Saturday, August 30, 2014

के थियो जनयुद्ध !

– हस्तबहादुर केसी
२०५२ साल फागुन १ देखि तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा महान् जनयुद्धको थालनी भयो । १० वर्षसम्म निरन्तर रूपमा सञ्चालित जनयुद्धले मुलुकको करिब ८० प्रतिशत भू–भागहरूमा नेपाली क्रान्तिका लागि आधार इलाकाहरू निर्माण हुन पुग्योे । जनसरकार, जनसत्ता, जनअदालत र जनकम्युनहरू सञ्चालनमा ल्याइयो । चीनमा माओत्सेतुङ्को निधनपछि विश्व कम्युनिस्ट आन्दोलनमा नै सबैभन्दा ठूलो तथा शक्तिशाली एवम् वैज्ञानिक दिमाग र हातहरू भएको जनमुक्ति सेना नेपालको निर्माण गरियो । मुलुकको जनसंख्याको करिब ८० प्रतिशत भूभाग नेकपा (माओवादी) को कब्जामा आयो । गाउँ–गाउँमा पुराना सत्ताका स्थानीय सत्ताहरू ध्वस्त पार्दै, त्यस ठाउँमा नयाँ जनसत्ताहरू निर्माण गरियो । नेपाली जनताले पहिलो पटक मुलुकको विशाल ग्रामीण इलाकाहरूमा आफ्नो सत्ता आफैंले चलाउन थाले । महान् जनयुद्धको प्रक्रियाअन्तर्गत नेपाली जनताले ध्वस्त पारेको पुरानो सत्ताका स्थानीय निकायहरू अहिलेसम्म ध्वस्त अवस्थामा छन् ।
महान् दस बर्से जनयुद्धले आमनेपाली जनताको चेतनास्तर माथि उठाइदिएको थियो । पुराना, पछौटे, रूढीग्रस्त तथा ढोंगीवादी सामन्ती संस्कृतिलाई देशव्यापी रूपमा ध्वस्त पारेर नयाँ जनवादी संस्कृतिलाई तीव्र गतिले अगाडि बढाउने र नेपाली जनताको चेतनास्तरलाई वैज्ञानिकीकरण गर्ने सवालमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको थियो । नेपाली समाजमा युगौँदेखि व्याप्त रहँदै आएको जाँड–रक्सी, जुवा–तास, जस्ता विकृति र विसंगतिहरूलाई निर्मूल पारिएको थियो । नेपालमा भित्र्याइएको पुँजीवादी छाडा तथा अश्लील संस्कृति र साहित्यलाई पनि नेपाली समाजबाट निस्तेज पार्ने महत्वपूर्ण कदमहरू चालिएका थिए ।
महान् दस बर्से जनयुद्धका क्रममा दसौँ हजार नेपाली आमाका असल तथा आँटी छोराछोरीहरूले जनताको नयाँ जनवादी राज्यव्यवस्था स्थापनाको लागि आफ्नो जीवन उत्सर्ग गरेका थिए । हजारौँ नेपाली नागरिकहरूलाई पुरानो प्रतिक्रियावादी राज्यसत्ताले बेपत्ता पारेको थियो, जो अहिलेसम्म सार्वजनिक गरिएको छैन । हजारौँलाई राज्यपक्षबाट घाइते–अपाङ्ग बनाइएको थियो । जसले बाँचेर पनि मरेसरह भएका छन् । त्यति मात्र होइन जनयुद्धको प्रक्रियामा धेरै नेता–कार्यकर्ताहरूले निर्माण भएको थियो । जसमा महिला, दलित तथा पिछडिएको वर्ग, क्षेत्र र उत्पीडित जनसमुदायको विशाल हिस्सालाई राजनीतिक चेतनाको स्तरबाट माथि उठाउने कामहरूमा पार्टीले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको थियो ।
अतः यसप्रकारको महान् उपलब्धिहरूको हासिल गराउने र नेपाली धर्तीलाई मात्रै होइन, विश्व जनमञ्चसमेतलाई एकपटक राम्ररी झकझक्याउने गरी तत्कालीन नेकपा (माओवादी) बाट सञ्चालित जनयुद्ध आखिरमा के थियो त ? र आज ती उपलब्धिहरू क्रमशः गुम्दै गएका छन् । नेपाली समाजमा त्यसको शिक्षा र अनुभव मात्र सीमित हुन पुगेका छन् । के कारणले महान् जनयुद्धप्रति यति ठूलो घात–प्रतिघात हुन पुग्यो । आज महान् दस बर्से जनयुद्धले १८ वर्षहरू पार गरेर १९ औँ वर्षमा प्रवेश गरिरहेको यो ऐतिहासिक अवस्थामा यस प्रकारका प्रश्न र जिज्ञासाहरू उत्पन्न भइरहेका छन् । महान् नेपाली क्रान्तिको भविष्यप्रति गम्भीर प्रकारका चिन्ताहरू पनि प्रकट भइरहेका छन् ।
सारमा महान् जनयुद्ध नेपाली समाजको आमूल परिवर्तन गर्ने एक युगान्तकारी अभियान थियो । सर्वहारावर्गले राज्यसत्ता प्राप्त गर्ने अर्थात् राज्यसत्ता भन्नाले पुरानो सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्रलगायतका सबै राज्य संयन्त्रमा आमूल रूपान्तरण गर्ने अभियान पनि थियो जनयुद्ध । जुन माथि नै चर्चा गरिसकेको छ कि दस वर्षको जनयुद्धले पुरानो सत्ताको स्थानीय संरचनालाई सम्पूर्ण रूपले निस्तेज पा¥यो । जनयुद्धकै बलमा माओवादीले पुरानो स्थानीय सत्ता आफ्नो हातमा लिंदै केन्द्रीय सत्ता स्थापनाको निम्ति समानान्तर सरकार निर्माण गरेर देखाइदियो । जनयुद्धले साम्राज्यवादी, विस्तारवादी शासकहरूलाई चोटिलो प्रहार मात्र दिएन, त्यसले विश्वभरका भाइचारा र श्रमजिवीहरूलाई क्रान्तिकारी उत्साह र आशा प्रदान ग¥यो । थोरै समयमा नै जनयुद्धले हासिल गरेको गुणात्मक छलाङले नेपाल विश्वक्रान्तिको आधार किल्ला बन्न पुग्यो र ‘नयाँ विश्व सम्भव छ’ भन्ने विश्वास पैदा गरेको थियो । माथि उल्लेख गरे बमोजिम त्यही महान् जनयुद्धमा दसहजारभन्दा बढी सहिद भए । ती सहिद हाम्रा आदर्श हुन् । हाम्रो क्रान्तिका धरोहर र मार्गदर्शक हुन् । जसले हामीलाई निरन्तर क्रान्तिको बाटोमा अघि बढ्ने प्रेरणा गरिरहन्छन् । २४० बर्से शाहवंशीय सामन्ती राजतन्त्रलाई जरैदेखि उखेलेको परिणामतः गणतन्त्र नेपालको निर्माण भएको हो । अतः जनयुद्ध भनेको नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत समाजको हरक्षेत्रमा आमूल परिवर्तन गर्ने उथलपुथलकारी महान् अभियान थियो । विडम्बना त्यस दस बर्से जनयुद्धको मुख्य नेतृत्व सम्हाल्दै आएका प्रचण्ड–बाबुराम मण्डलीमा आएको चरम अवसरवादी चिन्तनले गर्दा अन्ततः उनीहरू नवसंशोधनवादमा पतन भइसकेका छन् । उनीहरूले नेपाली क्रान्ति र जनताप्रति गम्भीर प्रकारको गद्दारी गरेर प्रतिक्रियावादी कित्तामा सामेल हुन पुगे । दस बर्से जनयुद्धको प्रक्रियाअन्तर्गत आर्जन गरिएका ती नेपाली क्रान्तिका आधार इलाकाहरू, जनसत्ता, जनअदालत र जनकम्युनहरू र जनसरकारहरू उनीहरूकै हातबाट साम्राज्यवादी तथा विस्तारवादीहरूले खारेज गर्न लगाए । जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेनाका सामु आत्मसमर्पण गर्न लगाएर लज्जास्पद ढंगले विघटन गराए । जनताको रगतसँग साटिएका हतियारहरू प्रतिक्रियावादी सत्तालाई बुझाउन लगाएर नेपाली जनतालाई निरिहसरह बनाइदिए । किनकि जनसेनाबिना जनताको आफ्नो भन्ने केही पनि हुँदैन । यी महान् जनयुद्धका सम्पूर्ण उपलब्धिहरू प्रतिक्रियावादीहरूलाई बुझाएर दा¥हानङ्ग्राबिनाको सिंहजस्तै भएर बसेका प्रचण्ड–बाबुरामहरूले कथित दोस्रो संविधानसभामा दुई तिहाइ बहुमत हासिल गर्ने गुड्डी हाँक्दै त हिँडेका थिए । देशी–विदेशी प्रतिक्रियावादीहरूले नराम्रोसित पच्छारिदिएपछि अहिले एमाओवादी घर न घाटको बन्न पुगेको छ । यस्तै हालत हुन्छ जनता र क्रान्तिलाई धोका दिने र गद्दारी गर्नेहरूको ।
यसका बाबजुद पनि जनयुद्ध रोकिएको छैन र जनवादी क्रान्ति जारी छ । आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउने प्रयत्न भइरहेको छ । हामीले करिब २० महिना पहिले नवसंशोधनवादी गुटसित सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा–माओवादीको पुनर्गठन ग¥यौँ । ठीक १३ महिना पहिले पार्टीको सातौँ राष्ट्रिय महाधिवेशन गरेर महान् दस बर्से जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा पारित गर्दै महान् नेपाली नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने संकल्पका साथ अगाडि बढेका छौँ । जनयुद्धको १९ औँ ऐतिहासिक वर्षगाँठ उल्लासपूर्ण तरिकाले भव्यताका साथ मनाइरहेका छौँ । यस ऐतिहासिक सन्दर्भमा हामीले ती महान् सहिदहरूका सुन्दर सपना साकार तुल्याउने र नेपाली जनवादी क्रान्तिका बाँकी कार्यभारलाई पूरा गर्ने यस महान् तथा कठिन बाठोमा अविचलित रूपले अगाढि बढ्नेछौँ । नेपाली जनतालाई धोका दिनेछैनौँ, नेपाली क्रान्ति र जनताप्रति गद्दारी गर्नेछैनौँ भन्ने दृढता र प्रतिबद्धता गरेर जानुको विकल्प छैन । यो मुखले मात्र भन्ने कुरा होइन, व्यवहारले देखाउने कुरा पनि हो । जनताले अपेक्षा गरेको विषय पनि यही नै हो ।      


No comments:

Post a Comment