रन्तले व्यवहारलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्दछ । ज्ञान र सिद्धान्त सही छ कि छैन भनेर जाँच्ने एकमात्र कसौटी व्यवहार हो । ज्ञान र व्यवहारको अन्योन्याश्रित सम्बन्ध रहेको छ ।
वैज्ञानिक ज्ञानको विधि र पद्धति
    द्वन्द्वात्मक भौतिकवादी दर्शनले मानिसले प्राप्त गर्दै आएको ज्ञानको बारेमा वैज्ञानिक रूपमा विविध विधि र पद्धतिका माध्यमबाट सटिक विश्लेषण गरेको छ । ज्ञान पदार्थको सबभन्दा सुसंगठित र सुन्दर उपज हो । वैज्ञानिक ज्ञान प्राप्तिमा उपकरणहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । उपकरणविना विज्ञान खासगरी आधुनिक विज्ञानको कल्पनासम्म गर्न गाह्रो हुन्छ । जस्तो आधुनिक इलेक्ट्रोनिक सूक्ष्मदर्शक यन्त्रले वस्तुको आकारलाई दशौंलाख गुणासम्म बृद्धि गर्दछ । विज्ञानमा उपयोगमा ल्याइने यन्त्र र उपकरणहरू विभिन्न प्रकारका हुन्छन् । नाप लिने र निरीक्षण गर्ने साधनहरू, समयसूचक यन्त्र, दूरवीन यन्त्र, सूक्ष्मदर्शक यन्त्र, भोल्टामिटर, एमिटर, विश्लेषणात्मक तराजु, भूकम्पमापक यन्त्र आदि । त्यसपछि आँकलन गर्ने उपकरणहरू, फोटोसम्बन्धी यन्त्र, माइक्रोफिल्म, स्मरणशक्ति भएको टेप, समय जाँच्ने घडी इत्यादि उल्लेखनीय छन् । साथै सञ्चारका साधनहरू टेलिग्राफ, टेलिफोन, रेडियो, टेलिभिजन, रेडियोलोकेटर, फोटोसेल, डिक्टाफोन, संकेत उपकरण इत्यादि । त्यस्तै सङ्गठन उपकरणहरू ः क्यालकुलेटर, स्लाइड रुल, कम्प्यूटर, गणितीय तालिका इत्यादिको उल्लेख गर्नु आवश्यक हुन्छ । यी उपकरणहरू अनुसन्धानका महत्वपूर्ण साधन हुन् ।
    विश्लेषण र संष्लेषणको पनि वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा अत्यन्त महत्वपूर्ण स्थान छ । वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा विश्लेषणको विपरीत संस्लेषण भनेको वस्तुका विभिन्न खण्ड र पक्षहरूको निर्जीव अथवा तार्किक संयोजन हो । वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा ऐतिहासिक तथा तार्किक पद्धतिहरू अमूर्त र मूर्त गणितीय पद्धतिहरूको पनि उत्तिकै महत्व हुन्छ । विश्लेषणात्मक र संस्लेषणात्मक पद्धतिबेगर वैज्ञानिक ज्ञान हासिल गर्न असम्भव हुन्छ ।
    भौतिकवादी दर्शन क्षेत्रमा मानिसले प्राप्त गर्दै आएको ज्ञानको बारेमा वैज्ञानिकरूपमा अध्ययनबाट शिक्षा लिनु र त्यसलाई व्यवहारमा उतार्नु नै भौतिकवादी ज्ञान सिद्धान्तको मूल कडी हो । यसबाट के शिक्षा लिन सकिन्छ भने ज्ञान छिपछिपेबाट गहिराइतिर, अल्पज्ञानबाट पूर्ण ज्ञानतिर, सरलबाट जटिलतातिर, विकास गर्दछ भन्ने नै हो । विश्व ब्रह्माण्डमा रहेका वस्तुहरू र घटनाहरूको आन्तरिक स्वभाव तथा सारतत्व तिनको कार्य तथा विकासका नियमहरू पत्ता लगाउनु नै वैज्ञानिक ज्ञान प्राप्तिको लक्ष्य हो ।
माक्र्सवादी ज्ञान सिद्धान्तको महत्वः
    माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सको दर्शन द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो, दर्शन मानिसको सामान्य दृष्टिकोण हो र यो दर्शनको सिद्धान्त भौतिकवाद हो । माक्र्सवादले लेनिनवाद–माओवादमा विकास गरिसकेको छ । र माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारावर्गको मुक्तिको मार्गदर्शक तथा पथप्रदर्शक सिद्धान्त हो ।
    दर्शन भनेको एउटा विश्वदृष्टिकोण हो अर्थात् विश्वलार्य हेर्ने एउटा दृष्टिकोण हो । र त्यो विज्ञानको यस्तो शाखा हो, जसले प्रकृति, समाज र मानवीय चिन्तनको विकासका नियमहरूको अध्ययन गर्दछ । हरेक वस्तुहरूको आ–आफ्नै परिभाषा हुन्छ । माक्र्सवादी परिभाषा अनुसार दर्शन भनेको सैद्धान्तिक ज्ञानको त्यो रूप हो, जसले विश्वदृष्टिकोणसित प्रकृति र समाजलाई हेर्ने दृष्टिकोणसित सम्बन्धित सामान्य सवालहरूको विश्लेषण र व्याख्या । पस्तुत गर्दछ । प्रकृति र समाजको विकास कुन ढंगबाट हुनेगर्छ, ऐतिहासिक विकासका मुल कारण र प्रेरक शक्तिहरू के हुन् हाम्रो यस संसारलाई कुन रूपमा बुझ्ने र फेर्न सकिन्छ यी र यस्ता प्रकारको सामथ्र्य माक्र्सवादी दर्शनले मात्र राख्दछ ।
    अतः दर्शनको अध्ययनले मानिसमा मुक्तिसंगत ढंगले सोच्ने क्षमताको विकास गराउँदछ । व्यक्तिको सैद्धान्तिक चिन्तनले दर्शनमा आफ्नो तरिका र सारतत्व भेटाउँछ भन्ने दर्शनले सैद्धान्तिक चिन्तनलाई रूप र ढाँचा प्रदान गर्दछ, व्यक्तिको चिन्तनधारालाई निर्देशित गर्दछ । त्यसैले माक्र्सवाद विश्वसर्वहारावर्गको आफ्नो दृष्टिकोण हो ।
    माक्र्सवादमा ज्ञानका अनेक शाखाहरू छन्ः माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र, माक्र्सवादी समाजशास्त्र, अर्थात वर्गसङ्घर्ष सम्बन्धी सिद्धान्त तर जग चाँही माक्र्सवादी दर्शन हो । यही कुरालाई मनन गरिएन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन् र हामी चिजलाई स्पष्ट नपारिकन यताउती तर्फ गरिरहने छौं, द्वन्दात्मक भौतिकवादलाई बुझेपछि धेरै दुःख बाट बचिने छ ।र धेरे गल्तीहरू हट्नेछन् । भन्ने माओको गहन संश्लेषणबाट हामी के कुरा प्राप्त गर्दैछौं भने संसारलाई बदल्न र फेर्न चाहने जो कोहलिे पनि माक्र्सवादको अधययन गर्न र ज्ञान प्राप्त गनशर्् जरूरी छ । किनकि माक्र्सवाद ज्ञानको विशाल भण्डार हो । र सर्वहारा वर्गको आफ्नो विश्वदृष्टिकोण हो । एउटा सही भनाई के छ भने दृष्टिकोण नभएको मानिस जरा नभएको रूख जस्तै हो । क्रान्तिकारी दृष्टिकोण नभइकन सच्चा क्रान्तिकारी बन्न सकिदैन । समाजमा आमुल परिवर्तन ल्याउने सङ्घर्षमा योग्य र समर्थवाण जोघाहा बन्ने हो भने प्रत्येक क्रान्तिकारीले आफ्नो दिमागलाई क्रान्तिकारीकरण गर्नैपर्छ । अर्थात उसले क्रान्तिकारी दृष्टिकोण ग्रहण गर्न सक्नुपर्दछ । यस्तो दृष्टिकोणले मात्र उसको निम्ती प्रष्ट दिशा र दूरदर्शन प्रदान गर्दछ । यहाँ उल्लेख गरिएको दृष्टिकोणको तात्पर्य माक्र्सवादी दृष्टिकोण हो । यो ज्ञान माक्र्सवादी ज्ञान–सिद्धान्तसित अन्तर्सम्बन्धीत रहेको छ । यो र यसै प्रकारका तमाम ज्ञानहरूमाक्र्सवादी ज्ञान सिद्धान्तले प्रदान गर्ने भएकोले एउटा क्रान्तिकारी माक्र्सवादीका लागि माक्र्सवादी ज्ञान–सिद्धान्तको बढी महत्व छ ।

सन्दर्भ सामाग्रीहरूः
१. कार्ल माक्र्स – पुँजी खण्ड १ र २
२. फ्रेडरिक एंगेल्स – ड्युहरिड्ड मतखण्डन
३. माक्र्स–एंगेल्स – संकलीत रचना सङ्ग्रहः भाग १, २, ३, ८, १०, २०, ३२, ४२, ४३
४. लेनिन संकलित रचना सङ्ग्रह भाग – ५, १८, १९, २४, ३८
५. माओत्सेतुङ् चुनिएका रचनाहरू भाग – १, २, ३, ५, ८
६. लेनिन – एक पाइला अगाडि दुई पाइला पछाडी
७. महान्् रूसी अक्टुवर क्रानितको इतिहास
८. चिनियाँ नयाँ जनवादी क्रान्तिको इतिहास
९. महान्् बहस
१०. हो चि मिन्ह – क्रान्तिकारी नैतिकता
११. कम्युनिस्ट नैतिकता
१२. स्टालिन – लेनिनवादका आधारहरू
१३. प्लेखानोन – चुनिएका दार्शनिक कृतिहरू – भाग १ र २
१४. लेनिन – माक्र्स–एंगेल्स–माक्र्सवाद
१५. माक्र्स–एंगेल्स – पेरिस कम्युन
१६. माक्र्स–एंगेल्स – साहितय र कला
१७. मोहन वैद्य ‘किरण’ – माक्र्सवादी दर्शन
१८. कृष्णदास श्रेष्ठ – कार्ल माक्र्स ः व्यक्तित्व र कृतित्व
१९. हस्तबहादुर के.सी. – माक्र्सवादी दर्शनशास्त्रका रूपरेखा
२०. हस्तबहादुर के.सी. – माक्र्सवादी दर्शनशास्त्रका सिद्धान्तहरू
२१. नेकपा (माओवादी) का ऐतिहासिक दस्तावेजहरू
२२. नेकपा–माओवादीको दश्तावेज–२०६९ असार  


No comments:

Post a Comment