Wednesday, March 20, 2013
संशोधनवाद विरोधी सङ्घर्षमा लेनिनका योगदानहरू
‘सर्वहारावर्गको विकास जहाँकही पनि आन्तरिक सङ्घर्षको बिचबाट नै अगाडि बढ्छ, जस्तो कि माक्र्स र म आफैले पनि अरु कसैसँग बढी नक्कली समाजवादीहरू विरुद्ध जीवन कठिन लडाईं लडेका थियौं ।’
–फ्रेडरिक एङ्गेल्स
माक्र्सवाद र संशोधनवाद तथा अवसरवादका विरुद्ध भिषण सङ्घर्ष चलिहरेकै अवस्थामा सन् १८७० अप्रिल २२ तारिखका दिन विश्व सर्वहारावर्गका महान्् नेता, माक्र्सवादका व्याख्याता र प्रयोगकर्ता, महान्् रुसी अक्टुवर समाजवादी क्रान्तिका नेता एवम् संस्थापक लेनिनको जन्म भएको थियो । विगतमा झैं यस वर्ष पनि विश्वभरका सर्वहारा श्रमजीवी वर्ग र कम्युनिस्ट क्रान्तिकारीहरूले महान्् लेनिनको १४२ औं जन्मजयन्ती बढो क्रान्तिकारी जोस् र उमंगका साथ मनाए र क्रान्तिकारी भावधाराप्रति दृढतापूर्वक विश्वास प्रकट गरे । यिनै जीवनभर माक्र्सवादको रक्षा र विकासका निम्ति संशोधनवादका विरुद्ध सङ्घर्ष गर्नु हुने लेनिनका संशोधनवाद विरोधी सङ्घर्षमा स्थापित योगदानहरूका बारेमा यस लेखमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङले आफ्नो प्रसिद्ध कृति जनताका बिचका अन्तर विरोधको सही सञ्चालन बारेमा लेख्नु भएको छ । माक्र्सवादको विकास सङ्घर्षबाट मात्र हुन सक्छ यो कुरा विगत र वर्तमानमा मात्र साँचो रहेको होइन, यो भविष्यमा पनि आवश्कीय रूपले साँचो रहन्छ ।
माओको उपरोक्त भनाई माक्र्सवादको पूर्ण ऐतिहासिक विकास क्रमबाट निकालिएको निचोड हो । किनभने माक्र्सवादले आफ्नो उत्पत्तिदेखि नै सङ्घर्ष गर्दै अघि बढिरहनु परेको छ । उक्त भनाई लेनिनवादको विकासको सम्बन्धमा झन् बढि साँचो रहेको छ । लेनिनवादी चरणमा माक्र्सवादको विकासक्रम संशोधनवाद तथा अवशरवाद विरुद्ध सङ्घर्षले व्याप्त रहेको छ । लेनिनको जन्म, बृद्धि र विकास उक्त सङ्घर्षको क्रम र सङ्घर्ष मार्फत नै भएको थियो । माक्र्सवादको विकासको जुन अवधिमा लेनिनले आफ्नो क्रान्तिकारी गतिविध चलाउनु भएको थियो, त्यस अवधिमा संशोधनवाद तथा अवसरवाद विरुद्ध माक्र्सवादका क्रान्तिकारी शिक्षाको संरक्षण गर्ने महान्् दायित्व पनि माक्र्सवादीहरूको काँधमा थियो । तिनको सङ्घर्ष र विकास गर्ने सङ्घर्षमा आफ्नो महान्् विजयको फलस्वरूप माक्र्सवाद नयाँ चरणमा अर्थात लेनिनवादमा विकास भयो ।
लेनिनवादको एउटा खास विशेषता त्यसको लडाकु र विशेष रूपले क्रान्तिकारी रहेको तथ्यलाई सबैले मानेका छन् । लेनिनका सबै जसो रचनाहरूमा ज्यादै आलोचनात्मक लडाकु क्रान्तिकारी भावना व्याप्त रहेको पाइन्छ । यसो हुनाका कारणहरूलाई स्पष्ट पार्दै स्टालिनले लेख्नु भएको छ ‘साधारणतया लेनिनवादको विशेष रूपले लडाकु र विशेष रूपले क्रान्तिकारी हुनाका दुई वटा कारण छन्, पहिलो कारण कुन तथ्य हो भने सर्वहारा क्रान्तिबाट लेनिनवादको उत्पत्ती भएको हुनाले त्यसमा सो क्रान्तिको छाप पर्नु अवश्म्भावी छ । दोस्रो कुन तथ्य हो भने अन्तर्राष्ट्रिय अवसरवाद विरुद्ध सङ्घर्षमा लेनिनवाद हुर्केर बलियो बनेको थियो । अवसरवाद विरुद्ध उक्त सङ्घर्ष पुँजीवाद विरुद्ध सफल सङ्घर्षका लागि एउटा आवश्यक प्राथमिक सर्त थियो र आज पनि रहेको छ ।’ उक्त अभिभारा पूर्तिका लागि लेनिनले संशोधनवाद र अवसरवाद विरुद्ध दृढ तथा कठिन सङ्घर्ष चलाउनु भयो ।
इतिहासको अध्ययनबाट के देखिएको छ भने सन् १८८० को दशकको आखिरी र १८९० को दशको सुरुतिर माक्र्सवादले मजदुर आन्दोलन भित्रका सारा माक्र्सवाद विरोधी विचारहरूलाई परास्त गरेर त्यसमा आफ्नो प्रभुत्व स्थापित गरिसकेको थियो । माक्र्सवादबाट पराजित भएर प्रुँधोवाद, लासालवाद बाकुनिनवाद आदि माक्र्सवाद विरोधी धाराहरू स–साना गुटमा मात्र रहन पुगेका थिए र आफ्नै आधारमा मजदुर आन्दोलनलाई प्रभावित पार्न नसक्ने भएका थिए । आफ्नो ध्येय पूरा गर्नका लागि तिनीहरूले माक्र्सवाद भित्रैबाट माक्र्सवाद विरुद्ध लड्नु परेको थियो । त्यसले गर्दा माक्र्सवाद भित्र एउटा माक्र्सवाद विरोधी धारा देखा प¥यो । यस विषयमा लेनिनले भन्नु भएको थियो ‘माक्र्स–पूर्वको समाजवादलाई ध्वस्त पारिएको छ, अब त्यसको आफ्नै स्वतन्त्र आधारमा होइन, बरु माक्र्सवादको सामान्य आधारमा संशोधनवादका रूपमा सङ्घर्षलाई जारी राख्दै छ ।’ त्यसरी माक्र्सवाद भित्र माक्र्सवाद विरोधी एउटा धाराका रूपमा संशोधनवाद उत्पन्न भयो र त्यही धारा विरुद्ध सङ्घर्षबाट माक्र्सवादको विकास नयाँ चरण पनि सुरु भयो, जुनबेला लेनिनले आफ्नो क्रान्तिकारी गतिविधि थाल्नु भएको थियो । त्यसबेला विश्व कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा परेको थियो । त्यसताका मजदुर आन्दोलनको व्यापक रूपमा विस्तार र अभिवृद्धि भएको थियो तर उक्त आन्दोलनमा गैर सर्वहारा (पुँजीवादी तथा निम्न पुँजीवादी) विचारधाराको ठूलो प्रभाव परेको थियो । संशोधनवाद तथा अवसरवाद सोही विचारधारात्मक प्रभावका मुख्य अभिव्यक्ति थिए ।
यहाँ नेर मुख्य रूपमा ध्यान दिन योग्य कुरा के छ भने जब हामी संशोधनवादको कुरा गर्छौं, तब एक समयमा कट्टर माक्र्सवादी रहेका वर्नस्टीनको नाउँ त्यस सित गाँसिएर आउँछ । त्यो स्वभाविक हो किनभने उनी नै त्यस्ता पहिलो व्यक्ति थिए, जसले माक्र्सवादलाई संशोधन गर्नु पर्छ भनेर ठूलो हल्लीखल्ली मच्याए र माक्र्सवादका विरुद्ध संशोधन प्रस्तुत गरे । संशोधनवादी धारालाई व्यस्थित रूप र पूर्ण अभिप्रदान गर्ने व्यक्ति बर्नस्टिन हुनाले त्यसलाई बर्नस्टिनवाद पनि भनिन्छ । सन् १८९५ मा फ्रेडरिक एंगेल्सको मृत्यु भयो । त्यस पश्चात सन् १८९६ मा दोस्रो अन्तर्राष्ट्रियमा बर्नस्टिन र उनका समर्थकहरूले माक्र्सवाद विरुद्धमा खुला र भयानक धावा बोले । बर्नस्टिनवादीहरूले माक्र्सवाद भयानक अपर्याप्त र पुरानो भयो, त्यसलाई नविकरण र संशोधन गर्नु आवश्यक छ, भनेर व्यापक रूपमा र सर्वत्र रूपमा होहल्ला र मच्याए ।
समाजवादका आधार र सामाजिक जनवादका अभिभारा नामक आफ्नो पुस्तकमा बर्नस्टिनले माक्र्सवादका क्रान्तिकारी सिद्धान्तको विरुद्ध पूरै क्रान्ति विरोधी विचार प्रस्तुत गरे । खास रूपमा उनले वर्गसङ्घर्ष सम्बन्धी माक्र्सवादी सिद्धान्तलाई पूर्णरूपमा अस्वीकार गरे । क्रान्तिकारी वर्गसङ्घर्ष विरुद्ध सुधार र वैधानिक उपाउ प्रस्तुत गरे र त्यसरी माक्र्सवादलाई भुत्ते पार्ने कुचेष्टा गरे । माक्र्सवादका क्रान्तिकारी सिद्धान्त विरुद्ध बर्नस्टिनले अघि सारेका सर्तको सार निकाल्दै लेनिनले के गर्ने ? नामक आफ्नो कृतिमा विस्तृत रूपले व्याख्या गर्नु भएको छ । त्यसरी एङ्गेल्सको मृत्यु पछि अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमा माक्र्सवाद विरुद्ध बर्नस्टिन र उनका अनुयायीको तर्फबाट चौतर्फी हमला सुरु भयो । लेनिनले सुसंगत माक्र्सवादी आधार विन्दुबाट संशोधनवाद विरुद्ध निर्मम, दृढ तथा सम्झौताहीन सङ्घर्ष चलाउनु भयो । लेनिनले संशोधनवाद तथा अवसरवाद विरुद्धको सङ्घर्षलाई क्रान्तिका लागि तयारीको एउटा आवश्यक सर्त मान्नु हुन्थ्यो । सङ्घर्षको अंह महत्वलाई लेनिनले निम्न रूपमा दर्शाउनु भएको छ ‘सर्वहारावर्गलाई त्यसको विजयका निम्ति तयार पार्नका लागि आवश्यक सर्तमा एउटा सर्त के हो भने अवसरवाद, सुधारवाद, सामाजिक अन्धराष्ट्रवाद र त्यस्तै पुँजीवादी प्रभाव तथा धारा विरुद्ध लामो कठोर र निर्मम सङ्घर्ष चलाइनु पर्छ ।’
लेनिनले संशोधनवाद र अवसरवाद विरुद्ध थुपै्र लेखहरू लेख्नु भयो । यस सम्बन्धमा उहाँले १९०८ अप्रिलमा लेख्नु भएको माक्र्सवाद र संशोधनवाद शिर्षकको लेख निकै महत्वपूर्ण र सारगर्भित छ । आफ्ना लेखमा लेनिनले संशोधनवादका सामाजिक जराहरू त्यसको विचारधारात्मक सारतत्व, त्यसको खास विशेषता आदिको पर्दाफास गर्नु भई संशोधनवादको उत्पत्ति हुनु कुनै आकस्मिक घटना होइन, बरु त्यो पुँजीवादी व्यवस्थाबाट उत्पन्न भएको एउटा अनिवार्य कुरा हो । उहाँ भन्नु हुन्छ संशोधनवादको अनिवार्यता पुँजीवादी समाजमा त्यसका वर्ग जराद्वारा निर्धारित हुन्छ । संशोधनवाद एउटा अन्तर्राष्ट्रिय परिघटना हो ।
आफ्नो प्रसिद्ध रचना माक्र्सवाद र संशोधनवादमा लेनिनले संशोधनवादको सारतत्वलाई व्यवस्थित र सारभूत रूपमा खुलस्त पार्नु भएको छ । त्यसले दर्शन, अर्थशास्त्र र समाजवाद तिनै क्षेत्रमा माक्र्सवादका क्रान्तिकारी सिद्धान्तलाई संशोधन गरेको तथ्यलाई उहाँले देखाउनु भएको छ । त्यसको मुख्य हमला दर्शनको क्षेत्रमा द्वन्द्ववादमाथि अर्थशास्त्रको क्षेत्रमा मूल्य, आर्थिक संकट र पुँजीवादको अनिवार्य पतन सम्बन्धी माक्र्सवादी सिद्धान्तमाथि र राजनीतिक क्षेत्रमा माक्र्सवादको जग रहेको वर्गसङ्घर्षको सिद्धान्तमाथि रहेको कुरालाई स्पष्ट पार्दै उहाँले त्यसका मुर्खतापूर्ण तर्कको जोडदाररूपमा खण्डन गर्नु भएको छ ।
आफ्नो समयमा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमा प्रमुख खतरा रहेको संशोधनवाद र अवसरवाद विरुद्ध लेनिनले लामो कठिन तथा तिव्र सङ्घर्ष चलाउनु भयो । उहाँले संशोधनवाद र अवसरवादसित पूरै नाता तोड्ने बोल्सेभिक पार्टीको संस्थापन गर्नु भयो, जुन पार्टीले सन् १९१७ अक्टुवर २५ तारिखका दिन महान्् रुसी अक्टुवर समाजवादी क्रान्तिको सफलतापूर्वक नेतृत्व गर्नु भयो । १९१९ मा लेनिनले विश्वका सच्चा माक्र्सवादीहरूलाई संगठित र एकीकृत पारेर तेस्रो इन्टरनेसनल (कोमिन्टर्न)को स्थापना गर्नु भयो । जसले पछि स्टालिनको नेतृत्वमा विश्व क्रान्तिकारी आन्दोलनको विकास र अभिबृद्धिमा ज्यादै महत्वपूर्ण भूमिका खेल्यो ।
संशोधनवाद र अवसरवाद विरुद्ध आफ्नो सङ्घर्षको क्रमलाई लेनिनले माक्र्सवादका क्रान्तिकारी सिद्धान्तलाई जोगाउन मात्र भएको संशोधनवादी र अवसरवादी भ्रममा छोपिएर रहेका उक्त सिद्धान्तलाई पुनर्जिर्वित मात्र गर्नु भएको होइन, त्यसका साथै उहाँले माक्र्सवादलाई नयाँ चरणमा विकसित पनि गर्नु भयो । जसलाई हामी लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद भन्दछौं । संशोधनवाद तथा अवसरवाद विरुद्ध सङ्घर्षमा लेनिनले गर्नु भएका सैद्धान्तिक योगदान माक्र्सवादको सैद्धान्तिक भण्डारमा एक अति महत्वपूर्ण खजाना हुन् र तिनले उक्त भण्डारलाई निकै समृद्ध पारेका छन् ।
महान्् लेनिनको मृत्यु पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समय समयमा नानाथरीका संशोधनवादी तथा अवसरवादीहरू देखा परे, पछिसम्म पनि देखा पर्दै जाने छन् । किनभने जबसम्म शोषक वर्ग र साम्राज्यवादी शक्ति रहन्छ, तबसम्म कम्युनिस्ट आन्दोलनमा तिनको दलालको काम गर्ने नयाँ बर्नस्टिन, नयाँ खु्रस्चोभहरू देखा पर्ने छन् । लेनिनको उपरोक्त योगदान संशोधनवाद, आधुनिक संशोधनवाद र अवसरवाद विरुद्ध माक्र्सवाद लेनिनवादीको सङ्घर्षमा अचुक अस्त्र सावित भएका छन् र पछिसम्म पनि सावित हुनेछन् ।
माक्र्सवाद–लेनिनवाद–माओवाद समर्थक हामी नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूले पनि हाम्रो कम्युनिस्ट आन्दोलनभित्रका संशोधनवादी र अवसरवादी विरुद्धको सङ्घर्षलाई तिब्र पार्दै लैजान आवश्यक छ । यस आन्दोलनमा लेनिनवादी शिक्षा र नीतिको दृढ रूपमा अनुशरण गरेर मात्र माक्र्सवाद–लेनिनवाद–माओवादको विकास र रक्षा गर्न सक्ने छौं र नेपाली क्रान्तिलाई अन्तिम विजयसम्म पु¥याउन सफल हुनेछौं ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment