Friday, March 29, 2013
माक्र्सवादी द्वन्दवाद ः सार्वभौम सिद्धान्त
माक्र्सवादी द्वन्दवाद विकास तथा सार्वभौम सम्बन्धको सिद्धान्त हो । विकासको स्रोत र गतिदायी शक्तिहरूको प्रश्न नै यसको मुख्य प्रश्न हो । प्रतिपक्षहरूको एकता र सङ्घर्षको नियमले नै यस प्रश्नको समाधान गर्दछ । भी.आई. लेनिनले प्रतिपक्षहरूको एकता र सङ्घर्षको नियमलाई द्वन्दवादको ‘सार र गुदी’ हो भन्नुभएको छ । यस नियमले भौतिकजगतको विकास एवम् शाश्वत गतिका वास्तविक कारण र स्रोतहरूको उद्घाटन गर्दछ । व्यवहारिक क्रान्तिकारी गतिविधि, विज्ञान, समाज, चिन्तन तथा प्रकृतिको विकाससम्बन्धी द्वन्दवादका प्रश्नहरू बुझ्नका लागि यस नियमको जानकारी राख्नु अति आवश्यक हुन्छ ।
माक्र्सवादी दर्शनअनुसार सबै वस्तु र प्रक्रियाहरूमा आन्तरिक अन्तर्विरोध हुन्छ । त्यही अन्तर्विरोध तिनीहरूले विकासको लागि प्रेरक शक्ति हो । लेनिनले अन्तर्विरोधहरूको अध्ययनलाई ‘द्वन्दवादको केन्द्रविन्दु’ भन्नुभएको छ । तर, मौलिक प्रश्न के उठ्दछ भने अन्तर्विरोध आफूमा स्वयं के हो ? प्राचीन यूनानी द्वन्दवादी हेराक्लेटिसको विचारमा हरेक वस्तु, परिघटना र परिवर्तनको स्थितिमा हुने भएकाले वस्तुहरूको प्रकृति निर्धारण ती वस्तुहरूको अन्तरविरोधितामा गरिनुपर्दछ । कुनै वस्तु छ छैन त्यसमा हुने अविरल परिवर्तनको कारणले गर्दा यो तथ्य निर्धारण हुन्छ ।
संसारमा दुई ठ्याक्कै एकै रूपका वस्तुहरू वा परिघटनाहरू हुनै सक्तैनन् । दुई भन्ने बित्तिकै असमानता विद्यमान हुनजान्छ । तसर्थ समान वस्तुहरूमा पनि असमानता र भिन्नता रहन्छ । यसरी एकरूपता र भिन्नताको एकता हुन्छ । एकरूपता र भिन्नता सबै वस्तु र प्रक्रियाहरूमा सँगसँगै विद्यमान हुन्छन् । एउटा वस्तु अर्को वस्तुसित मात्र भिन्न नभई आफ्नो सम्बन्धमा पनि आफूसित भिन्न रहन्छ । उदाहरणका निम्ति एउटा जीवित वस्तु अरू वस्तुको सम्बन्धमा एकरूपता र भिन्नताको एकता मात्र नभई त्यसले आफूलाई स्वयं नकार गर्दछ अर्थात् मृत्युतिर बढिरहेको हुन्छ ।
द्वन्दवादमा कुनै वस्तु छ वा छैन भन्नुको अर्थ त्यो वस्तुमा स्थायित्व र परिवर्तनको एकता छ भन्नु हो, सकारात्मकता र नकारात्मकता छ, जीवन र मृत्यु छ भन्नु हो । तसर्थ एउटा निश्चित समय र स्तरमा रहेको एउटा इकाई र परिघटना प्रतिपक्षहरूको एकता हो, विरोधी गुण, चरित्र, गति र दिशा भएका पक्षहरूको एकता हो । प्रतिपक्षी शब्दले दुई परस्पर विरोधी गुण भएका दुई पक्षहरू एक ठाउँमा अस्तित्वमा छन् भन्ने जानकारी दिन्छ । दुई पक्षहरूले एक अन्तर्विरोध खडा गर्दछन्, अर्थात् प्रत्येक वस्तु प्रत्येक परिघटना दुईमात्र प्रतिपक्षीहरूको एकता हो । यद्यपि ती दुई प्रतिपक्षहरूमा अरू असंख्य अन्तर्विरोधहरू हुन्छन, जो गौण अन्तर्विरोधको रूपमा अस्तित्वमा रहेका हुन्छन् ।
अन्तर्विरोधको सबभन्दा महत्वपूर्ण पक्ष प्रतिपक्षहरूको बीच सम्बन्ध र अन्तक्र्रिया हो । प्रतिपक्षहरूको गुण र गति एकदमै प्रतिकूल भए पनि तिनीहरू आफ्नो अस्तित्वको निम्ति आफ्नो प्रतिद्वन्दी प्रतिपक्षीमाथि निर्भर गर्दछन् । यो एकताले त्यो वस्तुमा सम्पूर्णता दिन्छ । अन्तर्सम्वन्ध, अन्तर्निभरता र अन्तरप्रवेशको अवस्थाले प्रतिपक्षहरूलाई प्रवृत्ति र गुणहरू दिन्छ । यो एकताले त्यो वस्तुलाई अस्तित्व दिन्छ । प्रत्येक विद्युत–चुम्वकीय लहर (प्रकाश, ताप, विद्युत) विपरीत दिशा भएको उर्जाको एक इकाई हो । चुम्वकको प्रत्येक अणुमा उत्तरी र दक्षिणी धु्रव हुन्छन् । परमाणु धन विद्युत र ऋण विद्युतहरूका इकाईहरूको समूहबाट बनेको हुन्छ । जैविक कोषाणुले रगतबाट भोजन लिन्छ र दूषित कुरालाई रगतमा फ्याँकिदिन्छ । मानिसको श्वासप्रश्वास, भोजन गर्नु, विष्टा फ्याँक्नु, सामन्त र मोही, पूँजी र श्रम, उत्पादक शक्ति र उत्पादन सम्बन्धहरू विलोमहरूको (प्रतिपक्षीहरूको) एकता र सङ्घर्षका सवुत हुन् । अन्तर्विरोधमा एकताको अर्थविपरीत गुण र गति भएका पक्षहरूले अर्कोमाथि आफ्नो अनुकूल प्रभाव पार्न गरेको अर्थमा बुझ्नुपर्दछ । यसरी के स्पष्ट हुन्छ भने जुन आन्तरिक अन्तर्विरोधले कुनै वस्तुमा मूल, आधारभूत, प्राथमिक गुण, चरित्र र संरचना दिन्छ; त्यो नै विकासको प्रेरक शक्ति हुन्छ । परमाणुको केन्द्रमा प्रोटोन थपिन्छ भने इलेक्ट्रोनका संख्यामा पनि वृद्धि हुन्छ र पहिलेको भन्दा बेग्लै अर्को वस्तु र तत्व बन्न पुग्छ ।
वर्गीय समाजमा आधारभूत वर्गहरूको बीच दासस्वामी र दास, सामन्ती जग्गाधनी र मोही, पूँजीपति र सर्वहाराको बीचको अन्तरविरोध नै समाजको प्रेरक शक्ति हुन्छ । त्यही अन्तर्विरोधलाई आधारभूत (प्रधान) अन्तर्विरोध भनिन्छ । अरू सबै अन्तर्विरोधहरूलाई गौण अन्तर्विरोध भनिन्छ । कुनै वस्तु र परिघटनाको अरू वस्तु, अरू परिघटना वा वातावरणसितको अन्तर्विरोधलाई बाह्य अन्तर्विरोध भनिन्छ । बाह्य अन्तर्विरोधको उपस्थितिले आन्तरिक अन्तरविरोधहरूको समाधानमा अनुकूल वा प्रतिकूल अवस्था सिर्जना गर्दछन् । साम्राज्यवादको उपस्थितिले स्थानीय सामन्तवाद वा पूँजीवादविरोधी सङ्घर्षको विकासमा प्रतिकूल स्थितिको सिर्जना गर्दछ । तर, समाजवादी व्यवस्थाको उपस्थितिले श्रमिक वर्गीय बाह्य वा आन्तरिक आन्दोलनलाई अनुकूल स्थिति पैदा गर्दछ ।
कहिलेकाहीं आधारभूत आन्तरिक अन्तर्विरोधको समाधान गर्नमा, सामन्तवादविरोधी सङ्घर्षमा, अर्को कुनै आन्तरिक वा बाह्य अन्तर्विरोधले वाधा खडा गर्दछन् । त्यो निश्चित अन्तर्विरोधको समाधान नगरी आधारभूत अन्तर्विरोधको समाधान हुन सक्तैन । तसर्थ त्यो स्थितिमा त्यस्तो गौण वा बाहिरिया अन्तर्विरोध प्रमुख अन्तर्विरोध हुन पुग्दछ । आधारभूत अन्तर्विरोधको उपस्थितिमा नै प्रमुख अन्तर्विरोधको समाधान गर्नु प्रथम कार्य हुनजान्छ । तर, सामाजिक क्रान्तिको स्थिति विद्यमान छ भने आधारभूत अन्तर्विरोध नै प्रमुख अन्तर्विरोध हुन पुग्दछ ।
वर्गीय समाजमा आधारभूत अन्तर्विरोधलाई शत्रुतापूर्ण अन्तर्विरोध भनिन्छ । अर्थात् प्रतिपक्षहरूको प्रतिक्रान्ति पक्षको पूर्ण नाश क्रान्तिकारी पक्षले गर्दछ । पूँजीवादी समाजमा पूँजीपति र मजदुर वर्गको बीचको अन्तर्विरोधलाई शत्रुतापूर्ण अन्तर्विरोध भनिन्छ ।
वर्गीय समाजमा मैत्रीपूर्ण अन्तर्विरोध पनि हुन्छ । समान आर्थिक स्वार्थ र समानखाले सामाजिक जीवन भएका वर्ग र उपवर्गहरूबीचको अन्तर्विरोध मैत्रीपूर्ण हुन्छ । सामन्ती समाजमा सामन्ती जग्गाधनी, नोकरशाही पूँजीपति र दलाल व्यापारीको बीच वा मजदुर, किसान, मध्यम वर्ग र राष्ट्रिय पूँजीपतिको बीच मैत्रीपूर्ण अन्तर्विरोध हुन्छ । यद्यपि त्यस समाजमा मजदुरको शोषण भइरहेको हुन्छ ।
अन्तर्विरोधहरूको पनि विभिन्न चरणहरूमार्फत विकास हुन्छ । कुनै पनि परिघटना त्यसका अन्तर्विरोधहरू एकदमै परिपक्व र प्रष्ट नभएसम्म हराउन सक्तैनन् वा अर्को परिघटनाबाट विस्थापित हुन सक्तैनन् । किनभने परिपक्व विकासको स्थितिले नै नयाँ गुणात्मक स्थितिमा फड्को मार्ने पूर्वशर्तहरू स्थापित गरेका हुन्छन् । विकासको प्रथम चरणमा अन्तर्विरोध आफ्नो अपरिपक्व स्थितिले गर्दा भिन्नताको अवस्थामा रहन्छ । त्यसपछि विकासको क्रममा यो भिन्नता प्रष्ट अन्तर्विरोधमा विकसित हुन थाल्दछ र प्रतिपक्षहरू एउटै संरचनाभित्र रहन नसक्ने हुन्छन् ।
अन्तर्विरोधको विकासको अर्थ पक्ष र प्रतिपक्षहरूमा मात्रात्मक विकास हुनु हो । अन्तर्विरोधको एक पक्षमा मात्रात्मक वृद्धिले अर्को प्रतिपक्षमा पनि मात्रात्मक वृद्धि ल्याउँछ । पूँजीवादी समाजमा पूँजीको मात्रात्मक वृद्धिले मजदुरहरूको संख्यामा पनि वृद्धि गर्दछ । वा कूल शोषणको परिमाणमा वृद्धि गर्दछ । वर्गविरोधी समाजमा शत्रुतापूर्ण वर्गहरूको बीचको सङ्घर्षमा यसको अभिव्यक्ति हुन्छ, जसले सामाजिक क्रान्तिलाई जन्म दिन्छ र पुरानाको सट्टा नयाँ सामाजिक व्यवस्था कायम हुनजान्छ ।
अतः यसरी वस्तु र घटनाहरू दुई परस्पर विरोधी पक्षहरूमा विभक्त हुन्छन्, जसले प्रतिपक्षहरूको एकताको प्रतिनिधित्व गर्दछन् । प्रतिपक्षहरूको सहअस्तित्व मात्र हुने होइन यिनीहरू स्थायी अन्तर्विरोध अर्थात् पारस्परिक सङ्घर्षको स्थितिमा विद्यमान रहन्छन् । प्रतिपक्षहरूको सङ्घर्ष नै वास्तविकताको विकासको आन्तरिक सार तथा स्रोत हो । प्रतिपक्षहरूको एकता र सङ्घर्षसम्बन्धी द्वन्दवादी नियमको सारतत्व यही हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment