Wednesday, March 20, 2013

नेपाली क्रान्तिका महान्् सम्भावना र गम्भीर चुनौतीहरू



‘हामीले आफ्ना आदर्श र सपना मर्न दिनुहुँदैन । नेपालमा मात्र होइन, विश्वमा समेत महान्् साम्यवादको उदात्त आदर्शलाई प्राप्त गर्ने र क्रान्तिको सपनालाई साकार तुल्याउने दिशातिर हामीले दृढ पाइला चाल्नै पर्छ । क्रान्तिको झन्डालाई कुनै पनि हालतमा झुक्न दिनुहँुदैन र त्यसलाई विजयको दिशातिर अगाडि बढाउनुपर्छ ।’ (१) – मोहन वैद्य ‘किरण’

१. विषय प्रवेश
नेपाल अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट गुज्रिरहेको छ । नयाँ जनवादी क्रान्तिले मात्र यस अवस्थालाई अन्त्य गरेर जनगणतन्त्रको स्थापना गर्नेछ । २००६ साल बैशाख १० गते अर्थात् सन् १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । त्यस पश्चात नयाँ नेपाली जनवादी क्रान्तिको सुरुआत भएको हो । नेपालमा नयाँ जनवादी क्रान्तिको सुरुआत भएको पनि ६२ वर्ष पुरा भइसकेको छ तर क्रान्ति सम्पन्न भएको छैन । नेपालको जनवादी आन्दोलन यहाँसम्म आइपुग्दा राजतन्त्रको अन्त्य भएको छ र लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नेपाली क्रान्तिको महान्् अभियानमा यो एउटा ऐतिहासिक उपलब्धि हो । यो कोणबाट हेर्दा आधा उपलब्धि प्राप्त भएको छ । हामीले गर्ने क्रान्ति पुँजीवादी क्रान्ति हो । यो पुरानोखाले नभएर नयाँखाले पुँजीवादी क्रान्ति, जसलाई नयाँ जनवादी क्रान्ति भन्छौँ । नयाँ जनवादी क्रान्तिको नेतृत्व मजदुर, किसानको एकताको आधारमा सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ । नेपाली सर्वहारावर्गको अग्रदस्ता एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी नेपाली नयाँ जनवादी क्रान्तिको निर्णायक र नेतृत्वदायी शक्ति हो । यो पार्टीले महान्् दस बर्से सशस्त्र जनयुद्ध सफलतापूर्वक सम्पन्न गरेर दक्षिणपन्थी, यथास्थितिवादी र संशोधनवादी शक्तिहरू अर्थात् संसदवादी राजनीतिक शक्तिहरूसँग सहकार्य गर्दै राजतन्त्रलाई अन्त्य गरेर शान्ति प्रक्रियाको माध्यमबाट राज्यको पुनर्संरचना गर्ने, सदीयौँदेखि कायम रहँदै आएको एकात्मक तथा एकीकृत शासन प्रणालीको अन्त्य गरेर स्वायत्त गणराजय सहितको जनताको सङ्घीय गणतन्त्रात्मक राज्यव्यवस्था स्थापना गर्ने र जातीय लिङ्गीय, वर्गीय र क्षेत्रीय विभेदहरूलाई अन्त्य गर्दै समानुपातिक एवम् समावेशी निर्वाचन प्रणाली कायम गरेर समानतामूलक नेपाली समाजको निर्माण गर्ने र जातीय, क्षेत्रीय, वर्गीय, लिङ्गीय दृष्टिकोणले पछाडि पारिँदै आएका सीमान्तकृत एवम् पहुँचविहीन समुदायलाई राज्यको माथिल्लो निकायमा पु¥याउने र जनतालाई सार्वभौमसत्ता सम्पन्न तुल्याउँदै नेपाली जनतालाई देशको वास्तविक मालिक बनाउनका निम्ति जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण गरेर अर्थात् सामन्तवाद–साम्राज्यवाद विरोधी सारतत्व बोकेको नयाँ जनसंविधान निर्माण गरेर नयाँ जनवादी क्रान्ति पुरा गर्ने मोडमा यतिबेला एकीकृत माओवादी पार्टी आइपुगेको छ र पार्टीको यो कार्यदिशालाई पुरा गर्न दिइएन र देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूबाट षड्यन्त्र गरिएमा जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने निर्णायक विन्दुमा माओवादी पार्टी आइपुगेको छ । अहिले हामी नेपाली नयाँ जनवादी क्रान्तिको अन्तिम चरणमा छौँ । जनताको चेतनास्तर हेर्दा पनि त्यो प्रस्ट हुन्छ । क्रान्तिविना नेपाली जनता र नेपाल राष्ट्रको कुनै भविष्य छैन । अब पार्टीले अन्तिम क्रान्तिको तयारी गर्नुको विकल्प छैन ।

२. नेपाल कम्युनिस्ट पार्टीको जन्म
नेपाल कम्युनिस्ट पार्टीको स्थापना विसं २००६ साल बैशाख १० गते अर्थात् सन् १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तामा भएको हो । पुष्पलाल श्रेष्ठ, रामविलास जोशी, निरञ्जन गोविन्द वैद्य र नरबहादुर कर्माचार्य गरी चारजना युवाहरूले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । स्थापनाकालदेखि नै नेकपाले क्रान्तिको चरित्र नयाँ जनवादी क्रान्ति नै निर्धारण गरेको थियो । अर्धसामन्ती र अर्धऔपनिवेसिक भएको नेपाली समाजको वर्ग विश्लेषण गरेको थियो । स्थापनासँगै नेकपाले सामन्तवाद र साम्राज्यवादलाई उन्मूलन गरी जनताको जनवादी व्यवस्था स्थापना गर्ने निश्चित रणनीति र कार्यनीति निक्र्योल गरेको थियो र क्रान्तिको न्यूनतम लक्ष्य जनताको जनवादी व्यवस्था र अन्तिम लक्ष्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने राखेको थियो । नेपाली क्रान्तिका लक्ष्य उद्देश्यहरू नेकपाले स्थापनाकालमै स्पस्टताका साथ राखेको थियो ।

३. दक्षिणपन्थी अवसरवादी धाराको प्रवेश
नेपाल कम्युनिस्ट पार्टीको शैशवकालमै दक्षिणपन्थी अवसरवादी धाराले प्रवेश गर्ने मौका पायो । विसं २००८ सालको असोज कार्तिकमा भारतको कलकत्तामा नेकपाको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न भयो । संस्थापक महासचिव कमरेड पुष्पलाललाई नै महासचिवमा यथावत् राखियो । पुष्पलाल गरमपन्थीका रूपमा अर्थात् क्रान्तिकारीका रूपमा परिचित थिए भने मनमोहन अधिकारी नरमपन्थीका रूपमा पार्टीभित्र परिचित थिए । २००८ सालमै पुष्पलाललाई महासचिव पदबाट अपदस्त गरेर भारतीय कम्युनिस्ट पार्टीको प्रभावमा रहेका मनमोहन अधिकारीलाई महासचिव पदमा आसीन गराइयो । त्यसबेला भाकपाको विभाजन भयो । तदनुरूप भाकपाको प्रभावकै कारण पुष्पलाललाई अपदस्त गरेर मनमोहन अधिकारीलाई नेकपाको महासचिव पदमा आसीन गराइएको थियो ।
२०१० सालमा पाटनमा भूमिगत रूपमा नेकपाको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भयो र राजावादीका रूपमा परिचित मनमोहन अधिकारी महासचिव पदमा चुनिए । त्यस्तै २०१२ साल कार्तिक २१–२७ सम्म काठमाण्डौमा भूमिगत रूपमा नेकपाको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यस सम्मेलनले पनि मनमोहन अधिकारीलाई महासचिवमा तोक्यो । दक्षिणपन्थी संशोधनवादका हिमायती मनमोहन अधिकारीको नेतृत्वको निरन्तरता जारी रह्यो ।
नेकपाको प्रथम राष्ट्रिय महाधिवेशन २०१० पश्चात खास गरी पार्टी नेतृत्वमा मनमोहन अधिकारीको उदय भएपछिको कालखण्डमा नेकपाले क्रमशः संवैधानिक सीमाभित्रको समाजवादी बाटो अवलम्बन गर्न थालेर ख्रुश्चोभी संशोधनवादलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्र भित्र्याइएको देखापर्दछ भने डा. केशवजङ्ग रायमाझीले यसलाई अझ विकसित पारेको देखिन्छ । मनमोहन अधिकारी खुल्लापनाको संवैधानिक राजतन्त्रवादी थिए भने रायमाझी एउटा चरम अवसरवादी र षड्यन्त्रकारी व्यक्ति थिए । पछि रायमाझीको राजदरबारसागको सम्बन्ध अत्यन्तै गाडा बन्दै गयो र उनले एउटा लामो अवधिसम्म शाही प्यादाको रूपमा राजतन्त्रको सेवा गरी नेपाली कम्युनिस्ट आन्दोलनको एउटा हिस्सा र कालखण्डलाई बदनाम तुल्याउन सक्षम रहे ।
२००८ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसबेला नेकपाका महासचिव मनमोहन अधिकारी थिए । पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउनका लागि पार्टी नेतृत्व सरकारसँग जस्तोसुकै कबुलियतनामा गर्न र लचिलो हुन पनि तयार भयो र तदनुरूप सरकारका सर्तहरू स्वीकार गर्न हुने भयो । यसैक्रममा २०१३ साल बैशाख ३ गतेको पार्टी महासचिव मनमोहन अधिकारीद्वारा प्रेस विज्ञप्ति प्रकाशनमा आयो जसमा पार्टीले स्पष्टतः संवैधानिक राजतन्त्र, शान्तिपूर्ण तथा वैधानिक तवरबाट समाजवादी समाज स्थापना पार्टीको उद्देश्य रहेको स्वीकार गर्दै राजालाई संवैधानिक प्रमुख मान्ने सहमति जाहेर ग¥यो । फलतः २०१३ साल बैशाख ४ गतेबाट पार्टीमाथि लगाउँदै आएको प्रतिबन्ध फुकाउन तत्कालीन प्रजापरिषद्को सरकार सहमत भयो ।(२) तसर्थ, २०१३ साल बैशाख ४ गतेदेखि नेकपा विधिवत् रूपमा दक्षिणपन्थी संशोधनवादमा चुर्लुम्म डुब्यो ।
२०१३ साल जेठको दोस्रो हप्ता पार्टीमाथिको प्रतिबन्ध हटेपछिको पहिलो बैठक खुला रूपमा काठमाण्डौमा बस्यो । उक्त पार्टी बैठकमा केन्द्रीय समितिका अधिकांश सदस्यहरूले पार्टीमाथिको प्रतिबन्ध फुकाउने सन्दर्भमा पोलिटब्युरोद्वारा जारी प्रेस विज्ञप्ति विरुद्ध कडा रोष तथा प्रतिक्रिया जाहेर गरे । साथै बैठकले बहुमतले उक्त विज्ञप्तिलाई अस्वीकार गर्ने निर्णय लियो ।
२०१४ साल जेठ १४ मा नेपाल कम्युनिस्ट पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । केशरजङ्ग रायमाझीलाई महासचिव चुन्यो । उनले पार्टीलाई योजनावद्ध रूपमा राजतन्त्रपरस्त दिशातिर धकेल्न थाले । महाधिवेशनले त संवैधानिक राजतन्त्रवादी धारालाई अस्वीकार गरी गणतन्त्रको नारा पारित ग¥यो तर नेतृत्वमा भने राजावादी रायमाझी डफ्फाकै बहुमत निर्वाचित भएकाले उक्त गणतान्त्रिक लाइन त्यसै सेलाएर गयो । डा. रायमाझी क्रमशः शाही एजेन्डाका रूपमा पतन हुन पुग्यो र सिङ्गो पार्टीलाई गुमराहमा पारी पार्टीलाई तहसनहस पार्नमा सफल भयो । त्यसको पराकाष्ठा २०१७ साल पुस १ गतेको शाहीकाण्ड थियो तथापि रायमाझीको पतन पश्चात पनि पार्टीभित्र जनगणतन्त्रवादी धाराको अन्त्य नै भने भएन, त्यो कुनै न कुनै रूपमा कायम रह्यो ।
यो इतिहासको दुःखद् परिघटना यहाँ किन उजागर गर्न खोजिएको हो भने २०१३ साल बैशाख ३ गतेदेखि नेपाल कम्युनिस्ट पार्टीभित्र दक्षिणपन्थी संशोधनवादले सस्थांगत रूपले प्रवेश पाएको थियो । त्यसको प्रभाव अहिलेसम्म पनि नेपाली कम्युनिस्ट आन्दोलनभित्र तुफानी आँधीका साथ चलिरहेको छ भन्ने यथार्थलाई जनसमक्ष प्रस्ट रूपमा पुगोस् भन्ने नै हो ।

४. पार्टी फुटको सुरुआत
२०१९ सालमा नेकपाको तेस्रो महाधिवेशन सम्पन्न भयो । उक्त महाधिवेशनले दरबारपरस्त गद्दार रायमाझीलाई कार्बाही गरेर पार्टीबाट निष्काशन गर्न त सफल भयो तर त्यस महाधिवेशनले सही क्रान्तिकारी नीति, कार्यक्रम र कार्यदिशा पारित गर्न सकेन र त्यसपछि बनेको विचारविनाको नेतृत्वले सही नेतृत्व प्रदान गर्न सक्ने प्रश्नै भएन । परिणामतः २०२०÷०२२ तीरबाट नेतृत्वविहीन अवस्थामा पुगेर पार्टी फुट विभाजनको सिकार बन्न पुग्यो र विभिन्न गुट उपगुटहरूमा विभाजित भएर छरपस्ट हुन पुग्यो । यो इतिहासको ज्यादै दुःखद् र विडम्बनापूर्ण घटना थियो जो सच्चा क्रान्तिकारीहरूले कहिल्यै नभुल्ने र पाठ सिकिरहनुपर्ने घटना थियो त्यो । पार्टीले सही तथा क्रान्तिकारी विचारलाई गुमाउन परेपछि त्यो त्रासदीपूर्ण घटना बेहोर्नुपरेको पार्टीले सही कार्यदिशा निक्र्योल गर्न नसकेकै कारण पार्टी र आन्दोलनले त्यस हविगत बेर्होन बाध्य हुनुपरेको हो । कार्यदिशाको महत्वमाथि प्रकाश पार्दै माओत्सेतुङ् भन्नुहुन्छ – “विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ, त्यो बेला सबै चीज प्राप्त हुन्छन् । यदि अनुयायीहरू छैनन् भने पनि ती प्राप्त हुन सक्छन् । यदि बन्दुकहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छ । यदि राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन सक्छन् । यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो । जब यो तानिन्छ, पुरै जाल खुल्दछ ।”(३) माओले भन्नुभएको यो भनाइ वैज्ञानिक छ । गलत कार्यदिशा अवलम्बन गरेकै कारण नेपाल कम्यसनिस्ट पार्टी फुटको सिकार मात्र हुनुपरेन, आफ्ना सबै उपलब्धिहरू गुमाउन बाध्य भयो ।
२०२५ सालमा पुष्पलालले भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरेर नेकपालाई पुनः एकीकृत पार्ने प्रयास गर्नुभयो तर असफल हुनुभएन । नयाँ जनवादी कार्यक्रमको कार्यदिशा तय गर्न भने पुष्पलाल सफल हुनुभएको थियो ।

५. विद्रोहको सुरुआत
तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते सैनिक ‘कु’ गरेपछि कम्युनिस्ट पार्टीका थुप्रै नेता, कार्यकर्ताहरू जेल परेका थिए । पार्टी भूमिगत हुन वाध्य भएको थियो । २०२७ सालमा जेलमुक्त भए पश्चात नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत पार्ने उद्देश्यले मोहनविक्रम सिंहले केन्द्रीय न्युक्लियस गठन गरे । आन्दोलनभित्र फुटका कारण उत्पन्न निरासा, कुण्ठा, आक्रोस, अनुशासनहीनता र उच्छृङ्खलता पैदा भइरहेकै अवस्थामा २०२८ साल जेठ २ गते झापा विद्रोह विष्फोट भयो । सामन्तवाद र साम्राज्यवादका विरुद्ध नेपाली सर्वहारावर्गले पहिलो पटक हतियार उठाएको घटना भएकाले झापा विद्रोह नेपाली कम्युनिस्ट आन्दोलनका निम्ति ऐतिहासिक घटना थियो । यसले नेपाली कम्युनिस्ट आन्दोलनभित्र गौरवशाली इतिहास निर्माण गरेको थियो । झापा विद्रोहले सुस्ताइरहेका र मुर्झाइरहेका कम्युनिस्ट क्रान्तिकारीहरूलाई ब्युँताउने र जगाउने काम गरेको थियो र क्रान्तिकारी कम्युनिस्टहरूलाई क्रान्तिकारी ऊर्जा थप्ने काम गरेको थियो तर झापाली विद्रोहीहरूले दीर्घकालीन योजना र तयारीविना ठोस कार्यक्रम, कार्यदिशाविना हतारमा विद्रोहको सुरुआत गरेको र पञ्चायती तानाशाही व्यवस्थाले झापा विद्रोहमाथि भीषण र निर्मम दमनचक्र चलाएकै कारण आन्दोलन अगाडि बढ्न सकेन । झापा विद्रोहले नेपाली कम्युनिस्ट आन्दोलनभित्र अदम्य साहस, वीरता, बलिदानीपूर्ण भावना र ठूलो त्यागको अनुपम, कीर्तिमान कायम गर्न सफल भएको थियो । पछिका पिंढीका लागि यो प्रेरणाको स्रोत चाहिँ बनिरह्यो ।

६. पुनर्गठन र धु्रबीकरणको सुरुआत
ऐतिहासिक झापा विद्रोहले सुस्ताइरहेका र मुर्झाइरहेका कम्युनिस्ट क्रान्तिकारीहरूलाई ब्यँुताउने काम मात्र गरेन, गठन पुनर्गठन गरेर नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने प्रेरणा पनि प्रदान ग¥यो । एकातिर २०३१ सालमा भारतको अयोध्यामा चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गरी मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा चौथो महाधिवेशन‘चौम’को गठन गरे । नेपाली कम्युनिस्ट आन्दोलनभित्र पुनर्गठन र धु्रुवीकरणको यात्रा सुरु भयो । अर्कोतिर झापा विद्रोहबाट अघि बढेका क्रान्तिकारीहरूले २०३२ साल जेठ २४–२५ मा पूर्वी नेपालको विराटनगर – १६ मा गुप्त रूपमा भेला भै अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को अर्डिनेसन कमिटी कोके (माले)को गठन गरे । यस कदमले पनि क्रान्तिकारीहरूलाई एकतावद्ध भएर अगाडि बढ्ने प्रेरणा पैदा ग¥यो । २०३३ सालमा अखिल नेपाल किसान सङ्घ र २०३४ सालमा पुष्पलाल समूहबाट अलग भएको मुक्ति मोर्चा समूह पनि कोअर्डिनेसन कमिटी(माले)मा सामेल भयो र २०३५ साल पुस ११ गते माओजयन्तीको अवसर पारेर नेकपा(माले)को पुनर्गठन हुन पुग्यो ।
तर ऐतिहासिक झापा विद्रोहको जगमा टेकेर पुनर्गठन हुन सफल भएको नेकपा(माले)ले क्रान्तिकारी बाटो पकड्नुको सट्टा झापा विद्रोहलाई उग्रवामपन्थीको संज्ञा दिँदै त्यसलाई सच्याउने नाममा दक्षिणपन्थी बाटो पकड्न पुग्यो । माले समूहले २०३७ सालमा झापा विद्रोहमा प्रयोग गरिएका हतियारहरू कोशी नदीमा बगाएर नष्ट गर्ने निर्णय गरेर आधिकारिक रूपमा दक्षिणपन्थी संशोधनवादी यात्रा तय ग¥यो । माले समूहले २०३८ सालमा महान्् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिलाई उग्रवामपन्थी भडकावको संज्ञा दिंदै त्यसलाई अस्वीकार गर्ने निर्णय ग¥यो । त्यसैलाई निरन्तरता दिनेक्रममा २०४३ सालमा पञ्चायती चुनावमा भाग लिएर, पार्टीलाई पञ्चायतीकरण गर्ने अभ्यास ग¥यो । २०४४ सालमा माओत्सेतुङ विचारधारालाई मार्गदर्शन सिद्धान्तबाट झिक्ने र अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा गर्ने निहँुमा चीन, रुस, उत्तर कोरिया, भियतनाम लगायत पूर्वी युरोपमा भएका प्रतिक्रान्तिलाई अस्वीकार गर्दै सबै मुलुकहरूमा समाजवाद नै कायम भएको ठोकुवा गर्दै ख्रुश्चोभी नवसंशोधनवादलाई आत्मसात गर्न पुग्यो । दक्षिणपन्थी यात्रामा दुगुर्ने क्रममा मालेले २०४६ भाद्रमा सम्पन्न पार्टीको चौथो महाधिवेशनबाट नयाँ जनवादी कार्यक्रममा बहुदलीयता भन्ने शब्दावली थपेर ‘वर्ग समन्वय’को बाटो तय गरेर नेपाली कम्युनिस्ट आनदोलनभित्र आफ्नो निकृष्ट र कुरूप अनुहार प्रदर्शन गर्न सफल भयो । त्यसैक्रममा मालेले २०४६ सालको जनआन्दोलनलाई काङ्ग्रेसको पुच्छर बन्दै राजतन्त्रसँग सम्झौता गरेर आन्दोलनलाई तुहाउन पुग्यो । अन्तरिम प्रतिक्रियावादी सरकारमा सामेल मात्र भएन, २०४६ को प्रतिक्रियावादी संविधानलाई स्वीकार्न समेत पुग्यो ।
पार्टीलाई ठूलो र विशाल बनाउने नाममा मालेले विजातीय तत्वहरूलाई समेत पार्टीभित्र हुल्दै पार्टी एकताको प्रक्रियालाई अघि बढाउँदै लग्यो र पार्टीलाई नै विजातीयकरण गर्ने क्रममा २०४७ साल पुस २२ गते नेकपा माक्र्सवादीसँग पमर्टी एकता गरेर नेकपा एमालेमा परिणत भयो । २०४५ माघमा सम्पन्न पाँचौँ महाधिवेशनबाट बहुलवादमा आधारित “जनताको बहुदलीय जनवाद” नामको आधुनिक ख्रुश्चोभी संशोधनवादलाई पारित गरेर नेपाली कम्युनिस्ट आनदोलनभित्र संस्थागत रूपमा प्रवेश गराएर माक्र्सवाद–लेनिनवाद र नेपाली क्रान्तिप्रति गद्दारी गर्दै पार्टीलाई सैद्धान्तिक रूपमा बन्ध्याकरण गर्दै लग्यो ।
मालेबाट एमालेमा परिणत भइसकेपछि २०५१ सालमा मध्यावधि निर्वाचनको प्रक्रियाबाट प्रतिक्रियावादी सरकारमा पुगेको एमालेले २०५३ साल असोज ४ गते राष्ट्रघाती महाकाली सन्धिमा हस्ताक्षर गरेर आत्मसमर्पणवादी बाटो पकडेर भारतीय विस्तारवादको दलाल पार्टीको रूपमा परिणत भयो । पार्टीभित्र विकृति, विसङ्गतिलाई भित्र्याएर मात्र नपुगेर पजेरो–प्राडो तथा महल संस्कृतिलाई बढवा गराउँदै लग्यो र दरबारियाहरू, काङ्ग्रेस र आधा प्रतिगमन सच्चियो भन्दै निरङ्कुश राजा ज्ञानेन्द्रको सरकारमा समेत संलग्न हुन पुग्यो र दसबर्से जनयुद्धको बेला देशी विदेशी प्रतिक्रियावादीहरूसँग मिलेर क्रान्तिकारीहरूलाई दमन गर्न सहयोगीको भूमिका खेल्नसमेत पछाडि परेन तर उसले आफुलाई क्रान्तिकारी भन्न भने छाडेन । एमाले यसरी दक्षिणपन्थी संशोधनवादमा पतन हुन पुग्यो ।

