Wednesday, March 20, 2013
नवसंशोधनवादसित सम्बन्ध बिच्छेदबारे
१० वर्षे जनयुद्धको नेतृत्व गर्दै आएको ने.क.पा. (माओवादी) को मुख्य नेतृत्व शान्ति प्रक्रीयामा आउने प्रक्रीया सँगै दक्षिणपन्थि अवसरवादी बाटो पकडन पुग्यो र एनेकपा माओवादी बनिसकेपछि त्यसका अध्यक्ष प्रचण्ड उपाध्यक्ष बाबुराम भटट्राई नवसंशोधनवादमा पतन भईसकेपछि पार्टीभित्रको क्रान्तिकारी विचार समूहले २०६९असार १ देखि ४ गते सम्म आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलाले नवसंशोधनवाद सित सम्बन्ध बिच्छेद गरि नयाँ ढंगको क्रान्तिकारी पार्टी ने.क.पा.–माओवादीको पुर्नगठन गरेपश्चात नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनमा र समग्र राजनीतिक क्षेत्रमा यसले ब्यापक तरङ्ग पैदा गरिदिएको छ । सबैखाले संशोधनवादहरू नेपाली क्रान्तिको वाधकको रूपमा खडा हुँदै आएकोले यी तमाम प्रकारका संशोधनवादी धाराहरूलाई सैद्धान्तिक, राजनैतिक र साँगठनीक रूपले समेत परास्त गरेर मात्र नेपाली क्रान्तिलाई बिजयको दिशा तिर पु¥याउन सम्भव छ । नवसंशोधनवादीहरूको मुख्य चरित्र भित्र प्रतिक्रान्तिकारी कदम चाल्ने र बाहिर क्रान्तिकारीका चर्का नाराहरू दिइरहने भएकोले अहिले पनि प्रचण्ड–बाबुरामले माक्र्सवाद–लेनिनवाद–माओवादको जामा पहिरिएर नेपाली भूमिमा नवसंशोधनवादी नाच नाचीरहेकोले नेपाली क्रान्तिको महान्् यात्रामा ब्यापक भ्रमहरू पैदा भइरहेका छन् । कम्ुनिष्ट नेता–कार्यकर्ताहरू र आम नेपाली जनता लाई यस भ्रमबाट मुक्त गर्नको लागि हामीले सबैखाले संशोधनवाद विशेषतः प्रचण्ड–बाबुराले अंगालीरहेको नवसंशोधनवादी विचार प्रणालीलाई ध्वस्त पार्नको निम्ती नवसंशोधनवाद भनेको के–हो ? भन्ने विषयमा व्यापक छलफल र बहस गर्नु आजको आवश्यकता भएकोले यो सानो लेखमा यहि विषयलाई एउटा महान्् बहसको रूपमा लैजाने प्रयत्न गरिएको छ ।
कार्ल माक्र्स आफ्नो अनन्य मित्र फ्रेडरिक एंगेल्ससँग मिलेर कम्युनिष्टहरूको सङ्गठन ‘कम्युनिष्ट लिग’ मा क्रियाशिल हुनु भयो । कम्युनिष्ट लिगको दोश्रो कांग्रेस सन् १८४७ को नोभेम्बरमा आयोजना गरियो । त्यस कांग्रेसमा माक्र्स र एंगेल्सले भाग लिनु भयो र त्यसैमा क्रियाशील हुनु भयो । त्यसै कांग्रेसले माक्र्स र एंगेल्सलाई कम्युनिष्ट पार्टीको घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मेवारी सुम्प्यो । उहाँहरूको एक वर्ष लगाएर उक्त जिम्मेवारी पुरा गर्नु भयो । र सन् १८४८ को फेबुअरीमा माक्र्स र एंगेल्सले विश्वविख्यात ‘कम्युनिष्ट घोषणापत्र’ जारी गर्नु भयो । यो नै विश्व सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक हतियार बन्न पुग्यो । र यसलाई नै माक्र्सवाद भनिन्छ ।
माक्र्सवाद सर्वहारा क्रान्तिको बैज्ञानिक सिद्धान्त हो । माक्र्सवादको विकास पूँजीवादको प्रारम्भिक अवस्थामा भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बन्न प्रयोगको भूमिका र बैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । अर्थात् प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पूँजीपतिवर्गको राज्यव्यवस्थालाई ध्वस्त पारी त्यसको ठाउँमा सर्वहारा श्रमजीवी वर्गको राज्यव्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउँदछ ।
माक्र्सवादका तीन संघटक अंग छन् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । माक्र्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । मानवजातीको जातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तरगत वर्ग, वर्गसङ्घर्ष, पार्टी, राज्यसत्ता सर्वहारा अधिनायकत्व र ती सबैको विलुप्तिको वैज्ञानिक अध्ययन गरिन्छ । सर्वहारा क्रान्तिको यो वैज्ञानिक तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरुद्ध खडा छ । यो बैज्ञानिक सिद्धान्तसँग सामना गर्न सक्ने क्षमता आज कसैसँग छैन । यो वैज्ञानिक र गतिशिल सिद्धान्त भएकोले आज यो माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा विकसित भएको छ ।
माक्र्सवादको गुणात्मक विकासले दोस्रो चरण लेनिनवाद हो । पूँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्कारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकता बीचबाट लेनिनवादको जन्म भएको हो ।
माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँचरण माओवाद हो । सामन्तवादी, साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नु पर्ने, रुस एवम् पूर्वी युरोपका कैयौँ देशहरूमा पूँजीवादको पुनःस्थापनाका कारणहरूको खोजगरी त्यसबाट शिक्षा लिनु पर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नु पर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाई लड्नुपर्ने आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद लेनिनेवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेश्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भयो । यसैलाई नै माओवाद भनिन्छ ।
माक्र्सवादको उदयले विश्व मानव समाजमा ठूलो क्रान्ति ल्यायो र हलचल नै पैदा गरि दियो । तर माक्र्सवादको जन्मसँगै यसको विरोधीधारा दक्षिणपन्थी संशोधनवादको पनि जन्म र विकास भयो । माक्र्सवादको जुन लेनिनवाद र माओवादमा किास हुन पुग्यो, त्यसैगरी संशोधनवादले पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवाद हुँदै प्रतिक्रियावादमा गुणात्मक रूपमा विकास गर्न पुग्यो ।
संशोधनवादको श्रोत साम्राज्यवाद, पूँजीवाद र निम्न पूँजीवाद हो । यसलाई लेनिनले अन्तरराष्ट्रिय परिघटनाको रूपमा संश्लेषण गर्नु भएको छ । यहाँनिर बुझ्नै पर्ने कुरा के हो भने माक्र्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । माक्र्सवादको संद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्दछन्, त्यो बेला संशोधनवादको जन्म हुनछ । माक्र्सवादको जन्मको लगत्तै पु्रँधो जस्ता अवसरवादीहरूको जन्म भएको हो । माक्र्सवादलाई पुरानो भइसकेको ‘जडसूत्रवादी’ सिद्धान्त बताउँदै यसको संशोधन र पुनर्विचारको प्रस्थापना पेश गर्ने पहिलो व्यक्ति बर्नस्टाइन हो । अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी, उग्रवामपन्थि एवम् मध्यपन्थी रूपहरू विभिन्न कालखण्डमा देखा पर्दै आएका छन् र यिनमा दक्षिणपन्थी संशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतरनाक रही आएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवाद– प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादीका रूपमा पतन हुन पुगेको छ । यसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । यो संशोधनवाद अन्तरराष्ट्रिय परिघटना भएकाले हरेक देशमा क्रान्तिका विशेषतासँगै संशोधनवादले आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछ । सामाजिक र सैद्धान्तिक विशेषताहरू सहित संशोधनवादको जन्म हुने गर्दछ ।
संशोधनवादले माक्र्सवादका संघटक अंगको बारेमा दर्शन, राजनीतिक र समाजवाद तीनवटै संघटक अंगलाई संशोधित एवम् विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा काण्टवाद, प्रत्यक्षवाद, अनुभववाद, व्यवहारिकतावाद, संकल्पवाद, भँडुवा विकासवाद र नानाथरीका विचारपन्थि सारसंग्रहवादलाई आत्मसात गर्दै आएको छ । द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादका विरुद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पूँजीवादी संकट तथा मूल्यसिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजित अर्थतन्त्रका विरुद्ध अराजक, स्वतः स्फूर्तवादी उत्पादक शक्तिको सिद्धान्त अंगाल्नु यसका मूलभूत सिद्धान्तहुन् । समाजवादको क्षेत्रमा यसले वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, पूँजीवादी अधिनायकत्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दछ र मजदूर आन्दोलनलाई सुधारवादी संसदवादी भासमा फसाउनु यसका मूलभूत विशेषता हुन् ।
माक्र्सवाद इतिहास– विज्ञानको महान् खोज थियो । वर्गसङ्घर्षको सर्वहारा अधिनायकत्वमा विकास र साम्यवादको स्थापना त्यसको खोजको केन्द्रीय कडी सर्वहारावर्गको अधिनायकत्व थियो । सबै खाले संशोधनवादीहरूले माक्र्सवाद त्यसै केन्द्रीय कडीमाथि प्रहार गर्दै आएका छन् । आधुनिक संशोधनवादको सुत्रपात मुख्यतः खु्रश्चोभबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पूँजीवादको स्थापना ग¥यो । पछिल्लो अवधिमा आउँदा क. माओले एकातिर अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको गहन अध्ययन र अर्काेतिर स्वयं चीनमै जटिल बन्दै गराइरहेको पूँजीवादको स्थापना रोक्नका लागि सर्वहारा अघिनायकत्व अन्तरगत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरी महान् दश वर्षे सांस्कृतिक क्रान्ति संचालन गर्नु भयो ।
नेपाली कम्युनिष्ट आन्दोलन पनि दक्षिणपन्थी संशोधनवादको प्रभावबाट अघुत्तो रहने कुरै भएन । यस आन्दोलनले ६३ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलन भित्र वर्गसङ्घर्ष, जनआन्दोलन र अन्तर सङ्घर्षका अनेकौं जटिल, बाङ्गाटिङ्गा र कहालिलाग्दा घुम्तिहरू रहेका छन् । यद्यपे यो आन्दोलन लामो समय पहिले देखि अनेकौं समूह–उपसमूहहरूमा विभाजित अवश्यै रह्यो । अतः सारमा यस आन्दोलन भित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आयो । आज नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी–सुधारवादी धाराले आफूलाई विजातीय कित्तामा सामेल गर्दे दक्षिणपन्थि एवम् आधुनिक संशोधनवादी तथा नवसंशोधनवादी धारामा गुणात्मक रूपमा फड्को हान्न पुगेको छ भने यसको विपरित नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा आज माक्र्सवादी लेनिनवादी–माओवादीका रूपमा गुणात्मक ढंगले विकसित हुन पुगको छ ।
एकीकृत माओवादी पार्टीको मूख्य नेतृत्व संहाल्दै आएका प्रचण्ड–बाबुराम नवसंशोधनवादको दलदलमा नराम्ररी फस्न पुगे पछि लामो समयदेखि दुइलाइन सङ्घर्ष संचालन गर्दै आएको पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी विचारसमूहले गत असार ४ गतेको राष्ट्रिय भेलाबाट नवसंशोधनवादसँग सम्बन्ध विच्छेद गरेर नेकपा–माओवादीको पनर्गठन गरेपछि नवसंशोधनवाद नराम्रो पराजित हुन पुगेको छ । नवसंशोधनवादका मूल पात्र प्रचण्ड र बाबुराम हुन् । संशोधनवादको वर्गीय आधार निम्नपूँजीवाद भएकोले आजको युगमा संशोधनवाद साम्राज्यवादसँग अभिन्न रूपमा गाँसिएको छ । अन्ततः संशोधनवाद भनेको पूँजीवादकै एउटा रूप हो । सैद्धान्तिक रूपमा भन्नु पर्दा संशोधनवाद दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको भ्रष्टीकरणमा आधारित रहेको हुनछ ।
प्रचण्ड–बाबुराममा दर्शनको क्षेत्रमा एकमनावाद, अनुभववाद, बहुलवाद, व्यवहारवाद र सारसंग्रहवाद पाइन्छ भने राजनीतिक कार्यदिशाको क्षेत्रमा सुधारवाद, संझौतावाद, समन्वयवाद पाइन्छ । त्यस्तै सेना सम्बन्धी निसस्त्रीकरण र विघटन, पार्टी सङ्गठनका क्षेत्रमा विसर्जन, वर्गीय तथा राष्ट्रिय रूपमा आत्मसमर्पणवाद, संविधान निर्माणको क्षेत्रमा पार्टी निर्णयको परित्याग, आर्थिक तथा सांस्कृतिक आचरणको क्षेत्रमा सर्वहारा वर्गीय आचरणको परित्याग र भ्रष्टीकरण तथा विचल पैदा भयो । यो नव संशोधनवादी प्रवृत्ति हो ।
नव संशोधनवादीहरूको मूल प्रवृत्ति भनेको मालेमावादको खोल ओढेर कुरा क्रान्तिको गर्ने र व्यवहारमा गैह्र क्रान्तिकारी प्रतिक्रान्तिकारी भूमिका निर्वाह गर्ने र छलछाम, षडयन्त्र र तिकडमवाजीको रोलर खोल्नु हो । प्रचण्ड–बाबुरामबाट यस्तै हुँदै आएको छ ।
अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन आज यसरी माक्र्सवाद र संशोधनवादको भीषण द्वन्द्वको बीचबाट गुज्रदै आउँदा क्रान्ति र प्रतिक्रान्तिका जीत र हारका अनेकौं घटनाहरू घटिसकेका छन् । सारा संशोधनवादीहरूको क्रान्तिकारी हरूलाई उग्रवादी, आतंकवादी, जडसूत्रवादी, लफडावाजी, लम्पट सर्वहारा आदि भनेर वदनाममात्र गरेका छैनन् भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् । वास्तवमा नव संशोधनवादी बर्नस्थटाइन, काउत्स्की, खु्रश्चोभ– ल्यू शाओ ची भन्दा पनि अझै भल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पूँजीवादी संसद र बहुलवादलाई आदर्श मान्दै यूरो कम्युनिज्मको पतीत् सिद्धान्तसम्म अंगाल्न पुगेका छन् र आज नवसंशोधनवाद नाङ्गो पूँजीवादमा समेत गिर्न पुगेको छ ।
पुनर्गठित ने.क.पा.–माओवादीले नेपाली क्रान्तिका बाँकी कार्यभारहरू पुरा गर्ने महान्् उद्देश्यका साथ देशव्यापी रूपमा पार्टी सङ्गठनहरूलाई सुद्रित गर्ने सिलसिलामा आगामी पौष २५ गते दखि राजधानीमा नै ऐतिहासिक राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने घोषणाका साथ अहिले पार्टि सदस्यता नविकरण र वितरण जनवर्गिय तथा मोर्चा सङ्गठनहरूको भेला, सम्मेलन गरिरहेको छ । मङ्सिर महिनाभरि गाउँ, एरिया, जिल्ला सम्मेलनहरू गरिसक्ने र पौष १० गते भित्र सबै राज्य स्तरका अधिवेसनहरू सम्पन्न गरिसक्ने निर्णय गरिसकेपछि नेपालको वर्तमान कम्युनिष्ट नयाँ तरङ्ग पैदा गरिदिएको छ । आगामी महाधीवेशनले निर्धारण गर्ने कार्यदिशाले नै नेपाली क्रान्तिको भविष्यको निर्धारण गर्ने भएकोले अहिले ने.क.पा.–माओवादीभित्र आगामी नेपाली क्रान्तिको सहि, वैज्ञानिक र क्रान्तिकारी कार्यदिशा के हुने भन्ने विषयमा व्यापक बहस आरम्भ भएको छ । कातिक भरिमा पार्टीको केन्द्रीय कमिटिले महाधिवेशनमा प्रस्तुत राजनैतिक प्रतिवेदन तयार गरेर सम्पूर्ण पार्टी सदस्यहरूको बिचमा पु¥याईसक्ने र त्यसपछि व्यापक बहस चलाउने निर्णय गरिसकेको छ । यस निर्णयले पार्टी भित्रका आम क्रान्तिकारीहरूलाई उल्लेदत गराइसकेको छ । ने.क.पा.–माओवादीको यो बृहत तयारीलाई देखेर आतङ्कीत भएको एमाओवादी भित्रको नवसंशोधनवादी गुटले आगामी महाधिवेशन एकताको महाधिवेसन हुनेछ, पार्टी एकता भइछाड्छ र माओवादीले पनि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराएर हामी जस्तै संसदिय पार्टी बनाउँदै छ भन्ने जस्ता अनर्गल प्रचर वाजी छेडेर धुत्याई प्रस्तुत गरिहेको छ । यी सबै कुराहरू उनिहरूले अहिलेसम्म गर्दै आएको जालझेल षडयन्त्रको राजनीति हो भन्ने कुरा बुझ्न र आफ्नो गुमीसकेको अस्तितव बचाउनको निम्ती गरिएको प्रपञ्च बाहेक केही हैनन् भन्ने कुरा बुझ्न आवश्यक छ र क्रान्ति गर्नका निम्ती क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी आवश्यक पर्ने भएकोले ने.क.पा.–माओवादी यहि दार्शनिक मान्यतालाई आत्मसाथ गरेर नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माण गर्न बाध्य भएको कुरा बुझन आवश्यक हुन्छ । यी तमाम प्रकारका सकारात्मक र नकारात्मक विषयहरूदलाई आम कामर्यकर्ता र जनताका बिचमा लैजान आवश्यक छ । यो सानो लेखले नवसंशोधनवादीहरूको जालझेल षडयन्त्र र तमाम प्रकारका प्रपञ्च तथा धुत्याँईहरूलाई नाङ्गेझार पार्न र क्रान्तिकारी माक्र्सवादका आधारभूत सिद्धान्तहरूमा अडिग रहि महान्् नेपाली क्रान्तिलाई सम्पन्न गर्ने कठिन तर महान्् लक्ष्यका साथ पार्टीको यो पुनर्गठनको यो महान्् प्रक्रियामा प्रतिबद्धताका साथ आवद्ध भइरहेका नेता–कार्यकर्ताहरूलाई सैद्धान्तिक तथा वैचारिक आधारहरू निर्माण गर्नको निम्ती यो सानो लेख कोशे ढुंगा समवित हुनेछ भन्ने विश्वास लिएको छु । नेपाल क्रान्ति सम्भव छ त्यसैले हामी क्रान्तिको निम्ती समप्रित भएकाहरूले मालेमाावादको रक्षा, विकास र प्रयोग गर्ने सभावलमा प्रथमतः सबैखाले संशोधनवाद र विशेषतः नवसंशोधनवादका विरूद्ध भिषण वैचारिक सङ्घर्ष गरेर मात्र हामीले क्रान्तिमा होमिन सक्छौं ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment