क्रान्तिकारी धु्रवीकरणको प्रश्न
हस्तबहादुर केसी
नेपाली कम्युनिस्ट आन्दोलनभित्र चलिरहने फुट, विभाजन, एकता, धू्रवीकरण, अनि पुनः फुट, विभाजन, एकता र धु्रवीकरण जस्ता विषयहरु धेरै नयाँ र नौला विषय होइनन् । यी विषयहरु नेपाली कम्युनिस्ट आन्दोलनभित्र बारम्वार हुँदै र्आका परिघटना हुन् । अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी माक्र्सवादी लेनिनवादी माओवादी विचारको प्रतिनिधित्व गरिरहेको नेकपा–माओवादी र नवसंशोधनवादमा पतन भएर निकै तल गिरिसकेको एनेकपा माओवादी तथा नेकपा–माओवादीले नेतृत्व गरिराखेको ३३ दलीय राजनीतिक मोर्चाभित्र आवद्ध रहँदै आएका कतिपय क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र त्यसका समुहबिच पार्टी एकता एवं क्रान्तिकारी धु्रवीकरणको प्रश्न जोडतोडले उठ्ने गरेको छ । सर्वविदितै कुरा हो, नेपाली कम्युनिस्ट आन्दोलन धेरै पहिलेदेखि विभाजित रहदै आएको छ । विभिन्न समुह र उपसमुहमा विभाजित रहँदै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको ६५ वर्षको यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र भीषण वर्गसंघर्ष र विचारधारात्मक अन्तरसंघर्ष एवं दुई लाइन संघर्षका अनेकौ जटिल, बांगा–टिंगा र कहालिलाग्दा घुम्तीहरु रहेका छन् । हामीसित प्रशस्त अनुभव छ कि सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धाराबीचको द्धन्द प्रमुख बन्दै आएको छ ।
यतिवेला नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादी, सुधारवादी धारा जसको प्रतिनिधित्व एमाले, एमाओवादीले गर्दै आएका छन् । यस धाराले आफुलाई विजातीय कित्तामा सामेल गर्दै संसद्वादको दलदलमा उम्कनै नसक्ने गरी फसाउदै दक्षिणपन्थी संशोधनवाद, आधुनिक संशोधनवाद एवं नवसंशोधनवादी धारामा गुणात्मक रुपले फड्को हान्न पुगेको छ । यसको ठीक विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जसको प्रतिनिधित्व नेकपा–माओवादीले गर्दै आएको छ र यस धाराले आज माक्र्सवादी, लेनिनवादी, माओवादीका रुपमा गुणात्मक ढंगले विकसित हुँदै कथित दोस्रो संविधानसभा निर्वाचनलाई सशक्त र सक्रिय रुपमा बहिष्कार गरेर आफ्नै मौलिकता र विशिष्टतामा सफलता प्राप्त गर्दै मुलुकको क्रान्तिकारी वैकल्पिक शक्तिको रुपमा स्थापित हुन पुगेको छ । जनयुद्धको जगमा जनविद्रोह मार्फत महान् नेपाली जनवादी क्रान्ति सम्पन्न पार्ने कार्यदिशाका साथ अगाडि बढेर नेपाली सर्वहारावर्गको राजनीतिक नेतृत्वको रुपमा रहेको नेकपा–माओवादी वर्तमान अवस्थामा महान् नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्तिको रुपमा समेत स्थापित हुन पुगेको छ । यसरी आज नेपाली कम्युनिस्ट आन्दोलन क्रान्तिकारी ध्रुव र दक्षिणपन्थी संशोधनवादी ध्रुव गरी दुई विपरित ध्रुवमा विभाजित हुन पुगेको छ । क्रान्तिकारी ध्रुव अन्तरगत नेकपा–माओवादीका वरिपरि क्रान्तिकारी चरित्र बोकेका र महान नेपाली जनवादी क्रान्तिप्रति प्रतिबद्ध रहदै आएका अन्य कम्युनिस्ट पार्टीहरु रहदै आएका छन् । भने दक्षिणपन्थी संशोधनवादी धु्रवअन्तरगत एमाले, एमाओवादी र त्यसका वरिपरि पनि कतिपय अवसरवादी, विर्सजनवादी नामधारी कम्युनिस्ट पार्टी र समुहहरु रहदै आएका छन् ।
यसरी आज नेपाली कम्युनिस्ट आन्दोलनभित्र करिब एक दर्जन भन्दा बढी कम्युनिस्ट पार्टी एवं समुह, उपसमुहहरु विद्यमान छन् । अतः यहाँ सारमा चर्चा गर्न खोजिएको विषय के हो भने क्रान्तिकारी ध्रुवीकरण र पार्टी एकताको प्रसंग नै हो । क्रान्तिकारी ध्रुवीकरण र पार्टी एकताको प्रसंग नितान्त सैद्धान्तिक, वैचारिक र दार्शनिक विषय हो । यो सिंगो क्रान्तिसित पनि जोडिएको विषय हो । विभाजित कम्युनिस्ट आन्दोलभित्र कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गर्ने कार्य निकै महान् विषय हो । सँगसँगै यो ज्यादै पेचिलो विषय पनि हो । ‘क्रान्तिकारी सिद्धान्त विना क्रान्तिकारी आन्दोलन संभव छैन’, ‘क्रान्तिकारी पार्टीबिना क्रान्ति सम्भव छैन, जनताको राज्यसत्ताबाहेक सबै भ्रम हो र राजनीतिक कार्यदिशा सहि हुनु र नहुनुले सबै कुराको फैसला गर्दछ’ भन्ने सोचबाट नै क्रान्तिकारी ध्रुवीकरण एवं पार्टी एकताको बारेमा छलफल र वहस चलाइनु पर्दछ । महान् नेपाली नयाँ जनवादी क्रान्तिका कार्यभार पुरा गर्ने महान् उद्देश्यका साथ हामीले २१ महिना पहिले नवसंशोधनवादी प्रचण्ड बाबुरामसित सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा–माओवादीको गठन गरेका थियौ र आज भन्दा ठिक १४ महिना पहिले सातौ राष्ट्रिय महाधिवेशनबाट वर्तमान नेपाली क्रान्तिको कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह पारित गरेका थियौ । साथै ३ महिना पहिले सम्पन्न हाम्रो पार्टीको तेस्रो पूर्ण बैठकबाट हामीले यस कार्यदिशालाई समृद्ध पार्ने भन्ने निर्णय गरेका छौ । समृद्ध पार्ने भनेको परिमार्जन गर्ने भन्ने होइन विकसित गर्ने भन्ने हो । क्रान्ति एक्लै सम्पन्न गर्न असम्भव हुन्छ नै । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्दछ भन्ने आवाज उठ्नु स्वाभाविकै छ । त्यसो भएर नै हामीले तेस्रो पूर्ण बैठकबाट पार्टी बाहिरका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याइ नयाँ क्रान्तिकारी कम्युनिस्ट केन्द्रको निर्माण गर्ने भन्ने निर्णय गरेका छौ । यो ऐतिहासिक निर्णयलाई कार्यान्वयन गर्नु हाम्रो कर्तव्य पनि हो ।
क्रान्तिकारी ध्रुवीकरण र पार्टी एकता कसैको चाहाना वा इच्छाले पुरा हुने विषय होइन । न यो व्यक्तिगत विचार र चाहाना भन्दा बाहिर रहेर चल्ने कुरा पनि हो । यो वस्तुगत र आत्मगत परिस्थितिको परिणाम स्वरुप आवश्यकताले निर्माण गर्ने कुरा हो । अहिले एमाओवादी र नेकपा–माओवादीबिच, नेकपा–माओवादी र नेकपा (एकीकृत) तथा क्रान्तिकारी कम्युनिस्ट मोर्चासित पार्टी एकताको हल्ला चल्दै आएको छ । विषेशगरी एमाओवादी र नेकपा–माओवादी बिचको एकताको हल्ला ज्यादै चल्ने गरेको छ । यसको वास्तविकता के हो त भन्ने प्रश्न पनि उत्तिकै उठ्ने गरेका छन् । विषेश गरी एमाओवादीको पक्षबाट जोडतोडले नेकपा–माओवादीसित पार्टी एकताको हल्ला फैलिने गर्दछ । एमाओवादीको पक्षबाट बारम्बार हल्ला फैलाइनुका पछाडि विविध कारणहरु रहेका छन् । पहिलो कारण उसले नेकपा–माओवादीलाई पनि आफुजस्तै नवसंशोधनवादी बनाउन चाहन्छ । दोस्रो कारण, एमाओवादीले माओवादीलाई एकताबद्ध र स्थापीत हुन नदिन र जनतामा ठुलो भ्रम छर्ने उद्देश्यले यस प्रकारको एकताको हल्ला गरेको पाइन्छ । अर्थात उसले वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनभित्र क्रान्तिकारी धाराको प्रतिनीधित्व गरिरहेको नेकपा–माओवादीलाई कमजोर बनाउने उद्देश्यले उसले पटक पटक एकताको हल्लाह मच्चाउदै आएको छ । तेस्रो कारण एमाओवादी भित्र १० वर्षे जनयुद्धदेखि नेपाली क्रान्तिका लागि महत्वपुर्ण योगदान पु¥याउदै आएका हजारौ क्रान्तिकारी कार्यकर्ताहरु भ्रमवस त्यहाँ रहेका छन् र उनीहरु क्रमशः एमाओवादीबाट विद्रोह गरी नेकपा–माओवादीमा प्रवेश गर्ने लहर नै चलेकाले पार्टी एकताको हल्लाह फैलाएर उनीहरुलाई विद्रोह गर्नबाट अल्मल्याउने र ‘पार्टी एकता भइहाल्छ, सँगै जाउँला, एक्ला–एक्लै किन जाने’ भन्ने भ्रम पैदा गर्ने उद्देश्यले उसले पार्टी एकताको हल्लाह फैलाउने काम गरिरहेको छ ।
चौथो कारण जनमुक्ति सेना र हतियार प्रतिक्रियावादी सत्तालाई बुझाएर, आधारइलाका, जनसत्ता, जनअदालत र जनसरकारहरु विघटन गराएर दाह्रानंग्राविहिन सिंहझै बनेको एमाओवादीले कथित दोस्रो निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गर्ने गुठ्ठी हाँक्दै देशव्यापी रुपमा नेपाली सेना परिचालनको मुख्य कमाण्डिङ गरेको एमाओवादी उक्त निर्वाचनमा शर्मनाक पराजित हुन पुगेर नेपालको वर्तमान राजनीतिमा भुमिकाहिन हुन पुगेपछि उसले आफ्नो अस्तित्व धान्न मुस्किल परेका कारण पनि एकताको हल्लाह मच्चाउने काम गर्दै आएको छ । यसका अतिरिक्त अन्य कारणहरु रहेका छन् । अतः पार्टी एकता त आवश्य कुरा हो । सिद्धान्त, कार्यदिशा, कार्यक्रममा एकरुपता भएमा पार्टी एकता पनि हुन सक्छ । पार्टी एकता भनेको त नेतृत्वको सवाल पनि हो । त्यही महान् १० वर्षे जनयुद्धको मुख्य नेतृत्व समेत गरेर आएको प्रचण्ड र बाबुरामलाई नेपाली जनताले ठुलो आशा र भरोसा समेत गरेका थिए । तर सबै चिजलाई गुमाएर महान् १० वर्षे जनयुद्धका सम्पूर्ण उपलब्धिहरुलाई देशी विदेशी प्रतिक्रियावादी शक्तिकेन्द्रहरुलाई बुझाएर नेपाली क्रान्ति र नेपनली जनताप्रती गम्भीर प्रकारको गद्धारी गरिसकेका यिनीहरुलाई कसले विश्वास गर्दछ र अनि कसरी हुन्छ पार्टी एकता ? यो त बडो गजबको हल्लाह मात्र हो । अर्थात षडयन्त्रपुर्ण हल्लाह मात्रै हो ।
हामी माओवादी क्रान्तिकारीहरुले के कुरालाई ख्याल गर्न आवश्यक हुन्छ भने संशोधनवादमा पतन भइसकेका नामधारी कम्युनिस्ट पार्टी र समुहसित पार्टी एकताको विश्वास गर्न हुँदैन । हामीले विश्व कम्युनिस्ट आन्दोलनको इतिहासबाट पनि पाठ सिक्नु पर्ने हुन्छ । लेनिनले कहिल्यै पनि दोस्रो अन्तर्राष्ट्रियताका संशोधनवादी गद्धारहरुसित एकता गर्ने सोच सम्म पनि राख्नु भएन बरु वैचारिक रुपले परास्त गर्नुभयो । देशभित्रका मेन्सेविकवादीहरुसित पनि कहिल्यै संझौता र एकताको कुरा गर्नुभएन । त्यस्तै चीनमा पनि माओले दश, दश वटा ठुला अन्तर पार्टी संघर्ष सञ्चालन गर्नुभयो तर सबैखाले संशोधनवादीहरुसित एकताको आशा गर्नुुभएन । खु्रश्चेभपन्थी आधुनिक संशोधनवादीहरुका विरुद्ध माओले अन्तर्राष्टिय कम्युनिस्ट आन्दोलनमै महान् बहस चलाउनु भयो । माओले गद्दार खु्रश्चेभसित एकता वा सम्झौता गर्नु भएको भए उहाँ विश्व सर्वहारावर्गको नेता नै बन्न सक्ने कुरै थिएन । यता नेपालमा पनि पार्टी संस्थापक महासचिव पुष्पलालले बारम्बार कम्युनिस्ट एकताको कुरा अगाडि सार्नु भयो । तर गद्दार रायमाझी समुहसित पार्टी एकताको कुरा कहिल्यै गर्नु भएन । तब मात्र पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको सर्वमान्य नेताको रुपमा स्थापित हुनु भयो ।
हामीले सिद्धान्तविहीन, विचारविहीन ठूलो पार्टी मात्रै बनाउने चाहना हो भने एमाओवादीसित किन एमालेसित पनि पार्टी एकताको कुरा गरे भइहाल्यो नि ! किन कि एमाले र एमाओवादीमा फरक पो के छ र ! एमालेले आफुलाई कम्युनिस्ट भन्न छाडेको छैन । अतः सारमा क्रान्तिकारी धु्रवीकरणको सवाललाई महत्व दिन आवश्यक छ । यतिबेला एमाओवादीभित्र पनि क्रान्तिकारी कम्युनिस्ट कार्यकर्ताहरु छन् । एमालेभित्र पनि थोर बहुत त्यस प्रकारका मान्छे हुन सक्छन् । अन्य समुहभित्र पनि क्रान्तिकारीहरुलाई गोलबन्द गर्न, एकताबद्ध गर्न आवश्यक छ । यस प्रकारको धु्रवीकरण सैद्धान्तिक एकतामा मात्र संभव हुन्छ । अर्थात् माक्र्सवाद लेनिनवाद माओवादलाई पथप्रर्दशक र मार्गनिर्देशन सिद्धान्त मान्ने र विशेष गरी कमरेड माओवादका सार्वर्भाम योगदानलाई ग्रहण गर्न सक्ने क्रान्तिकारी कम्युनिस्टहरुका बीचमा क्रान्तिकारी धुव्रीकरण संभव छ । यसले सिद्धान्तनिष्ठ पार्टी एकताको आधारशिला निर्माण गर्न सक्छ । यही वास्तविकतालाई वोध गरेर नै पार्टी बाहिरका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरुलाई समेटी नयाँ क्रान्तिकारी कम्युनिस्ट केन्द्रको निर्णाम गर्ने निर्णय गरेका थियौं । यो नै आजको आवश्यकता हो । गद्दार घोषित भइसकेकाहरुसित पार्टी एकताको प्रश्न आवश्यकताको सुनिश्चित पार्न सक्दैन । यस प्रकाररको इतिहास पनि कतै छैन ।
No comments:
Post a Comment