Friday, August 23, 2013

नेपाली समाजको रूपान्तरणमा जनयुद्धले खेलेको भुमिका
हस्तबहादुर के.सी
विषय प्रवेशः–
प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं, विद्रोह गर्नु जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद ! भन्ने मूल नारा घन्काउँदै २०५२ साल फागुन १ गतेदेखि नोपल कम्युनिस्ट पार्टी (माओवादी) ले सशस्त्र जनयुद्धको थालनी ग¥यो । वैज्ञानिक समाजवाद एवं साम्यवादका प्रवर्तकद्वय कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले आफ्नो हातमा राज्यसत्ता प्राप्त गर्न गृहयुद्ध या अन्तर्राष्ट्रिय युद्धको आवश्यकतामाथि जोड दिंदै भन्नु भएको छ, ‘बर्तमान स्थितिलाई फेर्नको लागि मात्र होइन आफूलाई फेर्न र राजनीतिक सत्ताको भार वहन गर्न सक्ने र आफूलाई बचाउनको लागि पनि तपाईंहरूले पन्ध्र, बिस र पचास वर्षका गृह युद्ध र अन्तर्राष्ट्रिय द्वन्द्वबाट गुज्रनु पर्नेछ ।’ माक्र्स–एङ्गेल्स चुनिएका रचना भाग ८ पृष्ठ ५०८ ।
अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता तथा गुरुहरूका यी भनाईसँग नजिक रहेर नेकपा (माओवादी) ले ०५२ साल फागुन १ गतेदेखि महान् जनयुद्धको थालनी गरेको कुरा सर्वविधितै छ । जसको स्पष्ट लक्ष्य थियो, ‘विद्ययमान पुरानो प्रतिक्रियावादी राज्यसत्ताको समूल नष्ट गरेर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नु ।’ अझ उसले राज्यसत्ताको चरित्रको व्याख्या गर्दै भनेको थियो, ‘राज्यसत्ता वाहेक सबै भ्रम हो र राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ ।’ यही माओवादी प्रस्थापनालाई दह्रो गरी आत्मासात गरेर सञ्चालन गरिएको जनयुद्धले सामान्तवाद, साम्राज्यवाद र विस्तारवादी लुटेराहरूको स्वर्गमाथि धावा बोल्यो । तिनका स्वदेशी तथा विदेशी दलालहरूको डर, त्रास र भय तथा आतङ्कको ढ्याङ्ग्रो ठोक्यो । यसले कम्युनिस्ट आन्दोलनमा हावी रहेको संशोधनवादी र सुधारवादी चक्रब्यूलाई तोडेर साच्चिकै संसारलाई चकित तुल्यायो । माओवादीको यस अभियानले संसारका भोका नाङ्गा जनताको अनुहारमा खसी र उत्साह ल्याइदियो र जनयुद्ध बास्तवमा जनताको न्यायपूर्ण युद्ध बन्न पुग्यो । यस दश वर्षको जनयुद्धमा करिब १५ हजार नेपाली धर्तिका असल र आँटी छोराछोरीहरूले जीवनको बलिदानी गर भने हजारौलाई तत्कालीन प्रतिक्रियावादी राज्य सत्ताले बेपत्ता पा¥यो । हजारौलाई घाइते र अपाङ्ग पा¥यो भने हजारौको सङ्ख्यामा घरवारविहिन हुन पुग्यो । हजारौ सहिद, बेपत्ता, घाइते र आम न्ययप्रेमी तथा मुक्तिकामी नेपाली जनताले यस जनयुद्धमा उच्च बलिदान, सहास, त्यागको अनुपम नमुना विश्वसामु खडा गरिदिए । त्यसैले महान् अक्टुबर समाजवादी क्रन्तिले खडा गरेको सोभियत समाजवादको प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरूबाट औपचारिक रुपमा विघटन गरे पश्चात विश्वकम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेको बेला अर्थात् २१औं शताब्दिको बिहानीसँगै नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमा नै नेकपा (माओवादी) पार्टी आफ्नो क्रान्तिकारिताको गौरवशाली इतिहास निर्माण गर्न सफल भयो । अतः समग्र विषयवस्तुको संश्लेषण गर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने महान् दश बर्से जनयुद्ध नेपाली समाजको आमूल परिवर्तन गर्ने युगान्तकारी अभियान थियो । र नेपाली समाजको समग्र क्षेत्रको रूपान्तरण गर्ने अभियानमा दश बर्से जनयुद्धले महत्वपूर्ण भूमिका खेलेको थियो जसको योदान युग–युगसम्म अमर र अजर रहने छ ।
चेतनाको क्षेत्रमा खेलेको भुमिका ः
विद्यामान नेपाली समाजमा रहेका पछौटेपन, आत्माहिनता, अन्धविश्वास, कुरिती, कुसंस्कार, ढोगीवाद, अचेतना लगायतका सामन्ती कुरुप संस्कृति र विविध प्रकारका विकृति र विसङ्गतिका विरुद्धको आधिवेहरीपूर्ण सङ्घर्ष र महान् अभियान थियो महान् दश बर्से जनयुद्ध । तत्कालीन नेकपा (माओवादी)को नेतुत्वमा सुरु भएको जनयुद्ध आफैंमा समग्र युद्ध थियो र सो युद्धमा महिला, जनजाति, दलित मधेसी, पत्रकार, लेखक बुद्धिजीवी, उत्पीडित र उपेक्षित समुदायलगायत नेपाली समाजका सबै वर्ग र तहको सहभागिता रहेको थियो । नेपाली जनताले राज्यसत्तासँग लडेको युद्धले महिला, दलित, उत्पीडित र उपेक्षित तथा युगौंदेखि प्रतिक्रियावादी शासकहरू र तथाकथित कुलिन र घराना वर्गबाट गरिएको उपेक्षा, भेदभाव पूर्ण व्यावहार कार्यलाई अन्त्य गर्ने प्रयासमा दश बर्से जनयुद्धले महत्वपूर्ण योगदान गरेको थियो ।
महान् दश बर्से जनयुद्धले सबैभन्दा पहिलो प्रयास आधारभूत नेपाली जनताको चेतनास्तर बृद्धि गर्ने कार्यमा ठूलो योगदान गरेको थियो । नेपाली समाजका ग्रामीण इलाका र दुरदराजका जनताहरूमा वैज्ञानिक चेतनाको स्तरविकास गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको थियो । आधारभूत वर्ग र तहमा रहेका, पछाडि परिएका महिला, दलित, जनजाति, मधेसी, उपेक्षित जनसमुदायका मानिसहरूले आफ्नो हक अधिकारको खोजी गर्ने, त्यसको प्राप्तिको माग गर्ने र सङ्घर्ष गरेरै मात्र प्राप्त गर्न सकिन्छ भन्ने चेतनाकने विकास गर्ने काम दश बर्से जनयुद्धले नै गरेको थियो । जो अहिले सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक निर्वाचन प्रणालीलगायतका विषयहरू मुलुकको मूल कानुन संविधानमा व्यवस्था गर्ने र मुलुकलाई यसैमा ढाल्ने प्रायत्न गरिदैछ । यो दश बर्से जनयुद्धकै परिणाम हो ।
दश बर्से जनयुद्धले नेपाली समाजमा चेतनाको ठूलो लहर सृष्टि गरिदियो । अहिले राजधानी काठमाडौं उपत्यकाभित्र बसोबाँस गर्ने जनतामा भन्दा राजधानी बाहिर बसोबाँस गर्ने ग्रामिण इलाका र दुरदराजमा बसोबाँस गर्दै आएका जनताहरूको चेतनास्तर माथि छ । ग्रामिण इलाकाहरूबाटै जनयुद्धको थालनी भएकोले नै त्यहाँका जनताको चेतनास्तर सबै भन्दामाथि पुग्न सफल भएको हो । माओवादीद्वारा सञ्चालन गरेको सो जनयुद्धले नेपाली जनताको चेतनास्तर नउकासी दिएको भए त्यही समयमा २४० वर्षे शाहवंसीय सामन्ती राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको स्थापना हुने सम्भावना थिएन ।
सांस्कृतिक रूपान्तरणमा खेलेको भूमिका ः
वर्गीय मुक्तिको प्रश्न, राष्ट्रिय स्वाधिनताको प्रश्न र युगान्तकारी क्रान्तिका प्रश्नहरू नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित जनयुद्धद्वारा उठाइएका तत्कालीन राजनीतिका प्रश्नहरू थिए र सांस्कृतिक क्रान्तिसँग पनि अभिन्न रूपले जोडिएका प्रश्नहरू पनि थिए । मुलभूत रूपमा अर्को अर्थमा सांस्कृतिक क्रान्तिको अर्को पनि रुप थियो । त्यसले सामन्ती संस्कृति, पुँजीवादी संस्कृति, दलाल तथा दास संस्कृति र औपनिवेशिक संस्कृतिको अन्त्य गरेर सर्वहारा संस्कृतिको स्थापना गर्दै मौलिक, जनवादी र राष्ट्रिय संस्कृतिको निर्माण गर्ने अविभारा र सङ्कल्प लिएको थियो । नेता  र पार्टीको सर्वहाराकरण, निजी पुँजीको अन्त्य, भोगी विलासी जीवन शैलीको विरोध र समग्र विद्रोहको प्रतिवद्धतासहित जनयुद्धको थालनी भएको थियो । नेपाली समाजबाट पुँजीवादी शोषण, उत्पीडन, सामन्ती शोषण उत्पीडन, साम्राज्यवादी शोषण उत्पीडन अन्त्य गर्दे समाजमा रहेका वर्गीय, जातीय लिङ्गीय, क्षेत्रीय विभेदको अन्त्य गर्ने संस्कृति स्थापनाको लक्ष्य लिएर हजारौ माओवादी क्रान्तिकारी युवा युवतीहरू महान् जनयुद्धमा हामफालेर होमिएका थिए । वर्गीय रूपमा नेपाली जनताको सत्ता स्थापित नहुँदासम्म र राष्ट्रिय रूपमा साम्राज्यवाद, विस्तारवादको हस्तक्षेप, अतिक्रमण, प्रमुख र हैकम समाप्त नगरेसम्म जनयुद्ध बीचमै समाप्त गर्नु इतिहासप्रति गद्दारी र जनताप्रति धोका हुने प्रतिवद्धता जाहेर गरेर नै ती महान् क्रान्तिकारी युवा युवतीहरू जनयुद्धमा होमिएका थिए र जीवनको आहुती दिएका थिए । यो जनयुद्धले निर्माण गरेको वैज्ञानिक चेतनाको उपज थियो । जनयुद्धले सांस्कृतिक रूपान्तरणको दिशामा बलियो आधार निर्माण गरेको थियो । तर, अहिले पार्टीको मूल नेतृत्वमा समेत दक्षिणपन्थी अवसरवाद हावी हुँदै गए पछि जनयुद्धले निर्माण गरेको त्यो सांस्कृतिक रूपान्तरणको आधारहरूलाई ध्वस्त पार्ने भताभुङ्ग पार्ने प्रक्रिया अगाडि बढेको छ । व्यक्तिवाद, उपभोक्तावाद बढेर गएको छ । कुरुप र पाखण्डी संस्कृतिको विकास भएको छ । यसको जड भनेको दक्षिणपन्थी संशोधनवाद हो र यसको जग चाहि सामन्तवाद र साम्राज्यवाद नै हो । यसप्रकारका समस्याको समाधानका लागि शुद्धिकरणको आवश्यकता पर्दछ । अब महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आलोक र दश वर्षको महान् जनयुद्धको राजनीतिक तथा सांस्कृतिक उपलब्धिहरूको जगमा टेकेर नयाँ संस्कृति निर्माणको दिशामा माओवादी क्रान्तिकारीहरू सशक्त ढङ्गले अगाडि बढ्न जरुरी छ । क्रान्तिको झण्डालाई, समाजवाद र महान् साम्यवादको झण्डालाई कदापी झुक्न नदिनका लागि दश वर्षको महान् जनयुद्धको जगमा टेकेर जनवादी सँस्कृतिको निर्माण गर्न आवश्यक छ ।

वैचारिक पक्षमा खेलेको भूमिका ः
तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित दश वर्षको जनयुद्धको सबभन्दा महत्वपूर्ण र निर्णयक कुरा यसको वैचारिक पक्ष हो । निश्चित विचार र राजनीतिद्वारा निर्देसित सशस्त्र सङ्घर्ष हुनाले नै यो दश वर्षमा यति तीव्र गतिमा विकास भएर नेपाली समाजलाई राजनीतिक आर्थिक, सांस्कृतिक हरेक क्षेत्रमा गुणात्मक ढङ्गले रूपान्तरण गर्न सफल भएको थियो । त्यसैले त राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूले सुरुदेखि नै जनयुद्धलाई आतङ्कवादको विल्ला भिराएर परास्त गर्नका लागि भागीरथ प्रयत्न गर्दा पनि उनीहरू त्यसमा सफल हुन नसक्नुको प्रमुख कारण पनि त्यही विचार नै थियो ।
माक्सवाद.–लेनिनवाद –माओवादको रूपमा परिचित यो सर्वहारावादी क्रान्तिको विज्ञानको आधारभूत तत्व दुनीयाँलाई बुझ्ने र बदल्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणलाई अङ्गालेकै कारण माओवादीले दश वर्षको जनयुद्धमा छलाङ मार्न सफल भएको हो ।  माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशन र पथप्रदर्शनमा नेपाली क्रान्तिका रणनीति र कार्यनीतिलाई निक्र्योल गरेर नेपालको विशिष्ठता र मौलिकतामा सशस्त्र जनयुद्ध सञ्चालन गरेको हुनाले यो २४० वर्षे शाह बंसीय सामन्ती राजतन्त्रलाई अन्त्य गर्न सफल भयो ।
तर, अहिले नेतृत्वमा वैचारिक समस्या देखिएको कारण दश वर्षको जनयुद्धबाट प्राप्त गरेका महान् उपलब्धिहरू गुम्दै गएका छन् । हरेक कुराको निर्धारण विचारले गर्ने भएकाले विचारमा गल्दै गए पछि र गलत कार्यदिशा आत्मासात् गर्न पुगे पछि ती चीजहरू पनि गुम्दै गएका छन् । यस विषयमा माओत्सेतुङले अगाडि भन्नु भएको छ, ‘विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ । त्यो बेला सबै चीज प्राप्त हुन्छन् । कार्यदिशा सही भएमा यदि अनुयायीहरू छैनन् भने ती पनि प्राप्त हुन्छन् । यदि बन्दुकहरू छैनन् भने ती पनि प्राप्त हुन्छन् । यदि राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन्छ, यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्दछन् । कार्यदिशा भनेको जालको डोरी हो जब यो तानिन्छ पूरै जाल खुल्दछ ।’ माओका यी भनाइहरू अत्यन्तै वैज्ञानिक छन् । र मनन् गर्न योग्य छन् । अहिले पार्टीभित्र क्रान्तिकारी माक्र्सवाद र दक्षिणपन्थी  संशोधनवादबीच भीषण दुइलाइन सङ्घर्ष चलिरहेको हुनाले पार्टीको मूल नेतृत्व वैचारिक रूपान्तरण हुन जरुरी छ । किन कि क्रान्तिकारी विचार विना क्रन्तिको नेतृत्व गर्न र क्रान्ति सम्पन्न गर्न असम्भव हुन्छ ।
राजनीतिक पक्षमा खेलेको भुमिका ः
माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धले विकास गरेको अर्को महत्वपूर्ण पक्ष क्रान्तिकारी विचारको आधारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विशिष्टता अनुरुप स्पष्ट राजनीतिक लक्ष्य, नारा र कार्यक्रम निर्धारण गरेर अघि बढन सक्नु नै रहेको थियो । त्यसबेला उसले तय गरेको राजनीतिक कार्यदिशाको मुख्य पक्ष विद्यमान नेपाली समाजलाई अर्धसामन्ती र अर्धअ‍ैपनिवेशिक चारित्रीकरण गरेर राष्ट्रियता र जनवादका दुइ पहलुलाई अन्तरसम्बन्धित ढङ्गले ग्रहण गर्दै पहिले पुँजीवादी जनवादी क्रन्ति सम्पन्न गर्नु र त्यसपछि क्रमशः समाजवादतर्फ सङ्क्रमण गर्नु रहेको थियो । माओवादीद्वारा सञ्चालित जनयुद्धले हमेसा जनताको राज्यसत्ता प्राप्तिको प्रश्नलाई केन्द्रमा राखेर समाजको समग्र राजनीतिक, आर्थिक समाजिक र सांस्कृतिक रूपान्तरणको सवाललाई उठाएको थियो । त्यसको निम्ति समाजका सबभन्दा उत्पीडित वर्गको विद्रोहलाई सङ्गठित गर्ने प्रयत्न गरेको थियो । साथै उसले पुँजीवादी जनवादी क्रान्ति एउटै झट्कामा पूरा हुने विषय नभएर विभिन्न घुम्ति र उपचरणहरू हुँदै पूरा हुने विषय भएकाले वर्गीय राजनीतिक सन्तुलनलाई ख्याल गर्दै संविधानसभा, लोकतान्त्रिक गणतन्त्र आदिको नारा र कार्यक्रम अघि सार्दै आयो  र १२ बुँद्धे समझदारीमार्फत संसदवादी दलहरूसँग कार्यगत एकता गर्दै राजतन्त्रलाई अन्त्य गर्न सफल भयो ।
फौजी पक्षमा खेलेको भुमिका
सेना नभएको जनतासँग आफ्नो भन्नु केही हँुदैन भन्ने माओवादी मान्यतालाई आत्मसात गरेर सुरुमा सामान्य लडाकु दल र सुरक्षा दलको रूपमा केही भरुवा बन्दुकहरू लिएर केही युवायुवतीहरूबाट सुरु भएको जनसेना निर्माणको अभियानले पछि सातवटा डिभिजनसम्म निर्माण गर्न सफल भयो । ती सेनालाई अत्याधुनिक हातहतियारहरूले लैस भएको जनमुक्ति सेनाको निर्माण गर्नु जनयुद्धको १० वर्षको सबभन्दा उल्लेखनीय पक्ष रहेको छ । त्यसमा पनि एक तिहाई भन्दा बढि महिलासहित नेपाली समाजका सबभन्दा उत्पीडित वर्ग, जाति, क्षेत्र र दलीतहरूको सहभागिता रहेको जनसेनाको निर्माणलाई आत्यन्तै ठूलो उपलब्धिको रुपमा लिन जरुरी हुन्छ ।
माओवादीद्वारा सञ्चालन गरेको जनयुद्धको सफलताको अर्को महत्वपूर्ण फौजी पक्ष माओले विकास गरेको दीर्घकालीन जनयुद्ध र परम्परागत सशस्त्र विद्रोहको फौजी रणनीतिलाई तत्कालीन विश्व परिस्थिति र नेपालको विशेषतामा संयोजन गरेर नयाँ फौजी रणनीतिको विकास गर्नमा निरन्तर जोड गरिरहनु अत्यन्तै उपलब्धि मूलक कदम थियो माओवादीको । यद्यपि अहिले पार्टीको मूल नेतृत्वले जनमुक्ति सेनालाई विधिवत् रूपमा विघटन गर्ने प्रक्रिया अधि मात्र बढाएको होईन कि कार्यान्वयन नै भइरहेको भए तापनि जनयुद्धको प्रक्रिया अन्तरगत जनमुक्ति सेनाको निर्माण गर्ने कार्य अत्यन्तै महत्वपूर्ण रहेको छ ।
पुरानोको ध्वंश र नयाँको निर्माण वस्तुको द्वन्द्ववादी प्रक्रियाका साश्वत नियम हुन् । वर्ग विभाजित समाज रहुन्जेल राज्यसत्ताको हकमा पनि यो नियम लागु हुन्छ । त्यस हिसाबले पनि नेपाली जनयुद्धको हकमा पनि थालनीको करिब डेढ वर्ष पछि अर्थात २०५४ सालको सुरुमा भएको पुरानो सत्ताको स्थानीय निर्वाचन बहिष्कारपश्चात देशका कतिपय भागहरूमा स्थानीय स्तरमा पुरानो सत्ता रिक्त हुने र त्यसको ठाउमा क्रमशः नयाँ जनसत्ता निर्माण हुने प्रक्रिया सुरु भएको थियो । खास गरि रोल्पा, रुकुम, जाजरकोट र सल्यान जिल्लाहरूमा यो प्रक्रिया बढि मुखरित भएको थियो ।
२०५५ को सुरुमा जनयुद्धलाई दवाउने नाममा पुरानो केन्द्रीय सत्ताले कथित किलोशेरा टु अप्रेशन र त्यस विरुद्धको सशक्त प्रतिरोध अभियान पछि पुरानो सत्ताको ध्वंस र नयाँ जनसत्ता निर्माणको प्रक्रिया तीव्र गतिले अगाडि बढेको थियो । त्यसै अवधिदेखि नै मूर्त कार्यभारको रूपमा अघि बढेको र जनसत्ता निर्माण र सञ्चालन सम्बन्धि ठोस नीति र कार्यक्रम ः तर्जुमा गरे पछि नयाँ जनसत्ताहरू ठोस ढङ्गले परिचालनमा आएका थिए ।
आफना आधार इलाकाहरूमा नयाँ जनसत्ताहरू परिचालनमा आइसके पछि ती नयाँ जनसत्ताहरूले जन अदालत खडा गरेर जनताको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक तथा विकास निर्माणका समस्याहरू हल गर्दै आएका थिए । लाखौ लाख नेपाली जनताहरूले नेपालको राजनीतिक इतिहासमा आफ्नै सत्ताको अभ्यास गर्ने अवसर प्राप्त गरेका थिए । नयाँ जनसत्ताहरू कसरी सञ्चालन गर्ने भन्ने शिक्षाहरू पनि नेपाली जनताहरूले यसै मार्फत प्राप्त गरेका थिए ।
साथै जनयुद्धद्वारा पुरानो राज्यसत्ता रिक्त गर्ने प्रक्रिया तीव्र रूपमा अगाडि बढे पछि मुलुकका अधिकांश जिल्लाहरूमा जिल्ला जनसरकारहरू निर्माण गरेर समान्तर सरकारको अभ्यास समेत सफलतापूर्वक भईरहेका थिए । माओवादीको त्यस कदमले पुरानो सत्तालाई निकै ठूलो धक्का दिएको थियो । दश वर्षको जनयुद्धमा स्थानीय नयाँ जनसत्ताको निर्माण र परिचालन तथा जिल्ला जनसरकारहरू निर्माण गरेर समान्तर सरकारको अभ्यास गर्ने राजनीतिक रूपमा सबैभन्दा ठूलो उपलब्धि थियो । यद्यपि शान्ति प्रक्रियामा भाइसकेपछि पार्टीको मूल नेतृत्वले आधार इलाकाहरू र स्थानीय नयाँ जनसत्ताहरू शान्ति सम्झौता गर्ने नाममा विधिवत् रूपमा विघटन गरिसकेका भए पनि नेपाली क्रान्ति सम्पन्न गर्ने कार्य बाँकी रहेको हुनाले ती सत्ताहरूबाट शिक्षा लिने कुरामा कुनै कमी आउने छैन ।
आधार इलाकाहरूको निर्माणमा खेलेको भूमिका ः
जनयुद्धको ऐतिहासिक थालनीको अढाई वर्ष पछि २०५५ सालमा माओवादी पार्टीले वर्ग सङ्घर्ष र वैचारिक सङ्घर्षका महत्वपूर्ण अनुभवअरुलाई सश्लेषण गर्दै मुख्य रूपमा नेपालको विशिष्टतामा आधार इलाकाको निर्माण गर्ने महत्वपूर्ण निर्णय गरेको थियो । खासगरि माओको देहान्तपश्चात विश्वका कतिपय देशहरूमा सञ्चालित जनयुद्धहरूमा छापामार इलाका र आधार इलाका सम्बन्धमा रहेको वैचारिक अस्पष्टता समेतले क्रान्तिको विकासमा वाधा प¥याएका मूल्याङ्कन गर्दै आधार इलाका वा स्थानीय वर्गीय सत्ताको निर्माणको प्रश्न नै दीर्घकालीन जनयुद्धको कुंजी प्रश्न रहेको किटान गरेर आफनो विशिष्ठता अनुरुप आधार इलाकाको निर्माण र त्यस निम्ति पार्टीको वैचारिक नेतृत्व जनसेनाको भौतिक शक्ति र क्रान्तिकारी जनदिशाको माध्यमले व्यापक जनआधारको निर्माणमा जोड दिने निर्णय गरिएपश्चात क्रान्तिकारी विचारको विकासमा उल्लेख्य कदम थियो त्यो माओवादीको । यो कदम माओको नेतृत्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको कालमा विकसित सर्वहारा अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्तलाई अझ विकसित गर्ने प्रश्नसँग सम्बन्धित थियो । त्यसपश्चात लाखौ जनता आधार इलाका निर्माण र त्यसको रक्षा र विकासको लागि कठिवद्ध भएर लाग्ने मौका पाएका थिए । त्यसले नेपाली समाजको रूपान्तरणमा कोसेढुङ्गाको काम गरेको थियो ।
जातीय र क्षेत्रीय प्रश्नमा खेलेको भूमिका
नेपालमा बहुजातीय राज्य युगौंदेखि कायम रहँदै आएको र क्षेत्रीय असमान्ता र विषमताले उत्तिकै ग्रसित भएको हुनाले उत्पीडित जाति र क्षेत्रहरूको पूर्ण मुक्तिको प्रत्याभूति गर्ने गरि राज्यको पुनर्संरचना नभएसम्म नयाँ जनवादी क्रान्ति पूरा हुन सक्दैन भन्ने माओवादीको मान्यता अनुसार जातीय र क्षेत्रीय प्रश्नलाई पार्टीले नयाँ जनवादी क्रान्तिको अभिन्न कार्य सुची मान्दै आएको थियो । दश वर्षको जनयुद्धको क्रममा पार्टीको जातीय, तथा क्षेत्रीय नीति सही र वैज्ञानिक भएकोले नै जनयुद्धले तीव्र गतिमा विकास गरेको थियो । माओवादी पार्टीको त्यही नीति अनुरुप नै अहिले राज्यको पुनर्संरचना गरि मुलुकलाई सङ्घीय गणतन्त्र राज्यव्यवस्थापनमा रूपान्तरण गर्ने सवालमा ठूलो बहस चलिरहेको छ । राज्यको पुनर्संरचना गरि जातीय तथा क्षेत्रीय आत्मानिर्णयको अधिकार र स्वायत्त गणराज्यहरूको निर्माण गरेर मात्र नयाँ नेपालको निर्माणको सपना पूरा हुने भएकोले यसमा देशी विदेशी प्रतिक्रियावादीहरूबाट षड्यन्त्र भएमा जनताले विद्रोह गर्ने वातावरण निर्माण भइरहेको छ । नेपाली समाजको रूपान्तरणमा र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान् अभियानमा यसले महत्वपूर्ण भुमिका खेलेको कुरा निश्चित छ ।
जनकम्युन निर्माणमा खेलेको भुमिका ः
दश वर्षे जनयुद्धको क्रममा माओवादी पार्टीले आफनो बलिया आधार इलाका निर्माण गरेका थिए । ती आधार इलाकाहरूमा सामुहिक खेती प्रणाली सुरु गर्दै जनकम्युनको निर्माण समेत गरेका थिए । पार्टी र यसका नेताहरूलाई समेत सर्वहाराकरण गरेर जनताको जनवादी अधिनायकत्वको सिर्जना गर्ने अभ्यास गरेर एउटा उल्लेखनीय नमुना प्रस्तुत गरेको थियो । तर, अहिले ती जनकम्युनहरू पनि विघटित अवस्थामा छन् । पार्टीभित्र धनाढ्य वर्गको जन्म भएको छ । पार्टीका एक थरि नेताहरू आफना भवी सन्तानहरूको भविष्य सुनिश्चित गरि दिने धन्दामा तल्लिन छन् र अकुत सम्पति आर्जन गर्ने कार्यमा तीव्र गतिका साथ अधि बढिरहेका छन् । यो कुरुप तथा पाखण्डी सामान्ती तथा पुँजीवादी संस्कृतिको उपज मात्र हो । जसले अहिले पार्टीभित्र एउटा कुलिन वर्गलाई जन्माएको छ र हुर्काइरहेको छ । क्रान्तिकारी रूपान्तरण गरेर मात्र नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माण गरेर मात्र यसलाई निस्तेज पार्न सम्भव हुनेछ । यसको प्रमुख कारक तत्व पार्टीको मुख्य नेतृत्वमा क्रान्तिकारी रूपान्तरण नभएसम्म यो अवस्था कायमै रहने छ ।
उपसंहार
तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालन गरिएको जनयुद्धले १६ वर्ष पूरा गरेर आजैबाट १७ वर्षमा प्रवेश गरेको छ । माओवादीद्वारा सञ्चालित जनयुद्ध उथलपुथलकारी राजनीतिक घटना र नेपाली समाजको आमूल परिवर्तन गर्ने युगान्तरकारी अभियान थियो । यसले सामन्ती राजतन्त्रलाई अन्त्य गर्ने काम मात्र गरेन कि नेपालको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्किृतिक क्षेत्रमा समेत पुरानो ढाँचा र संरचनालाई ध्वस्त पारेर नयाँ ढाँचा र संरचना निर्माण गर्ने ठाउँमा पु¥याइदिएको छ । नेपाली समाजको चेतना पनि धेरै विकास हुन पुगेको छ । यो समिक्षा इतिहासले गर्ने नै छ । यो सब दश बर्से जनयुद्धकै परिणाम र उपज हो । अहिले मुलुकभित्र राज्यको पुनर्संरचना गरि जनताको सङ्घीय गणतन्त्रात्मक नेपाल निर्माण गर्ने सवालमा महान् बहस चालिरहेको छ । यस बहसलाई असफल बनाउनको लागि देशी विदेशी प्रतिक्रियावादीहरू, प्रतिक्रान्तिकारी र संशोधनवादीहरू जोडतोडले लागिरहेका छन् । तर, जनताको बलको सामु उनीहरूको हर्कतहरू निकम्मा सावित हुने निश्चित छ । यदि उनीहरूबाट त्यो पहल भएमा जनताको जनविद्रोहको विस्फोट हुने कुरा निश्चित छ । त्यसलाई दुनियाँको कुनै पनि ताकतले रोक्न सक्ने छैन । त्यसले नेपाली क्रान्तिलाई विजयमा पु¥याउने छ ।

No comments:

Post a Comment