७. क्रान्तिकारी धाराको गुणात्मक विकास
चौथो महाधिवेशन हुँदै नेकपा(मशाल)को रूपमा सङ्गठित हुन पुग्नेक्रममा २०४६ सालको जनआन्दोलनमा निरङ्कुश राजतन्त्रलाई बलियो धक्का दिएर नेपाली कम्युनिस्ट आन्दोलनमा स्थापित हुन पुगेको मशाल समूह नेकपा एकता केन्द्रमा रूपान्तरण भयो र २०४८ मा पुगेर एकता महाधिवेशनबाट सशस्त्र जनयुद्धहरूको कार्यदिशा तय गरेर नेपाली कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी धाराको रूपमा गुणात्मक रूपले विकास गर्न पुग्यो र २०५१ सालमा पार्टीलाई नेकपा(माओवादी)मा रूपान्तरण गरेर माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अँगाल्दै २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्धको थालनी गर्न पुग्यो । सामन्तवाद–साम्राज्यवादको शोषण र शासनलाई अन्त्य गरेर जनताको जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको जनयुद्ध छोटै अवधिमा जनताको ठूलो हिस्साको समर्थन प्राप्त गर्न सफल भयो । वैचारिक सङ्घर्ष र वर्गसङ्घर्षलाई सफलतापूर्वक हल गर्दै महान्् दस बर्से जनयुद्धको माध्यमबाट नेपालमा मात्र होइन, विश्व रङ्गमञ्चमै आफ्नो गौरवशाली इतिहास निर्माण गर्न सफल भयो र नेपाली क्रान्तिका आधारहरू तयार पार्न सफल भयो । जनमुक्ति सेनाको निर्माण र परिचालन, आधार इलाकाहरूको निर्माण, जनअदालतको गठन, स्थानीय जनसरकारहरूको गठन र परिचालन गरी जनकम्युनहरूको समेत निर्माण गरेर जनवादी राज्यको सञ्चालनको अभ्यास समेत गर्न पुगेर माओवादीले जनयुद्धलाई सफलतापूर्वक अगाडि बढाउन सफल भयो र जनयुद्ध त्याग, बलिदान, योगदान र शौर्यले भरिपूर्ण नयाँ संसार रचना गर्ने साधनको रूपमा सावित हुन पुग्यो । राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थितिको वैज्ञानिक संश्लेषण गरेर २०६२ असोजमा सम्पन्न चुनवाङ बैठकबाट राजतन्त्रको अन्त्यको लागि संसदवादी दलहरूसँग सहकार्य गरेर अघि बढ्ने दृष्टिकोणले लोकतान्त्रिक गणतन्त्रको नारा पारित ग¥यो र २०६२ मङ्सिर ७ गते सात संसदवादी दलहरूसँग १२ बुँदे समझदारी कायम गरेर वैचारिक रूपमै मुलुकको मूलधारको रूपमा स्थापित हुन पुग्यो ।
१२ बुँदे समझदारी जगमा टेकेर नै १९ दिने ऐतिहासिक जनआन्दोलन सफल भयो र त्यसकै आधारमा २०६३ मङ्सिर ५ गते नेपाल सरकार र माओवादी बृहत् एवम् ऐतिहासिक शान्ति सम्झौता सम्पन्न भयो । २०६३ माघ १ गते पुरानो संविधान खारेज गरेर नयाँ अन्तरिम संविधान जारी भयो । पुरानो संसदलाई विघटन गरेर माओवादीको सहभागिता अन्तरिम व्यवस्थापिका संसदको गठन भयो । २०६३ चैत १८ गते माओवादीको संलग्नतामा अन्तरिम सरकार गठन हुन पुग्यो । यसरी आतङ्ककारीको बिल्ला भिराइएको माओवादी पार्टी नयाँ विचार र योजनासहित नेपाल राष्ट्र र नेपाली जनताको नेतृत्व प्रदान गर्न तहमा गुणात्मक रूपमा फड्को मार्न पुग्यो ।

८. माओवादीद्वारा युगान्तकारी कदम
एकीकृत नेकपा माओवादी नेपालको राजनीतिक इतिहासमा युगान्तकारी कदम उठाउँदै नेपाली समाजलाई रूपान्तरण गर्दै अघि बढिरहेको छ । जनयुद्वको थालनी गर्नु, युद्धकालीन अवस्थाबाट सिफ्ट भएर शान्ति प्रक्रियामा प्रवेश गर्नु, संसदवादी दलहरूलाई १२ बुँदे समझदारीमा एकताबद्ध गरे १९ दिने जनआन्दोलनमा होम्नु, पुरानो संविधान र व्यवस्थालाई खारेज गरेर नयाँ व्यवस्थाको सूत्रपात गर्नु, ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न गरेर संविधानसभाबाटै शान्तिपूर्ण रूपले २४० बर्से शाहवंशीय सामन्ती राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको घोषणा गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको निर्माण गर्ने ऐतिहासिक जनसंविधान निर्माण गर्ने तहसम्म राजतन्त्रसँग सहकार्य गर्दै आएका दक्षिणपन्थी, यथास्थितिवादी, संशोधनवादी काङ्ग्रेस, एमाले लगायतका पार्टीहरूलाई संविधानसभा र गणतन्त्रको पक्षमा ल्याएर नयाँ नेपाल निर्माणको खाका कोर्न सफल हुनु, माओवादीको युगान्तकारी कदमका परिणाम हुन् । माओवादीले बन्दुक नउठाएको भए र संविधानसभाको निर्वाचन सम्पन्न गर्ने तहसम्म मुलुकलाई नपु¥याएको भए, त्यही समयमा राजतन्त्रको अन्त्य हुन सम्भव थिएन र मुलुकले नयाँ युगमा प्रवेश गर्न पनि सम्भव थिएन ।

९. माओवादीबाट वैचारिक–राजनीतिक नेतृत्व
आज नेपाली कम्युनिस्ट आन्दोलनले ६२ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका अनेकौँ जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्तीहरू रहेका छन् यद्यपि यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौँ समूह उपसमूहहरूमा विभाजित अवश्यै रह्यो । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आयो । आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी, संशोधनवादी–सुधारवादी धाराले आफुलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एवम् आधुनिक संशोधनवादी धारामा गुणात्मक रूपमा फड्को हान्न पुग्यो र यसको विपरीत नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा आज माक्र्सवादी–लेनिनवादी–माओवादीका रूपमा गुणात्मक ढङ्गले विकसित हुँदै महान्् दस बर्से सशस्त्र जनयुद्ध र जनआन्दोलनलाई फ्युजन गरेर शान्ति प्रक्रियामा सामेल हुँदै संविधानसभा मार्फत २४० बर्से शाहवंशीय सामन्ती राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको घोषणा गर्ने स्तरमा गुणात्मक रूपले फड्को मारेर अहिले जनताको सङ्घीय गणतन्त्रात्मक जनसंविधान अर्थात् सामन्तवाद–साम्राज्यवाद विरोधी सारत्व बोकेको नयाँ संविधान निर्माण गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने अन्तिम चरणमा पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको यस द्वन्द्ववादलाई हामी क्रान्तिकारीहरूले अत्यधिक गहिराइका साथ हृदयङ्गम गर्न जरुरी छ ।

१०. देशी विदेशी प्रतिक्रियाद्वारा माओवादीलाई घेराबन्दी
एकीकृत नेकपा(माओवादी) नेपाली सर्वहारावर्गको अग्रसरता हो । यो नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति भएको र यसले नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्ने लक्ष्य राखेकोले यो क्रान्तिकारी पार्टी हो । यो क्रान्तिकारी र नेपाली सर्वहारावर्गको अग्रदस्ता भएको नाताले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले चारैतिरबाट यसलाई घेराबन्दी गर्नु नौलो विषय होइन । दस बर्से जनयुद्ध बेलामा पनि माओवादीलाई समाप्त पार्न यो शक्तिले कुनै कसुर बाँकी राखेन । माओवादी नेताहरूको टाउकोको मूल्य तोक्दै हिँड्ने शक्ति पनि यही नै हो । त्यसैले यो शक्तिले माओवादीले युद्धकालीन अवस्थादेखि उठाउँदै आएको राज्यको पुनर्संरचना गरेर स्वायत्त गणराजय सहितको सङ्घीय गणतन्त्रात्मक नेपालको निर्माण गर्ने, जातीय, लिङ्गीय, वर्गीय र क्षेत्रीय विभेदहरूलाई अन्त्य गर्न समानुपातिक पद्धतिको निवार्चित प्रणाली कायम गर्ने सम्मानजनक माओवादी जनमुक्ति सेनाको राष्ट्रिय सेनामा समायोजन गर्ने सवालमा र महान्् दस बर्से जनयुद्ध, १९ दिने ऐतिहासिक जनआन्दोलनको म्यान्डेट र नेपाली जनताको भावना र चाहना बमोजिम साम्राज्यवाद, सामन्तवाद विरोधी सारतत्व बोकेको जनताको सङ्घीय गणतन्त्रात्मक संविधान बनाउन दिन र मओवादीको योजना र लक्ष्यहरू कार्यान्वयन गर्न नदिने उद्देश्यले न्वारनदेखि ताकत लगाइराखेका छन् । उनीहरू ठूलो दलको नाताले सरकारको नेतृत्व माओवादीलाई दिने पक्षमा कुनै पनि हालतमा तयार हुनेवाला छैन । माओवादीलाई तहस नहस पार्ने उनीहरूको योजन छ ।

११. क्रान्तिकारी छलाङको विकल्प छैन
नेपाली क्रान्तिको ऐतिहासिक दायित्व पुरा गर्नु माओवादी पार्टीको मुख्य कार्यभार हो । हामी यतिबेला नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने अन्तिम चरणमा आइपुगेका छौँ तर २०६२ असोजमा सम्पन्न पार्टीको चुनवाङ बैठकले राजतन्त्रलाई अन्त्य गर्नकका लागि संसदवादी दलहरूसँग सहकार्य गर्ने विचारका साथ लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा तय गरेर शान्ति प्रक्रियामा प्रवेश ग¥यो र लक्ष्यअनुसार राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र घोषणा गर्न सफल भयो । प्रधान शत्रुको रूपमा रहेको राजतन्त्रको अन्त्यपछि दलाल, नोकरशाही पुँजीवाद र सामन्तवर्गसँग नेपाली जनताको अन्तरविरोध प्रधान अन्तरविरोधको रूपमा प्रकट हुन पुग्यो । त्यही वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरू सत्तामा पुगे । त्यसपछि २०६५ मङ्सिरमा खरिपाटी राष्ट्रिय भेलाबाट क. मोहन वैद्य‘किरण’ले प्रस्तुत गर्नुभएको ‘जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण’को कार्यदिशा एकमतले पारित ग¥यो र २०६६ साउनमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले त्यसको कार्यान्वयनका निम्ति ‘जनविद्रोह’को कार्यदिशा ठोस ग¥यो । तेस्रो जनआन्दोलन पनि सञ्चालन गरियो र २०६७ जेठ १४ नजिकिँदै गर्दा ‘जनसंविधान’ निर्माणमा देशीविदेशी शक्तिहरूबाट षड्यन्त्र भएमा जनविद्रोहको नेतृत्व गरेर नेपाली क्रान्ति सम्पन्न गर्ने योजनाका साथ अनिश्चितकालीन आमहडतालको आह्वान पनि गरियो तर त्यसलाई प्राविधिक तयारी नपुगेको कारण देखाई फिर्ता गरियो ।
२०६८ मङ्सिर ५–११ सम्म पालुङटारमा आयोजना गरिने छैठौँ विस्तारित बैठकसम्म आइपुग्दा पार्टीभित्र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य‘किरण’ले ‘जनविद्रोह’ सम्बन्धी प्रस्ताव, अध्यक्ष क. प्रचण्डले ‘मध्यपन्थी विचार’ र अर्का उपाध्यक्ष क. बाबुराम भट्टराईले ‘शान्ति र संविधान’ सम्बन्धी सुधारवादी प्रस्ताव अघि सारे पश्चात पार्टीभित्र महान्् बहस आरम्भ भयो ।
यी तीनओटा प्रस्तावका बारेमा इतिहासमै महान्् बहस चलाइयो । त्यसले कुनै निर्णय लिन सकेन र त्यस बैठकको निर्देशनअनुसार त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकले बहुमतद्वारा ‘जनविद्रोहको कार्यदिशा’ निर्धारण ग¥यो । बाबुराम भट्टराईले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेख्नुभएपछि पार्टीभित्र दुई लाइन सङ्घर्षले वैधानिकता पायो । घटनाक्रमहरू फेरबदल हुँदै गए । जेठ १४ नजिकिँदै गर्दा प्रतिगमनको त्रास देखाएर पार्टीको केन्द्रीय कमिटीको बैठकले जनविद्रोहको कार्यदिशालाई स्थगित गरेर बहुमतका आधारमा ‘शान्ति र संविधान’ सम्बन्धी सुधारवादी कार्यदिशा ठोस गरे पश्चात वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य‘किरण’ले पार्टीले आत्मसमर्पणवादी बाटो समातेको संश्लेषण गर्दै आफ्नो असहमति सहित ‘नोट अफ डिसेन्ट’ लेख्नुभयो र पार्टीमा दक्षिणपन्थी अवसरवाद हावी हुन पुगेपछि जनविद्रोहको कार्यदिशा र शान्ति सम्बन्धी सुधारवादी कार्यदिशाका बीच, पार्टीको कार्यशैली र नेतृत्वको कार्यविभाजन आदिका विषयमा पार्टीभित्र ठुलो बहस सुरु भयो र यसले महान्् बहसको रूप लिन पुग्यो । पार्टीभित्र क्रान्तिकारी माक्र्सवाद र दक्षिणपन्थी अवसरवादका बीच भीषण दुई लाइन सङ्घर्ष सञ्चालन भयो । पार्टीको मुख्य नेतृत्व नै दक्षिणपन्थी दिशातिर उन्मुख भएपछि दुई लाइन सङ्घर्ष व्यवस्थित रूपले सञ्चालन हुन सकेन । पार्टीभित्र विविध विचार समूहहरू र गुट उपगुटहरू सञ्चालन हुन थाले । धोबीघाटको ऐतिहासिक भेला पश्चात मूल नेतृत्व कार्यविभाजन गर्न सहमत भए पश्चात पार्टीभित्र अहिले केही सहजता पैदा भएको छ र रूपान्तरणको सामान्य प्रक्रिया आरम्भ भएको छ ।

१२. कार्यदिशा सम्बन्धी विवाद नै समस्याको जड
पार्टीभित्र कार्यदिशालाई हेर्ने, बुझ्ने र संश्लेषण गर्ने अनि कार्यान्वयन गर्ने सन्दर्भमा ठूलो विवाद रहँदै आएको र त्यसले समस्या खडा गर्ने गरेको छ । पार्टीको मूल नेतृत्वसहित एउटा हिस्सा चुनवाङ बैठकबाट पारित गरिएको लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिलाई रणनीतिका रूपमा बुझ्ने र त्यसै अनुरूप अघि बढ्ने भएकै कारण पार्टी बर्जुवाकरण हुँदै गएको र मध्यपन्थी अवसरवादी हावी हुँदै गएको प्रस्ट हुन्छ । अर्कोतिर क्रान्तिकारी कार्यदिशा अर्थात् जनविद्रोहको कार्यदिशाका साथ पार्टीलाई क्रान्तिकारी बनाइराख्ने र क्रान्तिलाई अघि बढाउने पहल गर्दै आएको छ । यो सही छ र यसैका बिचमा ठूलो अन्तरविरोध रहँदै आएको छ । यसरी हेर्दा पार्टीभित्र गैरक्रान्तिकारी र दक्षिणपन्थी अवसरवादी धारा हावी हुनुले नै पार्टी गम्भीर सङ्कटमा पर्दै आएको छ । क्रान्तिकारी पार्टीविना क्रान्ति सम्भव पनि छैन । त्यसको निम्ति नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्दछ । क्रान्तिकारी पार्टी निर्माणका लागि क्रान्तिकारी विचारको आवश्यकता पर्दछ । क्रान्तिकारी पार्टी र क्रान्तिकारी सिद्धान्तका बारेमा प्रकाश पार्दै माओत्सेतुङ भन्नुहुन्छ –“क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीबिना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुसार बनेको पार्टीविना, साम्राज्यवाद तथा यसका दलाललाई पराजित गर्न र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।”(४) क्रान्तिकारी पार्टी र क्रान्तिको विजयका बारेमा प्रकाश पार्दै जोसेफ स्टालिन भन्नुहुन्छ, – “एक नयाँ पार्टी, एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ । यस्तो साहसिलो पार्टी, जसले सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्छ । यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तिका निम्ति रहेका सारा लुकेका चट्टानहरूबाट जोगिएर अगाडि बढ्न सक्छ । यस्तो पार्टी नभइकन साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा अधिनायकत्व कायम गर्ने कुरा सोच्नु निरर्थक हुन्छ ।” (५)
माथि माओ र स्तालिनले भन्नुभएको पार्टीबिना र क्रान्तिकारी विचारपबनाको पार्टीले नेपाली क्रान्तिको नेतृत्व गर्न र क्रान्ति सम्पन्न गर्न सम्भव हुँदैन । यो माक्र्सवादी द्वन्द्ववादको आधारभूत नियम नै हो । यतिबेला हामी क्रान्तिकारी कार्यदिशाबिनाको ‘कुहिरोभित्र हराइरहेको काग’ को जस्तो हालतमा पुगेका छौँ । यतिबेला पार्टीको कुनै कार्यदिशा नै छैन । पालुङटारको बैठकपछि केन्द्रीय समितिले निर्णय गरेको जनविद्रोहको क्रान्तिकारी कार्यदिशा जेठ १४ अगावै पार्टीको मूल नेतृत्वले हटाएर शान्ति र संविधान सम्बन्धी बहुमतको आधारमा तय गरिएको उक्त कार्यदिशा पनि त्यसै कार्यदिशामाथि असहमति जाहेर गर्दै आउनुभएका कमरेड मोहन वैद्य‘किरण’को नेतृत्वमा सञ्चालित क्रान्तिकारी विचार समूहले चलाएको महान्् बहस र दुई लबइन सङ्घर्षले फ्यु गराइदियो र धोबीघाट भेलाले कार्यविभाजनमा पु¥याएर मुख्य नेतृतवलाई एक हलसम्म रूपान्तरण हुने तहसम्म पु¥याएपछि ‘शान्ति र संविधान बनाउने’ भन्ने नारा मात्र दिइएको छ । कुनै कार्यदिशा नै छैन ।
देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू माओवादीलाई कुनै पनि हालतमा अघि बढ्न दिनेवाला छैनन् । जनसंविधान बनाउन दिनेवाला पनि छैनन् तर पार्टीको मूल नेतृत्वसँग भदौ १४ गतेपछि के गर्ने, मङ्सिरसम्म पनि संविधान नदिए के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा कुनै योजना र एजेन्डा छैन । यी सबै कुरालाई संश्लेषण गर्दाखेरि पार्टीको मूल नेतृत्व देशी विदेशी प्रतिक्रियावादीहरूसँग सम्झौता गर्दै अघि बढ्ने र पार्टीलाई बिसर्जनको सकिार बनाउनेतिर धकेद्यने ध्याउन्नमा लागेको प्रतीत हुन्छ । यस्तो परिस्थितिमा पार्टीभित्रका क्रान्तिकारीहरूले पार्टीलाई क्रान्तिकारी भारामा रूपान्तरण गर्नाका लागि चालु दुई लाइन सङ्घर्षलाई निरन्तरता दिई नै राख्ने र नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माण गरेर नेपाली क्रान्तिको अन्तिम तयारी गर्नुको विकल्प छैन । पार्टीको मूल नेतृत्वमा वैचारिक विचलन आएको छ । मध्यपन्थी विचार हावी हुँदै गएको छ । त्यही मौका छोेपेर पार्टीभित्रका चरम अवसरवादीहरूले मुख्य नेतृत्वलाई देवत्करण गरेर फाइदा उठाउँदै छन् । यसबाट मुख्य नेतृत्व सचेत हुन जरुरी छ, रूपान्तरित हुन जरुरी छ र क्रान्तिकारी कार्यदिशाबिना पार्टीलाई गोलमटोल गराएर राख्नु भनेको पार्टीलाई ‘बिरामीलाई कोमाका राख्न’ु जस्तै हो । पार्टीलाई यसप्रकारको अवस्थाबाट ब्युँताएर नेपाली क्रान्तिको नेतृत्व प्रदान गर्न सक्ने पार्टीका रूपमा खडा गर्नाका लागि जनविद्रोहको कार्यदिशालाई कार्यान्वयनमा ल्याउनुको कुनै विकल्प छैन ।       

१३. प्रतिपक्षहरूलाई अल्टिमेटम दिने आँट
पार्टीको आम लक्ष्य नयाँ जनवाद, समाजवाद र साम्यवादसम्म पुग्नु हो । अहिले हामी नयाँ जनवादी क्रान्तिकै चरणमा छौँ । क्रान्ति सोझो बाटो हिँडेर पुरा हुँदैन । क्रान्तिका बाटाहरू बाङ्गाटिङ्गा र घुमाउरा हुन्छन् । अहिले हामी दक्षिणपन्थी र संशोधनवादी शक्तिहरूसँग सहकार्य गरेर जनताको पक्षमा अर्थात् जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण गरेर जनतालाई अधिकार सम्पन्न र सार्वभौमसत्ता सम्पन्न तुल्याउँदै नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशाका साथ अघि बढेका छौँ र उनीहरूसँग विभिन्न समयमा सहमति र सम्झौताहरू पनि गर्दै आइरहेका छौँ तर उनीहरू माओवादीसँग सहकार्य गरेर जनपक्षीय संविधान बनाएर जनतालाई देशको वास्तविक मालिक बनाउन र माओवादीको कार्ययोजनाहरू कार्यान्वयन गर्न दिनेवाला छैनन् । यदि त्यसो भने हाम्रो पार्टीले पनि माओको अवलम्बन गरेको बाटो अँगाल्न आवश्यक हुन्छ । सन् १९३७ देखि १९४२ सम्म चीनमा कम्युनिस्ट पार्टी र च्याङकार्ई सेकसँग मिलेर जापानी साम्राज्यवादी अतिक्रमणकारीका विरुद्ध राष्ट्रिय युद्ध लडे । राष्ट्रिय युद्धमा विजय प्राप्त पनि गरे । चीन स्वाधीन राष्ट्रको रूपमा कायम हुन पुग्यो । सन् १९४५ मा माओले च्याङकार्ई सेकसँग मिलेर अघि बढ्न संयुक्त सरकारको प्रस्ताव राख्नुभयो । च्याङकार्ई सेकले स्वीकारेन । माओले च्याङकाई सेकसँगको सहकार्यलाई लत्याएर पुनः जनयुद्धमा फर्कने घोषणा गर्नुभयो । भीषण गृहयुद्ध सञ्चालन भयो । चिनियाँ जनमुक्ति सेनाले ३० लाख, ७० हजार प्रतिक्रियावादी च्याङकाई सेकका सेनाहरूलाई खरानी पारेर चिनियाँ माटोमा मिलाइदिए र सन् १९४९ अक्टुबर १ तारिखका दिन महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।
नेपालमा पनि दक्षिणपन्थी एवम् संशोधनवादी शक्तिहरूले माओवादीसँग सहकार्य गरेर महान्् दस बर्से जनयुद्ध १९ दिने ऐतिहासिक जनआन्दोलनको म्यान्डेट र नेपाली जनताको भावना र चाहना बमोजिम सामन्तवाद–साम्राज्यवाद सारतत्व बोकेको जनताको गणतन्त्रात्मक संविधान बनाउने कुरामा सहमत हुन अस्वीकार गर्छन् भने माओले चिनियाँ क्रान्तिताका च्याङकार्ई सेकलाई लत्याएर धुलोमा परिणत गरिदिए जस्तै देशी विदेशीका इसारामा चल्ने दक्षिणपन्थी, संशोधनवादी शक्तिहरूसँगको निरर्थक सहकार्यलाई तोडेर जनविद्रोहमा हाम्फाल्नुपर्दछ र उनीहरूलाई नेपाली जनताले धुलो चटाइछाड्नेछन् र नेपाली जनताले आफ्नो प्यारो नेपाली धर्तीमा नेपाली क्रान्तिको लालझन्डा गाडेरै छाड्नेछन् । यहाँ देशी विदेशी प्रतिक्रियावादीहरूलाई साँच्चिकै च्याङकाई सेक बनाउने हो भने कमरेड मोहन वैद्य‘किरण’हरूले मात्र आँट गरेर पुग्दैन । क. प्रचण्ड, क. बाबुरामहरूले पनि खुट्टा नकमाइकन दरिलो आँट गर्नैपर्ने हुन्छ किनकि बिना आँट र तागतबिनाको नेतृत्वले क्रान्तिको नेतृत्व प्रदान गर्न सक्दैन । त्यो आँट पैदा गर्ने क्रान्तिकारी विचारले मात्रै हो । त्यसैले पार्टीभित्र यतिबेला क्रान्तिकारी विचार र व्यवहारको खाँचो छ ।

१४. जनयुद्धको जगमा जनविद्रोह र मुख्य नेतृत्वको आँट
नेपालमा दलहरूका बीचमा राष्ट्रिय सहमति हुन निकै गा¥हो छ । विगतको अनुभवको कुरा गर्ने हो भने यहाँ त्यति सजिलै राष्ट्रिय सहमति जुट्ने र कार्यान्वयन हुने कुरा असम्भव छ । पार्टीको मुख्य दायित्व नेपाली क्रान्ति सम्पन्न गर्नु हो । नेपाली क्रान्ति सम्पन्न गर्ने सवालमा हाम्रो पार्टीले अहिले दुईवटा बाटाहरू तय गरेको छ । पहिलो बाटो – संसदवादी दलहरूसाग सहकार्य समझदारी कायम गर्दै सामन्तवाद–साम्राज्यवाद सारतत्व बोकेको जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नेपाली क्रान्ति सम्पन्न गर्न अघि बढ्ने । दोस्रो बाटो हो – यदि जनसंविधान निर्माणमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूबाट षड्यन्त्र हुन्छ भने जनयुद्धको जगमा टेकेर जनविद्रोह मार्फत् नेपाली क्रान्ति सम्पन्न गर्ने । क्रान्तिको जगचाहिँ दस बर्से महान्् जनयुद्ध नै हो । हामीले क्रान्तिलाई बिर्सेका पनि छैनौँ र क्रान्तिदेखि थाकेका पनि छैनौँ । क्रान्ति गर्नैपर्छ भन्ने विषयमा प्रकाश पार्दै हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य‘किरण’ अगााडि भन्नुहुन्छ – “क्रान्तिको सपना देख्न छाड्नुहुन्न ।”(६) क. किरणको भनाइमा क्रान्तिप्रतिको अगाध विश्वास र आँट देखिन्छ र उहाँको यो तर्क वैज्ञानिक छ । क्रान्तिका सपना नै देख्न छाड्ने हो भने क्रान्ति त विसर्जन हुने खतरा छ तर हाम्रो पार्टीको मूल नेतृत्वले क्रान्तिको सपना देख्न छाडिसकेको छ । क्रान्तिप्रतिको आँट र जाँगर पनि छोड्दै गएको देखिन्छ । मुख्य नेतृत्व नै तयार भएन भने क्रान्तिलाई अगाडि बढाउन कठिन हुन्छ । नेपाली क्रान्तिको निम्ति आन्तरिक रूपमा दक्षिणपन्थी संशोधनवाद बाधकको रूपमा खडा हुँदै आएको छ । हाम्रो पार्टीभित्र पनि यतिबेला दक्षिणपन्थी हावा चलिरहेको छ । यसलाई परास्त गर्ने उद्देश्यले नै यतिबेला पार्टीभित्र दुई लाइन सङ्घर्ष भीषण रूपमा चलिरहेको छ ।
जनताको संविधान बन्न दिने पक्षमा संसदवादी दलहरू कुनै पनि हालतमा तयार हुनेछैनन् । संविधान बनाउने नाममा एक थान संविधानको खोस्टो बनाउने हाम्रो दायित्व पनि होइन । त्यतिबेला हामीले के गर्ने भन्ने प्रश्न खडा हुन सक्छ । हाम्रोसामु त्यतिबेला जनविद्रोहको विस्फोट गर्नुबाहेक अर्को विकल्प हुनेछैन । त्यसको तयारीको निम्ति सिङ्गो पार्टी पङ्क्तिलाई तयार पार्ने, आम जनतालाई विद्रोहमा सङ्गठित गर्ने दायित्व अब हाम्रो पार्टीको काँधमा आएको छ तर यतिबेला हाम्रो पार्टीको मूल नेतृत्व तयार छैन । ऊ वैचारिक रूपले पनि स्खलित भइरहेको छ ।
एक पटक अत्यन्तै लोकप्रिय र बलियो बनेको कम्युनिस्ट पार्टी अर्को कालखण्डमा पुगेर वैचारिक राजनीतिक रूपले कमजोर बन्दै जाने र दक्षिणपन्थी संशोधनवादी भासमा डुब्न पुग्ने गरेको विडम्बनापूर्ण इतिहास छ । त्यसको सबुत प्रमाण एमालेलाई लिन सकिन्छ । एक कालखण्डमा एमाले लोकप्रिय र बलियो पार्टी थियो । अर्को कालखण्डमा दक्षिणपन्थी संशोधनवादमा पतन हुन पुग्यो । माओवादी पनि पहिले अत्यन्तै लोकप्रिय र बलियो पार्टीको रूपमा खडा हुन पुगेको हो तर पछिल्लो कालखण्डमा पुगेर दक्षिणपन्थी अवसरवादतिर लम्केर कमजोर बन्दैछ । यसबाट पार्टीलाई जोगाउन सकिएन भने क्रान्तिले ठूलो धक्का खानेछ । यसलाई समाधान गर्ने दुईवटा बाटा छन् – एउटा बाटो, आन्तरिक रूपमा भीषण दुई लाइन सङ्घर्ष सञ्चालन गरिरहने । अर्को, वर्गसङ्घर्षलाई उत्कर्षमा पु¥याउने । दुई लाइन सङ्घर्ष पार्टीभित्र जारी छ । अब वर्गसङ्घर्षलाई उत्कर्षमा पु¥याउने र जनयुद्धको जगमा टेकेर नेपाली क्रान्ति पुरा गर्ने दिशातिर अघि बढ्नुपर्दछ र क्रान्तिको झन्डालाई कुनै पनि हालतमा ढल्न दिनुहुँदैन ।
नेपाली क्रान्तिको जग दस बर्से जनयुद्धबाहेक अर्को विकल्प हुन सक्तैन । नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यले नै माओवादीले दस वर्से जनयुद्ध सञ्चालन गरेको थियो । दस बर्से जनयुद्धले नेपाली क्रान्तिको आधार मात्रै निर्माण गरेको थिएन, त्यसको अलवा ठूलो त्याग, बलिदान, शौर्य र क्रान्तिकारी आदर्श तथा संस्कृतिको निर्माण गरेको थियो तर यतिबेला पार्टीभित्र जनयुद्धले निर्माण गरेको क्रान्तिकारी आदर्श र भावनाहरू ढल्दै गएका छन् । पार्टीभित्र दक्षिणपन्थी अवसरवादी धारा आवी हुँदै गएको छ । क्रान्तिका झन्डाहरू ढल्दै गएका छन् । पार्टीको मूल नेतृत्व नै वैचारिक रूपले स्खलित भैसकेपछि पार्टीभित्र आर्थिक र सांस्कृतिक विचलन सुनामी रफ्तारमा खगाडि बढिरहेको छ । पार्टीको नेतृत्व तह नै बुर्जुवाकरण बनेर एमालेकरणको सँघारमा उभिएको छ । पार्टीभित्र क्रान्तिकारी आदर्श र क्रान्तिकारी आवाज उठाउनेहरूलाई पार्टी छोडेर गए हुन्छ भन्ने सामन्ती एवम् जमिनदार रवाफ देखाइँदै छ । यो कस्तो संस्कृति हो !
नेपाली कम्युनिस्ट आन्दोलनभित्र दक्षिपन्थी संशोधनवाद आन्तरिक रूपमा नेपाली क्रान्तिको बाधकको रूपमा खडा हुँदै आएको छ । त्यसको पुनरावृत्ति अहिले माओवादी पार्टीभित्र खोहोरिने सम्भावना बढेर गएको छ । पार्टीभित्र बढ्दै गएको दक्षिणपन्थी अवसरवादलाई परास्त गर्ने एक मात्र साधन भनेको दुई लाइन सङ्घर्ष र अन्तरसङ्घर्ष नै हो । पार्टीलाई विचारले समेत क्रान्तिकारी बनाइएन भने क्रान्तिका सपना खेर जाने खतरा पनि छ ।
एकातिर देशी विदेशी शक्तिहरूबाट प्रतिक्रान्ति हुन सक्ने, आजसम्मका उपलब्धिहरू धरापमा पर्ने र पार्टी पनि विसर्जनको सिकार बन्ने गम्भीर चुनौतीहरू खडा हुने सम्भावना छ भने अर्कोतिर आगामी दिनमा जनताको पक्षमा संविधान बन्ने कुनै सुनिश्चितता छैन । त्यो अवस्थामा पार्टीको मूल नेतृत्व तयार हुने हो भने नेपाली क्रान्तिले छलाङ मार्ने सम्भावना पनि त्यत्तिकै प्रवल छ किनभने क्रान्तिको जग त उही दस बर्से जनयुद्ध नै हो । दस बर्से जनयुद्धको जगमा अहिलेकै समयमा जनविद्रोह उठाउने हो भने नेपाली क्रान्ति सम्पन्न गर्ने प्रवल सम्भावना छ । यही महान्् सम्भावना र गम्भीर चुनौतीका बिच महान्् नेपाली क्रान्ति अगाडि बढिरहेको छ । नेपाली क्रान्तिको लाल झन्डालाई कदापि ढल्न दिनुहुन्न । यसैमा क्रान्तिकारी र अवसरवादी बिचको अग्नि परीक्षा हुनेछ । क्रान्ति अवश्यम्भावी छ ।     

सन्दर्भ सामग्रीहरू
१. मोहन वैद्य‘किरण’, नयाँ यथार्थ, वर्ष २, अङ्क १, पूर्णाङ्क २, २०६८, पृ. ११ ।
२. डा. सुरेन्द्र केसी, ऐतिहासिक दस्ताबेज सङ्ग्रह, पैरवी प्रकाशन, पृ. १०÷११ ।
३.ःबय, त्जभ मयअगmभलतक या तजभ उचयभितबचष्बल अगतिगचब िच्भखयगितष्यल ष्ल अजष्लब, ख्य िज्ञ, उ। द्दडघ।
४. माओत्सेतुङ, संसारका क्रान्तिकारी शक्तिहरू एकगठ होऊ, साम्राज्यवादी आक्रमणका विरुद्ध जुध, नोभेम्बर १९४८ ।
५. स्टालिन, लेनिनवादका आधारहरू, पृ. १२४ ।
६. मोहन वैद्य‘किरण’, अङ्कुर राष्ट्रिय मासिक, वर्ष १, अङ्क २, २०६७, पृ. ४२ ।

No comments:

Post a Comment