Wednesday, March 20, 2013
क्रान्ति र विद्रोह
“ क्रान्ति विज्ञान हो, विद्रोह कला हो ।”
–भ्लादीमिर इल्यिच लेनिन
विषय प्रवेश ः–
विश्व सर्वहारावर्गका महान्् नेता भ्लादीमिर इल्यिच लेनिनले क्रान्तिलाई विज्ञानका रूपमा संश्लेषण गर्नुभएको छ भने विद्रोहलाई कलाको रूपमा संश्लेषण गर्नुभएको छ । सामान्य रूपमा क्रान्तिको अर्थ हुन्छ परिवर्तन, उलटफेर या पूरानाको ठाउँ नयाँले लिनु अर्थात स्थापित प्रणालीलाई आमूल परिवर्तन गर्नु या एउटालाई पल्टाएर अर्को शक्तिले सत्ता कब्जा गर्नुलाई क्रान्ति भनिन्छ । तर, राजनीतिक अर्थमा एउटा वर्गको सत्तालाई अर्को वर्गले जबरजस्ती छिन्नु या कब्जा गरी आफ्नो शासन कायम गर्नुलाई क्रान्ति भनिन्छ । क्रान्तिबारेमा सबभन्दा पहिले अरस्तुले विभिन्न देशमा भएका क्रान्तिहरूका आधारमा सिद्धान्त प्रतिपादन गरेको पाईन्छ । क्रान्ति भनेको राज्य, संविधान वा सत्तामा हुने परिवर्तन हो । अरस्तुले क्रान्तिलाई आंशिक तथा पूर्ण क्रान्ति, रक्तरहित वा रक्तपातपूर्ण क्रान्ति तथा गैरव्यक्तिगत क्रान्ति वा वर्गविशेषको क्रान्तिको रूपमा विभाजन गरेका छन् । क्रान्तिबाट स्थापित शासन व्यवस्थालाई विस्थापित गरेका छन् । क्रान्तिबाट स्थापित शासन व्यवस्थालाई विस्थापित गरी त्यसको ठाउँमा अर्को सत्ता स्थापित गरिन्छ ।
कार्ल माक्र्सले क्रान्तिलाई मजदूरहरूले पूँजीपतिविरुद्ध गरिने विद्रोह र पूँजीपतिको हातबाट सत्ता कब्जा गरी आफ्नो सर्वहारावर्गको सत्ता कायम गर्नुलाई क्रान्ति भनेका छन् । लेनिनले कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिने मजदूरवर्गको अगुवाईमा सशस्त्र क्रान्ति गरी सत्ता कब्जा गर्नु र समाजवादको स्थापना गर्नुलाई क्रान्ति भनेका छन् । माओत्सेतुङले सम्झौता रहित सघर्षबाट सत्ता कब्जा गर्नुलाई भनेका छन् ।
विश्वमा सामन्तावादका विरुद्ध, पूँजीवादी क्रान्ति, उपनिवेशवादका विरुद्ध राष्ट्रिय स्वाधीनता आन्दोलन, पूँजीवादका विरुद्ध समाजवादी क्रान्ति जस्ता क्रान्तिहरू बारम्बार भएका छन् । विश्वमा चर्चित क्रान्तिहरूमा फ्रान्सेली राज्यक्रान्ति, रुसमा भएको महान्् अक्टुबर क्रान्ति, महान् चिनिया नयाँ जनवादी क्रान्ति, अमेरिकाको स्वतन्त्रता संग्राम, भारतको स्वतन्त्रता आन्दोलन, बेलायतको गौरवमय क्रान्ति, भियतनामी क्रान्ति, क्यूवाको समाजवादी क्रान्ति आदि रहेका छन् । नेपालमा भने ठूला–ठूला राजनीतिक विद्रोह भएका छन् तर क्रान्ति सम्पन्न गर्ने काम बाँकी नै छ । २००७ सालमा राणाशासनका विरुद्ध विद्रोह भयो । २०४६ सालमा निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध विद्रोह भयो । २०५२ साल देखि १० वर्षसम्म माओवादीद्वारा राजनीतिक विद्रोह संचालन भयो । २०६२÷०६३मा निरंकुश राजतन्त्रका विरुद्ध विद्रोह भयो । त्यो विद्रोह राजतन्त्रलाई अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नका लागि प्रमुख आधार बन्यो । नेपालमा अहिलेसम्म संचालन भएका विद्रोहहरू सम्झौतामा टुंगी आएका छन् । आमूल परिवर्तनलाई पकड्न सकेका छैनन् ।
विश्वसर्वहारावर्गका महान्् नेता लेनिनले संश्लेषण गर्नुभएको आजको युगको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । विज्ञान र प्रविधि तथा विद्युतीय सूचना प्रविधिको विकासले आजको युग भूमण्डलीकृत साम्राज्यवाद र सर्बहाराक्रान्तिको युगमा विकासित हुन पुगेको छ ।
यथास्थितिबाट मुक्त हुनलाई गरिने सशक्त विरोधलाई विद्रोह भनिन्छ । विद्रोह गर्नु मानिसको अधिकार मानिन्छ । सरकारको कार्यसंचालनमा बाधा पु¥याउने वा राज्यलाई असफल पार्ने उद्देश्यले गरिएको ठूलो उपद्रव, विप्लव, क्रान्ति विद्रोह हो । स्थापित व्यवस्था विरुद्ध गरिने सबैखालका विभति र सङ्घर्ष विद्रोह हुन् । यसको स्तर र प्रक्रिया भने फरक – फरक हुन सक्छ । विद्रोह शान्तिपूर्ण वा हिंसात्मक दुवै हुन सक्छ । महान्् लेनिनको नेतृत्वमा संचालन गरिएको जनविद्रोहले सन् १९१७ अक्टुबर २५ का दिन वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गरेको थियो । २०५२ सालमा नेकपा माओवादीले शुरु गरेको सशस्त्र जनयुद्ध पनि तत्कालिन राज्यसत्ताका विरुद्ध संचालन गरिएको सबैभन्दा ठूलो जनविद्रोह थियो ।
अर्कोतिर जुनदेश अविकसित छन्, जुन देशहरू अर्धसामन्ती तथा अर्धऔपनिवेशिक छन् औपनिवेशिक वा नवऔपनिवेशिक अवस्थामा रहेका छन् र जहाँ सामन्तवाद, साम्राज्यवाद, विस्तारवादसीत जनताका आधारभूत तथा प्रधानअन्तरविरोधहरू रहेका हुन्छन्, त्यहाँ देशीय सामन्तवाद वैदेशिक प्रतिक्रियावादका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न आवश्यक हुन्छ । यस अवस्थाको समाधान महान्् चिनियाँ नयाँ जनवादी क्रान्तिले गरेको थियो ।
नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक र नवऔपनिवेशिक नेपाली समाजमा सामन्तवाद र वैदेशिक प्रतिक्रियावादसीत आम नेपाली जनताका आधारभूत एवम् प्रधान अन्तरविरोध रही आएका छन् । यो स्थितिमा नेपालमा नयाँ जनवादी क्रान्ति गर्नु पर्छ । नेपाली नयाँ जनवादी क्रान्ति सामन्तवाद–साम्रज्यवाद तथा विस्तारवादका विरुद्ध परिलक्षित रही आएको छ । नेपाली नयाँ जनवादी क्रान्तिका दुई ऐतिहासिक कार्यभार रही आएका छन् ती हुन् पहिलो सामन्तवादका विरुद्ध जनवादको स्थापना गर्नु र दोश्रो वैदेशिक प्रतिक्रियावदका विरुद्ध देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौभिकताको रक्षा गर्नु । नेपालमा सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी गणतन्त्रको स्थापना भए पछि माथि उल्लेखित कार्यभारहरू पूरा हुन्छन् र त्यस पश्चात मात्र समाजवादी क्रान्ति चरण शुरु हुन्छ ।
क्रान्तिको नेतृत्वदायी शक्ति ः–
वर्तमान अवस्थामा एकीकृत नेकपा कम्युनिस्ट पार्टी (माओवादी) नयाँ नेपाली जनवादी क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति हो । नेपाली क्रान्तिका बाँकी कार्यभार यही पार्टीले नै पूरा गर्नु पर्नेछ । यसको पृष्ठभूमि यस्तो छ – २०१७ सालको फौजीकाण्ड २०१९ सालको नेकपाको तेश्रो महाधिवेशन नेपाली जनवादी क्रान्ति र कम्युनिस्ट आन्दोलनको इतिहासमा गम्भीर र अत्यन्तै नकरात्मक परिघटनाहरू थिए ! त्यसै अवस्थामा पार्टीभित्र दक्षिणपन्थि संशोधनवादको विगविगी र बाहिर पञ्चायती निरंकुशताको विगविगी बढेको थियो । त्यस्तै अवस्थामा नेकपा भित्र व्यापक फुट, विजान उत्पन्न भयो र नेपाली कम्युनिस्ट आन्दोलन फुटेर छरप्रष्ट भयो । त्यसै प्रक्रियामा तिनलाई स्वेर्दे माक्र्सवाद–लेनिनवाद र माओविचारको आलोकमा नेपाली कम्युनिस्ट आन्दोलन र नयाँ जनवादी क्रान्ति अगाडि बढाउन नयाँ ढँगले संगठीत भएर अघि बढ्ने प्रक्रिया शुरु भएका थिए । त्यसैबेला २०२५ सालको पुष्पलाल समूहको तेश्रो सम्मलेन २०२८ सालको ऐतिहासिक झापा विद्रोह र २०६१ सालको चौथो राष्ट्रिय महाधिवेशनको महत्वपूर्ण भूमिका रहेको थियो ।
२०४६ सालको जनआन्दोलनको बलबाट ३० बर्षे पञ्चायती व्यवस्थाको अन्त्य भयो र बहुदलीय व्यवस्थाको पुनःस्थापना पश्चात जनवादी क्रान्ति र कम्युनिस्ट आन्दोलनको इतिहासका अर्को मोडको थालनी भयो । एकातिर दक्षिणपन्थी अवसरवादीहरूका बीच एकता भई बहुलवाद र जनताको बहुदलीय जनवादको वैचारिक संश्लेषणमा नेकपा एमालेको निर्माण भयो भने अर्कोतिर क्रान्तिकारी कम्युनिस्टहरू मिलेर माओवाद, नयाँ जनवाद र दिर्घकालिन जनयुद्धको मान्यताका आधारमा पहिले नेकपा (एकता केन्द्र) र पछि नेकपा (माओवादी) को निर्माण भयो । २०५२ सालमा माओवादीको नेतृत्वमा महान्् जनयुद्धको थालनी भयो । जनयुद्धको प्रक्रियामा जनमुक्ति सेनाको निर्माण भयो । आधार इलाकाहरूको निर्माण भयो । जनकम्युनिस्टहरू र जनसरकारहरू निर्माण गरिए । माओवादी जनयुद्ध रणनीतिक रक्षा तथा सन्तुलनका चरणका बीचबाट अघि बढ्यो । तर शान्ति प्रक्रियामा आएर महान्् जनयुद्धलाई टुँग्याउने काम गरिएको छ र मुख्य नेतृत्वले दक्षिणपन्थी अवसरवाद बाटो पकडेर आत्मसमर्पणवादी बाटो समात्न पुगे पछि पार्टीभित्र गम्भीर प्रकृतिक समस्याहरू उत्पन्न भएका छन् ।
मार्गदर्शक सिद्धान्तका सन्दर्भमा ः–
क्रान्तिका लागि क्रान्तिकारी पार्टीको आवश्यकता पर्दछ र यसलाई मार्गनिर्देशन गर्न क्रान्तिकारी सिद्धान्तको आवश्यकता पर्दछ । माक्र्सवाद विश्वसर्वहारावर्गको क्रान्तिकारी सिद्धान्त हो । आज त्यस सिद्धान्तको माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा विकास भएको छ । माक्र्सवाद–लेनिनवाद–माओवाद आज विश्व सर्वहारावर्गको मार्गदर्शक सिद्धान्त बनेको छ र मालेमावादलाई अस्वीकार गर्नेहरू कम्युनिस्ट नै बन्न सक्दैन । एमाओवादीको मार्गदर्शक तथा पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो । तर शान्ति प्रक्रियासँग एकता प्रक्रिया अघि बढ्यो र त्यस पछि मार्गदर्शक सिद्धान्तका क्षेत्रमा माओवाद र विचार दुईवटा पदावली प्रयोग गरेर पार्टीको पथप्रदर्शक सिद्धान्तलाई धेरै तल खस्काउँदै लैजाने काम भएको छ । उपाध्यक्ष डा. बाबुराम भट्टराईले “आजको माक्र्सवाद” भन्ने विचार पार्टीभित्र प्रवेश गराएर झण्डै एकसय बर्ष अघि देखा परेको संशोधनवादका संस्थापक बर्नस्टाइनको माक्र्सवाद पूरानो भयो भन्ने अहिले पार्टीभित्र जब्बर रूपमा प्रकट भएको छ ।
माक्र्सवादको विकाससँग–सँगै संशोधनवादको पनि विकास भयो । संशोधनवादको जन्म साम्राज्यवादको जन्मसीतै भएको थियो र साम्राज्यवादले भूमण्डलीकृत लिएपछि संशोधनवादले पनि भूमण्डलीकृत रूपधारण गरेको छ । हामीले के कुरा बुझन आवश्यक छ भने “आजको माक्र्सवाद” ले वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष, सर्वहारावर्गको अधिनायकत्व जस्ता माक्र्सवादका आधारभूत सिद्धान्तहरूको अपव्याख्या गर्ने एवम् त्यसलाई तोडमोड गर्ने प्रयास गरेको छ र यसले माक्र्सवाद प्रति अनास्था फैलाउने एवम् दक्षिणपन्थी संशोधनवाद प्रति आस्था फैलाउने प्रयास गरेको छ ।
नेपाली संशोधनवादीहरू आज नववामपन्थी र उत्तर आधुनिकतावादका पछि–पछि लागेका छन् । विभिन्न रूप र रङ्गमा प्रस्तुत भएका संशोधनवादीहरूको विरोध गरेर मात्र माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकास गर्न सकिन्छ । सिद्धान्तको रक्षा, प्रयोग र विकासको कुरा गर्दा कथित व्यवहारवाद, अनुभववाद, सारसंग्रहवाद, जडसुत्रवाद, वितण्डावाद आदिको सरन्त विरोध गर्दै सिद्धान्तलाई साइनवोर्डको रूपमा प्रयोग गर्ने तथा खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने प्रवृत्ति अर्थात् बहुलवाद, संसदवाद, युरोकम्युनिस्टको विरोध र भण्डाफोर गरेर मात्र सिद्धान्तको रक्षा, प्रयोग र विकास गर्न सम्भव हुन्छ । जो यो प्रवृत्तिहरू आज एमाओवादी पार्टीभित्र हावी भइरहेका छन् ।
क्रान्तिकारी पार्टी निर्माणको सवाल ः–
क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तको आवश्यकता परे झैं क्रान्तिका लागि क्रान्तिकारी पार्टीको पनि त्यत्तिकै आवश्यकता पर्दछ । क्रान्तिकारी सिद्धान्तले लेसविनाको अक्रान्तिकारी पार्टीले क्रान्ति सम्पन्न गर्न सक्दैन । यसै प्रसँगमा माओत्सेतुङले अगाडि भन्नुभएको छ,– “क्रान्ति सम्पन्न गर्नका निम्ति क्रान्तिकारी पार्टी हुन अनिवार्य छ । क्रान्तिकारी पार्टीविना, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र पद्धतिमा आधारित पार्टीविना साम्राज्यवाद र त्यसका पाल्तु कुकुरलाई परास्त गर्नका निम्ति श्रमजीवी वर्ग र व्यापक जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।” अतः क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी पार्टी निर्माणका बारेमा माओका यी भनाईहरू वैज्ञानिक छन् ।
तर अहिले माओवादी पार्टी जुन अवस्थामा आईपुगेको छ यही अवस्थामा यो पार्टीले नेपाली नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्न सक्दैन, किनभने मार्गदर्शक तथा पथप्रदर्शक सिद्धान्तमा पार्टी विचलित भईरहेको छ । पार्टीभित्र दक्षिणपन्थी संशोधनवाद हावी भईरहेको छ । पार्टीभित्र विविध प्रकारका गुट–उपगुटहरू निर्माण भईरहेका छन् । पार्टीभित्र वर्ग उत्थान भएको छ । अभिजात वर्गको उदय भईसकेको छ । पार्टीको मूल नेतृत्व समेत वर्गसमन्वयवाद र आत्मसमर्पणवादको दलदलमा फसीरहेको छ । पार्टी आर्थिक तथा साँस्कृतिक विचलनको सिकार बनिरहेको छ । पार्टीभित्रको अनुशासन पूर्ण रूपमा विसर्जीत हुन पुगेको छ । यस्तो सिद्धान्तविहिन, आचार–विचार र व्यवहारविहिन तथा अनुशासनविहिन पार्टीले क्रान्तिको नेतृत्व गर्न असम्भव हुन्छ । यसै प्रसँगमा लेनिनले कस्तो कम्युनिस्ट पार्टीले मात्र आफ्नो कर्तव्य पूरा गर्न सक्छ भन्ने बारेमा अगाडि लेख्नु हुन्छ, – “ कम्युनिस्ट पार्टीले त्यो बेलासम्म आफ्नो कर्तव्य पूरा गर्नेछ, जब त्यो ज्यादै केन्द्रित ढँगले संगठीत भएको हुन्छ, जब त्यो सैनिक अनुशासनको समान लौह अनुशासन कायम गर्न समर्थ हुन्छ र जब यसको पार्टी केन्द्र व्यापक अधिकारको प्रयोग गर्दै तथा पार्टीका समस्त सदस्यमा आम विश्वास जगाउँदै शाक्तिशाली तथा प्राधिकारपूर्ण अँग बनेको हुन्छ ।” साथै क्रान्तिकारी सिद्धान्तलेलेस पार्टीका बारेमा लेनिनले पुनः अगाडि लेख्नु हुन्छ, – “ उत्पन्त विकसित सिद्धान्तद्वारा निर्देशित पार्टीले मात्र अग्रगामी लडाकुको भूमिका पूरागर्न सक्छ । लेनिनका यी भनाईहरू अत्यन्तै वैज्ञानिक र सान्दर्भिक रहेका छन् । यी लेनिनका प्रस्थापनाहरूबाट एमाओवादी पार्टी विचलित भईसकेको छ र क्रान्ति सम्पन्न गर्न आँट पार्टी नेतृत्वले छोडी सकेको छ । साहसीलो र क्रान्तिकारी पार्टीविना क्रान्ति सम्पन्न गर्न असम्भव हुन्छ । त्यस्तो पार्टीको आवश्यक पर्दछ । यसै प्रसँगमा स्टालिनले अगाडि भन्नु हुन्छ, – “ सर्वहारावर्गको लागि एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ, यस्तो साहसीलो पार्टी जसले सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्छ, यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र त्यस्तो लचिलो जो आफ्नो लक्ष्य प्राप्तिको बाटोमा रहेको सारा लुकेका चट्टानहरूबाट जोगिएर अगाडि बढ्न सक्छ, यस्तो पार्टी नभईकन साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा अधिनायकतन्त्र कायम गर्ने कुरा सोच्न निरर्थक हुन्छ ।” महान्् लेनिन, स्टालिन र माओका भनाईहरूका विपरित माओवादी पार्टी आईपुगेको छ । तसर्थ त्यही अवस्थामा यो पार्टीले नेपाली क्रान्तिको नेतृत्व गर्न सम्भव छैन । त्यसैले नेपाली क्रान्ति अर्थात् नयाँ नेपाली जनवादी क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्नका लागि क्रान्तिकारी रूपान्तरण सहितको नयाँ ढँगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न आवश्यक छ । पार्टीका वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य किरणको नेतृत्वमा संगठीत भएको क्रान्तिकारी विचार समूहले यस किसिमको क्रान्तिकारी पार्टी निर्माण गर्ने प्रक्रियाको जोडदाररूपले थालनी गरिसकेको छ । र यस्तो पार्टीविना नेपाली क्रान्ति सम्पन्न हुन सक्दैन भन्ने कुरा वास्तविकतामा परिणत भईसकेको छ ।
क्रान्तिकारी नेतृत्वको सवाल ः–
क्रान्ति सम्पन्न गर्नका निम्ति क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीको आवश्यकता परे भैm क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी नेतृत्वको पनि उत्तिकै आवश्यकता पर्दछ । क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीमात्र भएर पुग्दैन । क्रान्तिलाई विजयसम्म पु¥याउनका लागि क्रान्तिकारी नेतृत्वको महत्वलाई गहिराईका साथ बुझ्न आवश्यक हुन्छ । रुसको महान्् लेनिनको, चीनको माओत्सेतुङको, भियतनामको हो चि मिन्ह, क्यूवाको फिडेल क्रयास्त्रोर चे ग्वेभाराको क्रान्तिकारी नेतृत्वले गर्दा ती देशहरूमा क्रान्ति सम्पन्न भएको इतिहासको पाठ पनि यही नै हो ।
क्रान्तिको प्रश्न नेतृत्वसँग जोडिएको हुन्छ । नेतृत्व सम्बन्धित वैज्ञानिक अवधारणा, सामुहिक नेतृत्व प्रणाली, जनवादी केन्द्रियता, नेतृत्वको परीक्षण लगायतका विषयका बारेमा सिद्धान्त र व्यवहार दुबै दृष्टिले हेर्नु पर्ने हुन्छ । विनाविचारको नेतृत्वले क्रान्तिको नेतृत्व गर्न सक्दैन । विचार र नेतृत्वका बीच द्वन्द्वात्मक सम्बन्ध कायम भएको हुन्छ । विगतका कमी–कमजोरीहरूलाई सच्याएर त्यसबाट पाठ सिक्न आवश्यक हुन्छ । पार्टीभित्र सामुहिक नेतृत्व प्रणाली कायम गरिएकोमा त्यो व्यवहारमा कार्यान्वयन हुन सकेन । ऐतिहासिक धोवीघाटको भेलाको म्यान्डेट अनुसार केन्द्रिय समितिको वैठकले निर्धारण गरेको वैज्ञानिक कार्यविभाजनलाई पनि मुख्य नेतृत्वले लत्याएर वेइमानी गरे पछि त्यो पनि प्रयोगमा आउन सकेन ।
पार्टीको मुख्य नेतृत्व नै वैचारिक रूपमा विचलित भएर दिशाविहिन हुन पुग्नु र कहिले क्रान्तिकारीहरू माथि टेकेर पार्टी भित्रका दक्षिणपन्थीहरूलाई हान्ने र कहिले दक्षिणपन्थीहरू माथि टेकेर पार्टीभित्रका क्रान्तिकारीहरूलाई हान्ने प्रवृत्तिका कारण पार्टीलाई नेतृत्व प्रदान गर्ने सवलामा गम्भीर प्रकृतिका विचलनहरू मौलाउने मौका मिल्यो । त्यसैको सेरोफरोमा रहेर राष्ट्रघाती चारबूँदे सम्झौता, चाबी बुझाउने प्रकरण, भारतसँग विप्पा सम्झौता, राष्ट्रघाती सातबूँदे सम्झौता, जनमुक्ति सेनाको विघटन, कब्जा घर जग्गा फिर्ता जस्ता राष्ट्रघाती, जनघाती, क्रान्तिविरोधी सम्झौताहरू हुन गए । त्यस किसिमको क्रियाकलापले पार्टीको क्रान्तिकारी पनमाथि गम्भीर क्षति पु¥यायो । पार्टीको निर्णय विपरित लोकतान्त्रिक संविधान बनाउने संसदवादी दलहरूसँग सहमति हुन पुग्यो ।
मुख्य नेतृत्वमा आएको वैचारिक विचलनका कारण पार्टीभित्र वर्गउत्थान भएको छ । नवधनाढ्य र अभिजात वर्गको जन्म भएको छ । पार्टीभित्र आर्थिक–साँस्कृतिक विचलन आएको छ । पार्टीको क्रान्तिकारी स्प्रिट माथि स्खलन पैदा भएको छ । एक पटक निर्माण भएको कम्युनिस्ट पार्टीको नेतृत्व सघैं क्रान्तिकारी भईरहन सक्दैन भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ । त्यसमा रूपान्तरणको आवश्यकता परिरहन्छ । वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणको नेतृत्वमा संचालित क्रान्तिकारी विचार समूहले क्रान्तिकारी रूपान्तरण सहितको सामुहिक नेतृत्व प्रणाली स्थापित गर्ने र क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी रूपान्तरण सहितको नयाँ ढँगको कम्युनिस्ट पार्टी निर्माण गर्ने प्रश्नलाई कडाईका साथ उठान गरेको छ । क्रान्तिकारी रूपान्तरण हुनका लागि मुख्य नेतृत्वले अग्नि परीक्षा उत्तीर्ण गर्नु पर्नेछ ।
क्रान्तिका लागि क्रान्तिकारी नेतृत्व अनिवार्य रूपमा आवश्यक हुन्छ । नेतृत्वले क्रान्तिको प्रक्रियामा दिशा प्रदान गरिरहेको हुन्छ र त्यो रणनीति र कार्यनीतिमा खेल्ने गर्दछ । सही नेतृत्वले क्रान्तिलाई सही दिशा प्रदान गर्दछ र गलत नेतृत्वले क्रान्तिलाई पुरै विसर्जन गरिदिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा यस्तो हुँदै आएको छ । क्रान्तिको रक्षा र विकासका निम्ति हरेक वस्तुमा झैं एकको दुईमा विभाजनको द्वन्द्वात्मक भौतिकवादी नियमलाई अनुशरण गर्न आवश्यक हुन्छ क्रान्तिकारी रूपान्तरण सहितको नेतृत्व निर्माण गर्ने आँट क्रान्तिकारीहरूमा पैदा हुन आवश्यक हुन्छ । यो बृहत्तर क्रान्तिको हितमा हुने गर्दछ ।
चालु दुईलाइन सङ्घर्षका सन्दर्भमा ः–
अहिले पार्टीभित्र दुईलाइन सङ्घर्ष भीषण रूपमा चलिरहेको छ । दुईलाइन सङ्घर्ष पार्टीको जीवन हो । चालु दुईलाइन सङ्घर्षले पार्टीलाई गतिवान र जीवन्त बनाउन सफल भएको छ । यदि पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणको नेतृत्वमा स्थापित क्रान्तिकारी विचार समूहले दुईलाइन सङ्घर्ष संचालन नगरेको भए यतिखेर पार्टी विसर्जनको सिकार बनि सक्ने थियो ।
आज पार्टीभित्र क्रान्तिकारी माक्र्सवाद र दक्षिणपन्थी संशोधनवादका बीच क्रान्तिकारी कार्यदिशा र दक्षिणापन्थी संशोधनवादी एवम् बुर्जुवा सुधारवादी कार्यदिशाबीच दुईलाइन सङ्घर्ष र विचारधारत्मक अन्तः सङ्घर्ष भीषण रूपमा संचालन भईरहेको छ । पार्टीभित्र दक्षिणपन्थी, संशोधनवादी एवम् अवसरवादी व्यक्तिहरूले क्रान्तिकारी विचारसमूहले संचालन गर्दै आईरहेको विचारधारात्मक दुईलाइन सङ्घर्षलाई मुख्य नेतृत्वसँग निहु खोज्न लागेको भन्दै बदनाम गर्ने काम गर्दै आईरहेका छन् ।
क्रान्तिकारी विचार समूहले माग गरे पश्चात बसेको केन्द्रिय समितिको भरखरै सकिएको बैठकले पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले प्रस्तुत गरेका फरक–फरक दस्तावेजहरूलाई थाती राखेर सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने केन्द्रित रहने गरी आन्तरिक बहस चलाउने निर्णय गरे पछि चालु दुईलाइन सङ्घर्षको महत्व अरु बढेको छ ।
अहिले पार्टीभित्र संचालन भईरहेको दुईलाइन सङ्घर्षको बीचबाट नयाँ ढँगको कम्युनिस्ट पार्टी निर्माण गर्ने बलियो सैद्धान्तिक, वैचारिक आधार निर्माण भएको छ । अन्तर पार्टी सङ्घर्ष संचालनका प्रक्रियामा क्रान्तिकारीहरूले यसलाई अधिकतम रूपमा प्रयोग गर्न आवश्यक छ ।
जनसंविधान निर्माणको सवाल ः–
सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने एमाओवादी पार्टीको प्रमुख दायित्व हो । संविधानसभाद्वारा मुलुकका लागि नयाँ संविधान बनाउने कुरा २००७ सालदेखि नै उठ्दै आएको भएपनि माओवादीले महान्् १० वर्षे जनयुद्धको प्रक्रियासँगै संविधानसभालाई प्रमुखताका साथ उठाउँदै आयो र जनयुद्धकै प्रक्रियामा दुई–दुई पटकसम्म चलाईएको तत्कालिन सरकारसँगको शान्ति वार्तामा पनि उसले संविधानसभालाई अन्तिम वटमलाइन बनाएको थियो । यही संविधासभाले नै संसदवादी दलहरूलाई १२ बूँदे समझदारीमा ल्याएको थियो र माओवादी संसदवादी दलहरूको सहकार्यका आधारमा राजतन्त्रलाई अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्ने प्रमुख शस्त्र बन्यो । युद्धकालिन अवस्थादेखि नै माओवादीले संविधानसभालाई राष्ट्रिय संकट समाधानको वटमलाइन बनाएकै कारण २०६४ चैत्र २८ गते सम्पन्न संविधानसभाको पहिलो ऐतिहासिक निर्वाचनबाट नेपाली जनताले माओवादी पार्टीलाई संविधानसभाको सबैभन्दा ठूलो दलको रूपमा खडा गरे ।
नेतृत्वले पुनः वेइमानी, जाल झेल र षडयन्त्र नगरेमा जुन संविधान निर्माणको लागि राष्ट्रिय माहुल बन्ने छ । र यदि देशी विदेशी प्रतिक्रियावादी शाक्तिहरूबाट षडयन्त्र भयो भने पार्टीले जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने दिशामा अगाडि बढ्नुको विकल्प रहने छैन ।
मुख्य नेतृत्वको रूपान्तरणको सवाल ः–
कम्युनिस्ट पार्टी विपरितहरूको एकत्व हो । पार्टीभित्र विवादहरू पैदा हुनु, अन्तरसङ्घर्ष चल्नु स्वाभाविक प्रक्रिया मात्र होइन विज्ञानसम्मत कुरा हो । माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादी नियमको कुरा हो । माथि पार्टीभित्र अन्तर सङ्घर्ष र वर्गसङ्घर्षसँग यसको सम्बन्ध, क्रान्तिका उपलब्धि र लाइनको रक्षा आदि विषय जे जति चर्चा गरियो, त्यसमा प्रमुख नेतृत्वको भूमिका प्रमुख भएर आउँछ पार्टी आज यो अवस्थामा आइपुग्नका पछाडि मुख्य नेतृत्व नै जिम्मेवार भएको कुरामा कुनै सन्देह छैन । पार्टीको मुख्य नेतृत्वमा विचलन आएपछि नै पार्टीभित्र अन्तरसङ्घर्ष र दुईलाइन सङ्घर्ष भीषण बन्दै आएको हो ।
हाम्रो पार्टीभित्र संचालन भईरहेको दुईलाइन सङ्घर्षले कुनै पनि समस्या समाधान गर्न सकेको छैन झनै बढ्दै गएको छ । यसको मुख्य कारण के हो भने पार्टीको मुख्य नेतृत्वले आफ्नो वर्ग परिवर्तन गरेको छ । परिणामस्वरूप पार्टीभित्रको यो अन्तरविरोध परस्पर विरोधी वर्गीय हितको टक्करको रूपमा अभिव्यक्त हुन पुगेको छ । पार्टीको मुख्य नेतृत्वमा देखिएको यो विचलन नै यतिखेर पार्टीको मुख्य समस्या हो ! मुख्य नेतृत्वको विचार, राजनीति आचारण जुन विचलन देखा परेको छ, त्यसमा पुरै रूपान्तरणको आवश्यकता छ । यदि त्यसो हुन सकेन भने पार्टीको समस्या समाधान हुन सम्भव देखिदैन ।
भरखरै मात्र टुँगिएको केन्द्रिय समितिको बैठकले प्रचण्ड र किरणले प्रस्तुत गरेका फरक–फरक दुबै प्रस्तावहरूलाई थाती राखेर चार बूँदे विधिका आधारमा अन्तरपार्टी सङ्घर्ष संचालन गर्ने निर्णय गरेको छ । अब यो अवधि भित्र मुख्य नेतृत्व रूपान्तरण हुन तयार हुन्छ कि हुन्न ? यो प्रश्न नै मुख्य प्रश्न हो । पालुङटार बैठक र धोबीघाट भेला पश्चात बसेको केन्द्रिय समितिको बैठकले क्रान्तिकारी रूपान्तरणको विकल्प नरहेको निर्णय गरेर नेतृत्वको वैज्ञानिक कार्यविभाजन गरेको थियो । तर मुख्य नेतृत्व रूपान्तरण हुन तयार भएन र पार्टीभित्रको अन्तरसङ्घर्ष झनै उत्सर्गमा पुग्यो । मुख्य नेतृत्व रूपान्तरण हुन यो अवधिभित्र तयार भयो भने पार्टीभित्र उत्पन्न भएका धेरै समस्याहरू समाधान हुने छन्, नभए झनै बढेर जाने कुरा निश्चित छ । पार्टीभित्रका क्रान्तिकारीहरूले पर्खने र हेर्ने बाहेक अर्को विकल्प छैन । त्यति गर्दा पनि मुख्य नेतृत्व रूपान्तरण हुन चाहेन भने यो विधिबाट होइन अर्को विधि तय गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गर्ने योजनाका अगाडि बढ्नुको विकल्प रहने छैन ।
जनविद्रोहको विकल्प छैन ः–
सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधानको निर्माण गर्ने पार्टीको पहिलो कार्यदिशा र कार्यक्रम हो । यो संविधान समाजवाद उन्मुख हुने छ । साम्राज्यवादीहरू, विस्तारवादीहरू र तिनीहरूका नेपाली दलालहरू यस किसिमको जनसंविधान बनाउन कुनै पनि हालतमा दिनेवाला छैनन् । त्यसकै लागि पहिले शान्ति प्रक्रिया टुँग्याउने र पछि संविधान बनाउने कुरामा जोड दिँदै आएका छन् । शान्ति प्रक्रियासँग जोडिएको मुख्य जनमुक्ति सेनाको समायोजनको प्रश्न हो । त्यसो उनीहरूले पहिले पार्टीको मुख्य नेतृत्वलाई जनमुक्ति सेनाको हतियार भण्डारणको कण्टेनरको चाबी बुझाउने र जनमुक्ति सेनालाई विघटन गराउने सवालमा सफल भईसकेका छन् । यसमा उनीहरूले फेरी पनि जोड गर्नेछन् । समग्रमा पार्टीले अघि सारेको योजना र कार्यदिशा अनुसार जनताको संघीय संविधान बनाउने सवालमा उनीहरूसँग मुख्य सङ्घर्ष बढ्ने छ । त्यति बेला पार्टीको मुख्य नेतृत्व पहिले झै उनीहरूका सामु आत्मसमर्पण गर्ने हो कि दह्रो अडान लिने हो, त्यो हेर्न बाँकी नै छ ।
यदि देशी विदेशी प्रतिक्रियावादी शाक्तिहरूले जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्ने सवालमा षडयन्त्र गरे भने फेरी पार्टी तिनीहरूका सामु लत्त्रेर आत्समर्पण गर्ने कुरा आउँदैन । त्यतिबेला जनविद्रोहको तयारी गर्नु पर्छ र आमजनतालाई सडकमा उतारेर आम जनविद्रोहको विस्फोट गर्नु पर्ने बेला आउँने छ । त्यतिखेर जनविद्रोहलाई रोक्न कुनै पनि ताकतले सक्ने छैन । यदि त्यतिखेर पनि पार्टीको मुख्य नेतृत्वले फेरी पनि आत्मसमर्पण ग¥यो भने पार्टीभित्र पनि क्रान्तिकारी विद्रोहको अग्निज्वाला विस्फोट हुनेछ, त्यसलाई पनि कसैले रोक्न सक्ने छैन । र पार्टीले पहिले निर्णय गरिसकेको जनविद्रोहको विकल्प रहने छैन । किन भने यो नेपाली क्रान्तिको वर्तमान कार्यनीतिक कार्यदिशा हो ।
२०६८ माघ २ गते ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment