Wednesday, March 20, 2013

कम्युनिस्ट आन्दोलनमा नेतृत्वको प्रश्न



“क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीविना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धतिअनुसार बनेको पार्टीविना, साम्राज्यवाद तथा त्यसका दलालहरूलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई असम्भव छ ।”    —माओत्सेतुङ
सन् १८४३ मा कम्युनिस्ट विचारधारा राख्नेहरूले ‘कम्युनिस्ट लिग’को स्थापना गरे । यो नै कम्युनिस्ट पार्टी निर्माणको प्रारम्भिक सङ्गठन हो । सन् १८४७ मा माक्र्स र एंगेल्स पनि यसमा संगठित हुनुभयो । सन् १८४७ नोभेम्बरमा सम्पन्न लिगको दोस्रो कांग्रेसले माक्र्स र एंगेल्सलाई ‘कम्युनिस्ट घोषणापत्र’को मस्यौदा तयार पार्ने जिम्मा सुम्प्यो । एक वर्ष लगाएर तयार पारेको उक्त मस्यौदालाई उहाँहरूले सन् १८४८ फ्रेबुअरी १२ का दिन ‘कम्युनिस्ट घोषणापत्र’को रूपमा जारी गर्नुभयो ।
‘पुँजीवादबाट साम्यवादमा संक्रमणको यात्रा पुरा गर्न सर्वहारावर्गले कम्युनिस्ट पार्टीको निर्माण गर्नुपर्छ र त्यस्तो पार्टीले मात्र वर्गीय समाजलाई वर्गविहिन समाजमा रूपान्तरण गर्न नेतृत्व लिन सक्छ’ भन्ने कुरा उक्त घोषणापत्रमा उल्लेख गरिएको छ । यो घोषणापत्र नै माक्र्सवादको प्रमुख दस्तावेज बन्यो । यसलाई कम्युनिस्ट पार्टी निर्माणका लागि सर्वहारावर्गको वैचारिक आधार मानिन्छ । विश्वलाई बुझ्न तथा रूपान्तरण गर्नका निम्ति अपरिहार्य हुने वर्गसङ्घर्षको सिद्धान्त, रक्तपातपूर्ण युद्धको भूमिका, सर्वहारावर्गको अधिनायकत्व लगायतका विषयहरू कम्युनिस्ट पार्टी निर्माणका आधारभूत वैचारिक पक्षहरू हुन् । यी आधारभूत वैचारिक विषयहरूको जगमा कम्युनिस्ट पार्टी निर्माण र त्यसको नेतृत्वमा पुँजीवादी सत्ताको ध्वंश र सर्वहारावर्गको सत्ता निर्माणले मात्र मानव जातिका लागि साम्यवादतर्फको मार्ग प्रशस्त गर्दछ ।

कम्युनिस्ट पार्टी निर्माण र नेतृत्वको प्रश्न
क) माक्र्स–एंगेल्सकालीन नेतृत्व
    माक्र्स र एंगेल्सले सर्वहारावर्गको मुक्तिको लागि पथप्रदर्शक सिद्धान्त(माक्र्सवाद)को मात्र प्रतिपादन गर्नु भएन, कम्युनिस्ट पार्टीको निर्माण तथा वैचारिक राजनीतिक नेतृत्व प्रदान गर्ने काम समेत गरेर माक्र्सवादको रक्षा, प्रयोग र विकासमा अतुलनीय योगदान गर्नुभयो । माक्र्सले वर्गको अस्तित्व उत्पादनको विकास प्रक्रियाको खास ऐतिहासिक अवस्थामा मात्र रहन्छ, वर्गसङ्घर्ष अनिवार्यरूपले सर्वहारा अधिनायकत्वको रूपमा व्यक्त हुन्छ र त्यो अधिनायकत्व वर्गहरूको उन्मूलन र वर्गविहिन समाजको संक्रमणकालीन अवस्थासम्म मात्र कायम रहन्छ भन्ने माक्र्सको विश्लेषण वर्गसङ्घर्ष र विचारसङ्घर्षको लामो प्रक्रियाबाट गरिएको संश्लेषण नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माण र सर्वहारा क्रान्तिको वैचारिक आधार हो ।
पुँजीवादको विकास र त्यसको कारोबारले अन्तर्राष्ट्रिय रूपधारण गरेको र मजदूरवर्गमाथि दमन, अत्याचार र शोषणले पनि अन्तर्राष्ट्रिय रूप लिएको अवस्थामा मजदूर आन्दोलनले पनि अन्तर्राष्ट्रिय रूप लिनुपर्ने ठहर गरी माक्र्सको नेतृत्वमा सन् १८६४ मा श्रमिकहरूको अन्तर्राष्ट्रिय संघ (क्ष्लतभचलबतष्यलब िध्यचपष्लन ःभलुक ब्ककयअष्बतष्यल) को गठन गरियो । माक्र्स र एंगेल्सले प्रथम अन्तर्राष्ट्रियमा घुस्न सफल भएका लासाल तथा प्रुधोंको सुधारवाद र ब्लाङ्की तथा बाकुनिनको उग्रवामपन्थी अराजकतावाद जस्ता दुई थरी गलत प्रवृत्तिका विरुद्ध भीषण तथा सम्झौताहिन दुई लाइन सङ्घर्ष संचालन गर्दै माक्र्सवादी सिद्धान्तको रक्षा र विकास गर्नु भयो । यति मात्र होइन, माक्र्स र एंगेल्सले एकातिर प्रत्येक देशमा कम्युनिस्ट पार्टीको निर्माणमा सहयोग गर्नुभयो र अर्कोतिर सर्वहारावर्गको अन्तर्राष्ट्रिय सङ्गठनमार्फत् विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरूलाई एकतावद्ध गर्न कडा परिश्रम गर्नुभयो । र, “सर्वहारावर्गद्वारा सामाजिक क्रान्तिको विजय तथा यसको अन्तिम उद्देश्य वर्गहरूको उन्मूलनलाई सुनिश्चित गर्न राजनीतिक पार्टीको गठन अनिवार्य छ” भन्ने उद्घोष गर्दै माक्र्स–एंगेल्सले विचार तथा सङ्गठन भिन्न होइनन्, बरु अन्तरसम्बन्धित छन् भन्ने प्रष्ट पार्नुभयो । माक्र्सको निधनपश्चात् सन् १८८९ मा एंगेल्सले आफ्नै नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन गरेर विश्वकम्युनिस्ट आन्दोलनमा वैचारिक एवम् सांगठानिक नेतृत्व प्रदान गर्नुभयो । माक्र्स–एंगेल्स दुवैले माक्र्सवादको तथा विश्व कम्युनिस्ट आन्दोलनको रक्षा र विकासका निम्ति आफ्नो समयका सबैखाले संशोधनवाद, अराजकतावाद र अवसरवादका विरुद्ध जीवनमरणको लडाइँ लड्नुभएको थियो । यसै विषयमा एंगेल्सले भन्नुभएको छः “सर्वहारावर्गको विकास जहाँ कहीं पनि आन्तरिक सङ्घर्षको बीचबाट नै अगाडि बढ्छ, जस्तो कि माक्र्स र म आफैले पनि सबैभन्दा बढी नक्कली समाजवादीहरूविरुद्ध जीवनमा कठिन लडाईं लडेका थियौं ।”
माक्र्स–एंगेल्सले आफ्नो पालामा यदि सबैखाले संशोधनवाद र अवसरवादका विरुद्ध भीषण दुईलाइन सङ्घर्ष र अन्तर–सङ्घर्ष नगरेको भए सायद माक्र्सवादको जन्मसँगै पैदा भएको संशोधनवाद, अराजकतावाद र अवसरवादले माक्र्सवाद र विश्वकम्युनिस्ट आन्दोलनलाई शैशवकालमै बिसर्जन गरिसक्ने वाला थियो तर उहाँहरूको तिखो वैचारिक सङ्घर्ष र कुशल सङ्गठनकर्ताका कारण त्यो सम्भव भएन । बरु माक्र्सवाद र कम्युनिस्ट आन्दोलनको रक्षा र विकास सम्भव भयो ।

ख) लेनिनकालीन नेतृत्व ः
    माक्र्स–एंगेल्सले साम्यवाद प्राप्तिको वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्त माक्र्सवादको प्रतिपादन मात्र गर्नु भएन, कम्युनिस्ट पार्टीको निर्माण र नेतृत्व प्रदान समेत गर्नुभयो । उहाँहरूले जर्मनी लगायतका विभिन्न देशहरूमा कम्युनिट पार्टीहरूको नयाँ आधारमा जन्म र विकासको प्रक्रिया सशक्त रूपमा अगाडि बढाउनुभयो । यसै क्रममा माक्र्स र एंगेल्सले मिलेर सन् १८६४ मा पहिलो अन्तर्राष्ट्रियको स्थापना गर्नुभयो, त्यो १८७२ सम्म कायम रह्यो । माक्र्सको निधनपश्चात एंगेल्सको नेतृत्वमा सन् १८८९ मा दोस्रो अन्तर्राष्ट्रियको गठन भयो र त्यो सन् १९१४ सम्म कायम रह्यो ।
    माक्र्सवादको प्रतिपादन भएको ३५ वर्षपछि रुसमा सन् १८८३ मा पहिलो माक्र्सवादी समुहको विकास भएको थियो र प्लेखानोभको नेतृत्वमा मजदुर मुक्ति दल नामक माक्र्सवादी समुहको गठन गरिएको थियो । यही नै रुसमा स्थापित कम्युनिस्ट पार्टी थियो । र, त्यसलाई लेनिन (सन् १८७०–१९२४)ले नयाँ ढंगले विकास गर्नुभयो । उहाँले क्रान्तिकारी पार्टी निर्माणमा निकै जोड दिनुभयो । विचार तथा राजनीति र त्यसको सङ्गठनसँग कस्तो सम्बन्ध हुन्छ भन्ने विषयमा लेनिनले यसरी लेख्नुभएको छ,– “सत्ता प्राप्तिका निम्ति गरिने सङ्घर्षमा सर्वहारावर्गसँग सङ्गठनभन्दा अर्को कुनै हतियार हुँदैन । सर्वहारावर्गलाई जतिबेला माक्र्सवादी सिद्धान्तको वैचारिक एकताले लाखौं मजदूरलाई श्रमजीविवर्गको सेनाको रूपमा भौतिक सङ्गठनमा बाँध्ने छ, त्यो अपरिहार्य रूपमा अपराजय तागत बन्नेछ ।”
    लेनिनले के कुरामा जोड दिनुभयो भने सत्ताका लागि गरिने सङ्घर्षका निम्ति सङ्गठन आवश्यक हुन्छ, शोषण तथा उत्पीडनका थुप्रै समस्याहरू भएपनि यदि सर्वहारावर्गले माक्र्सवादलाई निर्देशक सिद्धान्तको रूपमा ग्रहण गर्न सक्यो भने त्यसले अपराजय तागत आर्जन गर्छ र त्यो तागतले साम्राज्यवादलाई पराजित गरी छाड्नेछ । र, मजदुरको संगठित तागतले समकालीन संशोधनवादका हरेक रूप, अराजक बुद्धिजीविका अर्थहिन बकबासलाई पनि पराजित गर्नेछ ।
    विचार तथा राजनीतिका साथै लेनिनले सङ्गठन निर्माणको प्रश्नलाई पनि निकै गम्भीरताका साथ लिने गर्नुहुन्थ्यो । रुसी कम्युनिस्ट पार्टीको सन् १९०३ को महाधिवेशनमा कुनै पनि व्यक्तिले पार्टी सदस्यता प्राप्त गर्नका लागि पहिलो, पार्टी कार्यक्रमको समर्थन गर्नुपर्ने, दोस्रो, पार्टीलाई आर्थिक सहयोग दिनुपर्ने र तेस्रो, पार्टीको कुनै न कुनै तहको कमिटीमा रहेर काम गर्नुपर्ने आदि सर्तहरू प्रस्ताव गर्नुभएको थियो । तर, मार्तोभले तेस्रो सर्त आवश्यक छैन भनेर त्यसको विरोध गरे । लेनिनले सङ्गठनमा रहेर जिम्मेवारी पुरा गर्नुपर्ने विषय सामान्य नभएर एउटा सैद्धान्तिक विषय हो, यसमा सम्झौता गर्न सकिन्न भन्नुभयो । त्यही विवादकै कारण पार्टीमा विभाजन आयो । बहुमतलाई बोल्शेभिक भनियो । अल्पमतलाई मेन्सेभिक भनियो । लेनिनले बोल्शेभिक पार्टी निर्माण गर्नुभयो ।
    लेनिन सङ्गठन निर्माणको प्रश्नलाई सँधै विचारसँग जोड्नुहुन्थ्यो । उहाँले आफ्नै पार्टीमा होस् वा दोस्रो अन्तर्राष्ट्रियमा, संशोधनवादका विरुद्धको सङ्घर्षलाई कहिल्यै पनि कमी हुन दिनुभएन । पार्टीभित्रका मेन्सेविकहरू र काउत्स्की जस्ता दोस्रो अन्तर्राष्ट्रियका संशोधनवादी गद्दारहरूसँग गम्भीर वैचारिक सङ्घर्ष चलाउनु भयो । बोल्शेभिक पार्टीको नेतृत्व गर्दै लेनिनले सन् १९१७ मा महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो । सन् १९१९ मा आफ्नै नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रियको निर्माण गरेर विश्वकम्युनिस्ट आन्दोलनलाई उहाँले नेतृत्व समेत प्रदान गर्नुभयो ।
    महान् रुसी अक्टुबर समाजवादी क्रान्तिको सफलताले विश्व सर्वहारावर्गलाई ठूलो साहस र प्रेरणा प्रदान ग¥यो । त्यसपछि एशिया, यूरोप, अमेरिका, ल्याटिन अमेरिका र अफ्रिकी महादेशहरूमा एकपछि अर्को गर्दै धमाधम कम्युनिस्ट पार्टीहरू गठन हुनपुगे । चीन, भियतनाम, उत्तरकोरिया, कम्बोडिया आदि देशहरूमा पनि जनवादी क्रान्तिहरू सम्पन्न गरिए ।
ग) माओकालीन नेतृत्व ः
    माओत्सेतुङ (१८९३–१९७६) चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष र माओवादका प्रतिपादक एवम् माक्र्सवाद–लेनिनवादका सिर्जनात्मक प्रयोगकर्ता हुनुहुन्छ । नयाँ जनवादी क्रान्तिको रणनीति र कार्यनीतिक कार्यदिशा ठोस गर्ने र निरन्तर क्रान्तिका सिद्धान्तकार समेत हुनुहुन्छ ।
    पार्टी निर्माणको प्रश्नलाई अध्यक्ष माओले विचार र सङ्गठनबीच द्वन्द्वात्मक सम्बन्ध रहने कुरालाई अत्यन्तै गम्भीरताका साथ लिनुभएको छ । सर्वहारावर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त समेत रहेको कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको १०० वर्ष पछि सन् १९४८ मा माओले लेख्नुभएको थियो,– “क्रान्ति सम्पन्न गर्नको निम्ति क्रान्तिकारी पार्टी हुनु अनिवार्य छ । क्रान्तिकारी पार्टीविना, माक्र्सवादी–लेनिवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धतिअनुसार बनेको पार्टीविना साम्राज्यवाद तथा त्यसका दलालहरूलाई पराजित गर्नका निम्ति श्रमजीवि मजदुरवर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।”
    अध्यक्ष माओले क्रान्तिकारी पार्टी निर्माणका निम्ति विविध प्रकारका वैचारिक सङ्घर्षहरूको नेतृत्व गर्नुभएको छ । सन् १९२७ को छन् तु श्यूको दक्षिणपन्थी विसर्जनवादका विरुद्धको सङ्घर्ष, त्यसपछि लगत्तै लिलिसानमा देखापरेको वामपन्थी दुस्साहसवादका विरुद्धको सङ्घर्ष, सन् १९३० देखि १९३५ सम्म वाङ मिङको उग्रवामपन्थी लाइनका विरुद्धको सङ्घर्ष चीनमा महान् नयाँ जनवादी क्रान्तिपूर्वका माओले संचालन गरेका भीषण र अत्यन्तै महत्वपूर्ण वैचारिक सङ्घर्षहरू थिए । जसले चीनमा नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न र त्यो समयमा महान् नयाँ जनवादी क्रान्ति सम्पन गर्न सम्भव तुल्यायो ।
    सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भएपश्चात् सन् १९५६ मा चीनमा समाजवादको रूपान्तरणमा जोड गरियो । सन् १९५६ मा पार्टीको माहाधिवेशनमा ख्रुचोभको असली चेला ल्यू शाओ चीको संशोधनवादी कार्यदिशा बहुमतद्वारा पारित भयो । अर्थात् संशोधनवादी गद्दार ल्यू शाओ चिले अगाडि सारेको लाइनको । सारतत्व थियो कि चीनको तत्कालिक प्रधान अन्तरविरोध जनताको बढ्दो भौतिक आवश्यकता र पिछडिएको उत्पादक शक्तिको बीचमा थियो । यो विचार वर्गसङ्घर्षलाई परित्याग गर्ने र पूँजीवादी बाटो अँगाल्ने दोस्रो इन्टरनेश्नलमा माक्र्सवादमाथि पहिलो संशोधनको प्रस्ताव गर्ने बर्नस्टीन, काउत्स्की, बुखारिनजस्ता गद्दार संशोधनवादीहरूले अगाडि सारेको सडेगलेको विचार र बाटोभन्दा कुनै पनि अर्थमा भिन्न थिएन । त्यसैबेला तेङ स्याओ पिङले ल्याएको ‘विरोलो कालो वा सेतो भएर फरक पर्दैन, मुसा मारे हुन्छ’ पुँजीवादी कार्यदिशाविरुद्ध माओले वैचारिक सङ्घर्षको नेतृत्व गर्नुभयो । आठौं महाधिवेशनपछिको दशौं बैठकमा माओले चीनमा पँुजीपति वा सर्वहारावर्ग कसले जित्ने भन्ने टुंगो लागिसकेको छैन, त्यसकारण वर्गसङ्घर्षलाई कहिल्यै नबिर्सनू, बिर्सन नहुने आव्हान गर्दै पार्टीलाई क्रान्तिकारी बनाइराख्न विचारसँग जोड्नुभयो । पार्टी बलियो हुनका लागि पार्टीले सही कार्यादिशा अवलम्बन गर्नुपर्छ, भन्दै र कार्यदिशाको महत्वमाथि प्रकाश पार्दै उहाँ भन्नुहुन्छ,– “विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ, त्यो बेला सबै चीज प्राप्त हुन्छ, यदि अनुयायीहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन्, यदि बन्दुक छैन भने त्यो पनि प्राप्त हुन सक्छ, यदि राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन सक्छ, तर यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो, जब यो तानिन्छ, पूरै जाल खुल्छ ।” माओको यो भनाइ नयाँ ढंगको पार्टी निर्माणको विषय विचारसँग जोडिएको छ ।
    नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माणको लागि ‘पुँजीवादी हेडक्बार्टरमाथि बम बर्साऊ, विद्रोह गर्नु जनताको अधिकार हो’ भन्ने नाराका साथ पार्टीको उच्च ओहोदामा पुग्न सफल भएका संशोधनवादी गद्दारहरूका विरुद्ध माओले सन् १९६६ मा महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको सुरुवात गर्नुभयो । “सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिलाई जारी राख”, “समाजवादको अवधिभर अन्तरसङ्घर्ष विद्यमान रहन्छ” भन्ने कुरालाई माओले अति जोड दिएर उठाउनुभयो । माओले आफ्नो जीवनभर संशोधनवाद विरुद्धको सङ्घर्षलाई कहिल्यै कमी हुन दिनु भएन । उहाँले सन् १९६० को दशकमा ख्रुस्चोभी नव संशोधनवादका विरुद्ध विश्वकम्युनिस्ट आन्दोलनभित्र महान् बहस सञ्चालन गर्नुभयो ।
    महान् सर्वहारा साँस्कृतिक क्रान्तिको बेला माओले “माक्र्सवाद लागू गर, संशोधनवाद होइन, खुल्ला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर, एकताबद्ध होऊ, नफूट” अर्थात् तीन गर, तीन नगर भन्ने सांगठानिक क्षेत्रमा एउटा महत्वपूर्ण प्रस्थापना अघि सार्नुभयो । यसरी नयाँ जनवादी क्रान्ति, महान् बहसहुँदै महान् सर्वहारासांस्कृतिक क्रान्तिसम्म आइपुग्दा माओले केवल माक्र्सवाद–लेनिनवादको रक्षा मात्र गर्नुभएन, बरु त्यसलाई चिनियाँ विशिष्टतामा सिर्जनशिल ढंगले लागू गरेर त्यतिबेलाको माक्र्सवाद–लेनिनवाद–माओविचार अर्थात् मालेमामा गुणात्मक ढंगले विकास गर्नुभयो र नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणका लागि जब्बर वैचारिक आधार खडा गर्नुभयो ।
नेपाली कम्युनिस्ट आन्दोलनमा नेतृत्वको सवाल
    नेपाली कम्युनिस्ट आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनको एक अंग अर्थात् एक हिस्सा हो । यसको सुरुवात २००६ साल बैशाख १० गतेबाट भएको हो । पुष्पलालको पहलकदमी र नेतृत्वमा २००६ साल बैशाख १० (सन् १९४९ अप्रिल २२) गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । यसै बेलादेखि विधिवत रूपमा नेपाली कम्युनिस्ट आन्दोलनको सुरुवात भएको हो ।
    आज नेपाली कम्युनिस्ट आन्दोलनले ६२ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका अनेकौं जटिल, बाङ्गाटिङ्गा र कहालिलाग्दा घुम्तीहरू रहेका छन् । तथापि यो आन्दोलन लामो समयदेखि अनेकौं समूह, उपसमूहमा विभिाजित रहँदै आयो । अतः यस आन्दोलनभित्र पनि क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आयो । नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी सुधारवादी धाराले आफूलाई विभाजित कित्तामा सामेल गर्दै दक्षिणवादी एवम् आधुनिक संशोधनवादी धारामा गुणात्मक फड्को हान्नपुग्यो र यसको विपरीत नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा आज माक्र्सवादी–लेनिनवादी र माओवादीका रूपमा गुणात्मकरूपले विकसित हुँदै महान् दशवर्षे जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनमार्फत् ऐतिहासिक संविधानसभाको निर्वाचनको माध्यमबाट २४० वर्षे सामन्ती राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको घोषणा गर्ने स्तरमा गुणात्मक रूपले फड्को मारेर अहिले जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने, यदि देशीविदेशी प्रतिक्रियावादी शक्तिबाट षड्यन्त्र भएमा जनविद्रोहमार्फत् नेपाली क्रान्ति सम्पन्न गर्ने महान् र जटिल प्रक्रियामा फड्को मार्ने स्तरमा पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको यस द्वन्द्ववादलाई हामी क्रान्तिकारीहरूले अत्यधिक गहिराइका साथ हृंदयगम गर्न जरुरी छ ।
    प्रारम्भमा नै नेपाली कम्युनिस्ट आन्दोलनले नेपालमा सामन्तवाद, साम्राज्यवाद तथा भारतीय हस्तक्षेपका विरुद्ध जनताको जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने विचार अगाडि सारेको थियो । तर पार्टी स्थापनाको छैठौं अधिवेशनमा नेकपाभित्र संशोधनवाद घुस्न सफल भयो । इतिहासको समीक्षाअनुसार २०१० सालदेखि नै नेपालमा संशोधनवादको थालनी भएको पाइन्छ । नेपालमा संशोधनवाद विभिन्न रूपमा देखापर्दै आएको छ । विं.सं. २०१० सालदेखि २०१९ सालको तेस्रो महाधिवेशनभन्दा अघि नेपालमा संशोधनवाद वर्गसङ्घर्षका विरुद्धमा वर्गसमन्वयवाद, कानुनी माक्र्सवाद र राजापरस्त प्रवृत्तिका रूपमा देखाप¥यो । २०१२ सालमा पार्टीलाई वैधानिक बनाउनका लागि तत्कालीन महासचिव मनमोहन अधिकारीद्वारा राजाको वैधानिक नायकत्वमा समाजवादमा जान सकिने कुरा उल्लेख गरी राजाकहाँ विन्तिपत्र चढाइएको थियो । यी सबै कुराको चरम उत्कर्ष रायमाझीको राजावादी लाइनमा गएर भयो । र, तेस्रो महाधिवेशनमा ख्रुश्चोभी लाइनमा आधारित ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम र संसदवादी कार्यनीतिलाई स्वीकार गरियो । त्यसयता नेपालमा माक्र्सवाद–लेनिनवाद–माओविचारधारा मान्ने नमान्ने, नयाँ जनवादलाई अंगीकार गर्ने कि नगर्ने, राजा तथा कांग्रेसप्रति वर्गीय दृष्टिले स्पष्ट हुने कि नहुने, सशस्त्र सङ्घर्षको बाटो अवलम्बन गर्ने कि नगर्ने, महान् चिनियाँ सांस्कृतिक क्रान्तिलाई अंगीकार गर्ने कि नगर्ने जस्ता विषयमा गम्भीर प्रकारका दुईलाइन सङ्घर्षहरू चल्दै आए । यो प्रक्रियामा वर्गसमन्वयवाद, सम्झौतावाद, सुधारवाद तथा पुच्छरवादका रूपमा संशोधनवाद अभिव्यक्त भयो र नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न धाराहरू एवम् उपधाराहरूमा विभाजित हुनपुग्यो ।
    संशोधनवादको प्रमुख स्रोत साम्राज्यवाद हो । अतः संशोधनवाद अन्तर्राष्ट्रिय परिघटनाहरूको कारण अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पैदा भएका मतभेद र दुईलाइन सङ्घर्षबाट नेपाल पनि प्रभावित हुँदै आएको छ । र, यस सन्दर्भमा बर्नस्टिन, ख्रुस्चोभ, यूरो–कम्युनिज्म आदिबारे स्पष्ट हुन आवश्यक हुन्छ ।
    २०४६ सालको जनआन्दोलनदेखि २०५२ सालमा नेकपा (माओवादी)द्वारा सञ्चालित महान् जनयुद्धको प्रक्रिया हुँदै अहिलेसम्म आउँदा नेपाली कम्युनिस्ट आन्दोलनभित्र मूलतः दुई प्रकारका संशोधनवादी धाराहरू देखापरेका छन् । ती हुन् ः बहुलवादी संशोधनवाद र जड्सुत्रीय संशोधनवाद । बहुदलीय संशोधनवादको प्रतिनिधित्व नेकपा (एमाले) र जड्सुत्रीय संशोधनवादको प्रतिनिधित्व नेकपा (मसाल)समुहले गर्दै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनभित्रका सच्चा क्रान्तिकारी कम्युनिस्टहरूद्वारा संशोधनवादको विरोध र माक्र्सवादको पक्षमा क्रान्तिलाई अगाडि बढाउने काम हुँदै आएका छन् । नेपालमा संशोधनवादको विस्तृत अध्ययन गर्न आवश्यक छ ।
    झापा सङ्घर्षको जगलाई टेकेर माले–एमाले हुँदै ‘जनताको बहुदलीय जनवाद’ नामको ख्रुश्चोभी नवसंशोधनवादको नेपाली संस्करणको रूपधारण गरेर अहिले मिलेराँवाद, माँखवाद, यूरो–कम्युनिज्मको बाटो हुँदै बहुलवाद र संसदवादमा पतन हुन पुगेको छ । त्यसको विपरीत नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्दै आएको एकीकृत नेकपा (माओवादी)भित्र अहिले क्रान्तिकारी माक्र्सवाद र संशोधनवादका बीचमा, वर्गसङ्घर्ष र वर्गसमन्वयवादको बीचमा, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय आत्मसमर्पणवादका बीचमा र नेपाली क्रान्ति गर्ने कि नगर्ने भन्ने विषयका बीचमा भीषण दुईलाइन सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष चलिरहेको छ । नेपाली क्रान्तिको रक्षा र विकासका निम्ति यो अत्यन्तै जरुरी थियो । कम्युनिस्ट पार्टी विपरीतहरूको एकत्व हो । दुईलाइन सङ्घर्ष पार्टीको जीवन हो । माओले पार्टीभित्र विवाद भएन र दुईलाइन सङ्घर्ष समाप्त भयो भने पार्टीको जीवनै समाप्त हुन्छ, भन्नुभएको छ । तर पार्टीको मूल नेतृत्वले भने चालु दुईलाइन सङ्घर्षलाई पार्टीको विधिभित्र ढालेर व्यवस्थित ढंगले संचालन गर्न चाहिरहेको छैन । पार्टीभित्र चलिरहेको दुईलाइन सङ्घर्षलाई ‘गाईजात्रा’को संज्ञा दिने गरिएको छ । यसका पछाडि खास सैद्धान्तिक कारणहरू विद्यमान छन् । यसबारे स्पष्ट हुन जरुरी हुन्छ ।

एमाओवादी पार्टीभित्र विवादको केन्द्र
    एनेकपा (माओवादी) नेपाली सर्वहारावर्गको अग्रदस्ता हो । यो पार्टी नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने निर्णायक नेतृत्वदायी शक्ति हो । नेपाली क्रान्तिको ऐतिहासिक अभिभारा यही पार्टीले पूरा गर्नुपर्नेछ । एकीकृत माओवादी विश्वसर्वहारावर्गको एक अंग भएकोले यस पार्टीले गर्ने हरेक क्रियाकलापहरू विश्व कम्युनिस्ट आन्दोलन र विश्वसर्वहारा क्रान्तिसँग जोडिन्छ । तसर्थ यो पार्टीलाई नेपालका मात्र होइन, विश्वभरिका मुक्तिकामी एवम् न्यायप्रेमी आम जनताले आशा र भरोसाको केन्द्रको रूपमा हेरीरहेका छन् । त्यसको विपरीत देशीविदेशी प्रतिक्रियावादी एवम् प्रतिक्रान्तिकारी शक्तिहरूले आफ्नो प्रमुख दुश्मनको रूपमा हेरीरहेका छन् । त्यसैले आज एकीकृत माओवादी विश्वराजनीतिको रंगमञ्चमा सबैभन्दा ठूलो चर्चाको शिखरमा छ ।
    सत्तरी दशकको उत्तराद्र्धमा चीनमा माओको मृत्युपश्चात खासगरी सोभियत संघको औपचारिक विघटनपश्चात विश्वभरिका प्रतिक्रियावादी बुर्जुवा शक्तिहरूले कम्युनिज्म समाप्त भयो भन्दै स्यालको हुइय्यामा स्वर थपिरहेको बेलामा वि.सं.०५२ फाल्गुन १ मा तत्कालीन नेकपा (माओवादी)ले जनयुद्धको थालनी ग¥यो । दशवर्षे सशस्त्र जनयुद्धको प्रक्रियामा माओवादीले देशका ८० प्रतिशत भूभागमा सामन्ती सत्ताका संरचनाहरूलाई ध्वस्त पारिदियो । जनमुक्ति सेनाको निर्माण ग¥यो । आधारइलाका र स्थानीय जनसत्ताको सान्दाररूपले अभ्यास ग¥यो । जसले नेपाली जनताको मनमस्तिष्कमा जनयुद्धले ठूलो आशाको संचार गरायो । तर शान्तिपूर्ण क्रान्तिको नाममा खुला राजनीतिमा आएपछि क्रमशः माओवादी पार्टीले उल्टो छलाङ हान्न थाल्यो । १० वर्षे युद्धमा होमिएका योद्धाहरू र नेपाली जनताको योगदानलाई पार्टीको मूल नेतृत्वले लत्याउन थाल्यो । सहकार्यका नाममा देशीविदेशी प्रतिक्रियावादी एवम् प्रतिक्रान्तिकारी शक्तिहरूसँग विविध प्रकारका जनघाती एवम् राष्ट्रघाती सहमति, सम्झौताहरू गर्दै अघि बढ्न थाल्यो । ५–६ वर्ष लामो राजनीतिक संक्रमणकाललाई कसरी मुक्ति दिने भन्ने विषयमा पार्टीको मूल नेतृत्व पूर्णरूपले असफल बन्दै गयो । राष्ट्र र जनतालाई सर्वोपरी ठान्ने मूल नेतृत्व नै जब निजीस्वार्थमा रमाउन थाल्यो, तब पार्टीभित्र विग्रहको स्थिति पनि पैदा हुँदै गयो । परिणाम जसरी बहुदलीय शासनकालमा संसदवादी पार्टीहरू असफल हुन पुगेका थिए, त्यसकै पुनरावृत्ति एमाओवादीको मूल नेतृत्वमा देखिन थाल्यो । पार्टीले निर्णय गरिसकेको सामन्तवाद–साम्राज्यवादविरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै अघि बढ्ने, यसो गर्न नदिन प्रतिक्रियावादीहरूबाट षड्यन्त्र भए जनविद्रोहमार्फत् नेपाली क्रान्ति सम्पन्न गर्ने भनी किटान गरिएको कार्यनीतिक कार्यदिशालाई समेत पार्टीको मूल नेतृत्वले शान्ति र संविधानजस्तो बुर्जुवाहरूले अघि सार्दै आएको सुधारवादी, संसदवादी कार्यदिशालाई पकड्न पुगेपछि पार्टीभित्रका क्रान्तिकारीहरूले त्यसका विरुद्ध विद्रोहको झण्डा उठाउन थाले र पार्टीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य‘किरण’को नेतृत्वमा क्रान्तिकारी विचारसमुह संगठित भएर पार्टीको मूल नेतृत्वमा देखापरेको वैचारिक विचलनका विरुद्ध सङ्घर्ष गर्न थालेपछि एमाओवादी पार्टीभित्र विवादको सुरुवात भएको हो ।
    संक्रमणकालको यो अवधिमा नेपाली समाजमा वर्गसङ्घर्ष निकै पेचिलो बन्न पुग्यो । जति जति वर्गसङ्घर्षले उत्कर्षता प्राप्त गर्दै गयो, त्यही मात्रामा त्यसको प्रत्यक्ष प्रतिविम्ब पार्टीभित्र पनि प्रवेश गर्नु अनिवार्य थियो ।

विवाद समाधानका उपायहरू ः
१) पार्टीको मूल नेतृत्वले पार्टीभित्र चलिरहेको विवादलाई विचारधारात्मक अन्तरसङ्घर्ष र दुईलाइन सङ्घर्षका रूपमा स्वीकार्न तयार हुनु प¥यो ।
२) चालु दुईलाइन सङ्घर्षलाई पार्टीको विधि, पद्धति र विधानभित्र ढालेर अन्तरसङ्घर्ष सञ्चालन गर्न तयार हुनु प¥यो ।
३) पार्टीको मूल नेतृत्वले आफूभित्र पैदा भएको वैचारिक विचलनबाट रूपान्तरित भएर मालेमाको सिद्धान्तअनुरूप चल्न तयार हुनु प¥यो ।
४) कहिले क्रान्तिकारीहरूलाई टेकेर पार्टीभित्रका दक्षिणपन्थी संशोधनवादीहरूलाई निषेध गर्न खोज्ने त कहिले उनै दक्षिणपन्थी संशोधनवादीहरूमाथि चढेर क्रान्तिकारीहरूलाई निषेध गर्न खोज्ने सारसंग्रहवादी र षड्यन्त्रपूर्ण कार्यशैलीबाट रूपान्तरणका लागि नेतृत्व तयार हुनुपर्छ ।
५) आर्थिक–सांस्कृतिक विचलनबाट रूपान्तरण अनिवार्य छ ।
६) पार्टीको निर्णयविपरीत व्यक्तिगतरूपमा परचक्रीहरूसँग सम्झौता गर्दै अघि बढ्न छाड्नु पर्छ ।
७) नेपाली क्रान्तिप्रति निष्ठावान भएको प्रतिबद्धता जाहेर गर्नुप¥यो ।
८) आफ्नो वरिपरि झुमिरहेका अवसरवादीहरूलाई पन्छाएर क्रान्तिकारीहरूलाई समेटेर अगाडि बढ्न तयार हुनुपर्छ ।
९ं) महान् दशवर्षे जनयुद्धका मूल्यमान्यता र योगदानहरूलाई बचाएर नेपाली क्रान्तिको तयारी गर्ने काममा आम पार्टीपंक्ति र जनतालाई विश्वास दिलाउन बचनबद्ध हुनुपर्छ ।
१०) विगतमा पार्टी निर्णयविपरीत संसदवादी दलहरूसँग गरिएको राष्ट्रवादी, जनघाती, आत्मसपर्मणवदी तथा नेपाली क्रान्तिविरोधी सम्झौताहरूप्रति आत्मआलोचित भई ती सबैलाई खारेजी गरेको घोषणा गर्न तयार हुनुपर्छ ।
११) क्रान्तिकारीहरूलाई पाखा लगाउने खालका खेल खेल्न र क्रियाकलापहरू तत्काल रोक्न तयार हुनु प¥यो ।
१२) पार्टी फुटको वातावरण तयार गर्ने र विभिन्न अवसरवादीहरूबाट पार्टी फुटको हल्ला मच्चाउने र क्रान्तिकारीहरूलाई होच्याउने क्रियाकलापहरू सच्याउन तयार हुनुपर्छ । आदि
    यी उल्लेख गरिएका बुँदाभित्र केन्द्रीत भएर पार्टीभित्र पैदा भएका समस्याहरूलाई हल गर्न पार्टीको मूल नेतृत्व तयार हुने हो भने पार्टी ठीक ठाउँमा आउनुको विकल्प छैन ।

विचार समूहले बोकेका उद्देश्यहरू ः
    एमाओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’, महासचिव रामबहादुर थापा‘बादल’ समेतका क्रान्तिकारी नेतृत्वहरूले चाहेको विषय के हो भने धेरै कुराहरू माथि नै उल्लेख गरिएको छ । संग्क्षेपमा के हो भने क. माओले भन्नुभएको थियो, “क्रान्तिको निम्ति क्रान्तिकारी पार्टीको निर्माण पहिलो सर्त हो ।” त्यसकारण क्रान्तिका निम्ति माओवादी पार्टीभित्रका क्रान्तिकारीहरूका निम्ति अहिलेको आवश्यकता पार्टीको क्रान्तिकारी रूपान्तरण हो र त्यसको पहिलो सर्त पार्टी मूल नेतृत्वको रूपान्तरण नै हो । माओवादी पार्टीकै नेतृत्वमा नेपाली क्रान्तिको बाँकी कामहरू पूरा गर्नुपर्ने भएकाले वर्तमान अवस्थामा रहेको पार्टीको मूल नेतृत्वसहितको पार्टीको संरचनाले नेपाली क्रान्तिको नेतृत्व प्रदान गर्न नसक्ने भएकोले अहिले पार्टीभित्र चलिरहेको विचारसङ्घर्षको उद्देश्य पनि सामन्यतः सिंगो पार्टीको र विशेषतः पार्टीको मूल नेतृत्वको क्रान्तिकारी रूपान्तरण हो, नेतृत्वको विस्थापन होइन ।
    आम क्रान्तिकारी कार्यकर्ता र स्वाभिमानी नेपाली जनता पार्टीको नेतृत्वमा रूपान्तरण चाहन्छन् । सिंगो पार्टी क्रान्तिकारी बनोस् भन्ने चाहन्छन्, पार्टी एकता मजबुत होस् भन्ने चाहन्छन् । पालुङटारको संदेश पनि यही थियो । तर रूपान्तरण भएर क्रान्तिको बाँकी कार्यभार पूरा गर्न अगाडि बढ्ने कि क्रान्तिको नाममा सुधारवादलाई मजबुत गरेर एक्काइसौं शताब्दीमा दक्षिणपन्थी अवसरवादको नाइके बन्ने ? गम्भीर प्रश्न पार्टी मूल नेतृत्वको अगाडि तेर्सिएको छ ।

क्रान्तिको विकल्प छैन ः
    नेपाली क्रान्ति पूरा गर्ने काम बाँकी नै छ । यतिबेला देशको वस्तुगत परिस्थिति क्रान्तिका निम्ति अत्यन्तै अनकूल बन्दै गइरहेको छ । सिंगो देश क्रान्तिमय र माओवादीमय बनेको स्थिति छ । माओवादी पार्टी एकढिक्का भएर अगाडि बढ्ने हो भने दुनियाँको कुनै पनि तागत बेकाम हुने निश्चित छ । संसदवादीहरू एमालेको कित्ता वरिपरि गोलबन्द भएर विसर्जनको डिलमा उभिरहेका छन् ।
पार्टीको क्रान्तिकारी रूपान्तरण विना यो अनुकूलता स्वतः क्रान्तिमा बदलिंदैन । क्रान्तिकारीहरूका काँधमा अहिले गहन जिम्मेवारी आएको छ । मूल नेतृत्वलगायत सिंगो पार्टीपंक्तिलाई रूपान्तरण गर्न सक्दो सहयोग गर्ने, पार्टी एकतालाई विचारधारात्मक र सङ्गठनात्मक रूपमा मजबुत बनाउने र क्रान्तिलाई अगाडि बढाउने जिम्मेवारी पार्टीभित्रका सच्चा क्रान्तिकारीहरूकै हो । सुधारवादीहरूबाट यसको कल्पना समेत गर्न सकिंदैन । त्यसमा क्रान्तिकारीहरूले त्याग देखाउनैपर्छ र जस्तासुकै चुनौतीहरूलाई सामना गर्नसक्ने आँट र साहस क्रान्तिकारीहरूमा पैदा हुनैपर्छ । र, क्रान्तिको निम्ति नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गर्न पार्टीभित्रका विशाल क्रान्तिकारी पंक्ति क्रान्तिको झण्डालाई कुनै पनि हालतमा मर्न नदिने गरी तयार हुनैपर्छ । यो युगको आवश्यकता हो । नेपाली राष्ट्र र जनताको समेत माग हो । अन्ततः क्रान्ति र क्रान्तिकारीहरूको जित अपरिहार्य छ ।
उपसंहार
    कम्युनिस्ट आन्दोलनमा नेतृत्वको प्रश्न अत्यन्तै गम्भीर र चुनौतीपूर्ण प्रश्न हो । विश्व कम्युनिस्ट आन्दोलन र नेपालकै कम्युनिस्ट आन्दोलनभित्र नेतृत्वको प्रश्नको सकारात्मक र नकारात्मक शिक्षा रहने गरेका छन् । जनताले सानो तिनो लगानीले कम्युनिस्ट पार्टीको नेतृत्वको जन्म र विकास असम्भव हुन्छ । कम्युनिस्ट आन्दोलनभित्र भीषण वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका बीचबाट नेतृत्वको निर्माण हुने गर्दछ । यसरी निर्माण भएको नेतृत्व अन्तिमसम्म क्रान्तिकारी बनेको र क्रान्तिको सफलतापूर्वक नेतृत्व गरेको इतिहास कमै छ । लेनिन, स्टालीन, माओ, होचि मिन्ह आदिमात्र उदाहरणीय रहेको इतिहास छ । कैयौं नेताहरू पार्टीको शक्तिशाली ओहोदामा पुगेपछि संशोधनवादी, दक्षिणपन्थी र प्रतिक्रियावादी भएको इतिहासमा बग्रेल्ती पाइन्छ ।
    बर्नस्टिन, ख्रस्चोभ गद्दारहरू नाङ्गै भएर संशोधनवादी झण्डा बोकेर क्रान्तिकारी माक्र्सवादमाथि हमला गर्न पुगेका थिए । तर कम्युनिस्ट आन्दोलनमा क्रान्तिकै खोल ओढेर माक्र्सवाद–लेनिवाद र अहिले माओवादको खोल ओढेर संशोधनवादी क्रियाकलाप प्रदर्शन गर्ने मालेमाप्रति गद्दारी गर्ने, क्रान्तिप्रति गद्दारी गर्ने गरेको पाइन्छ । वाङमिङले पनि चीनमा अन्तिमसम्म बन्दुक बोकेको थियो । ख्रुस्चोभले अन्तिमसम्म आफूलाई कम्युनिस्ट भएको प्रचार गर्दथ्यो । प्रुधों, बाकुनिन, लासाल, ब्लांकी, बर्नस्टिन, काउत्स्की, ल्यूसाओची, तेङ स्याओ पिङहरू पनि कम्युनिस्ट पार्टीको उच्च ओहोदाहामा पुगेर नै सबै संशोधनवादी गद्दार बन्न पुगेका छन् । नेपालको डा.रायमाझी पनि महासचिव बनेपछि दरबारीया गद्दार हुन पुगेका थिए । मदन भण्डारी पनि एमालेको महासचिव भएपछि मात्र जबज लिएर नेपाली धरतीमा झुल्केका थिए ।
    कम्युनिस्ट पार्टीको उच्च ओहोदामा पुगेर संशोधनवादी गद्दार बन्ने खतरा रहने भएकाले कम्युृनिष्ट आन्दोलनमा नेतृत्वको प्रश्न ज्यादै जटिल, जोखिमपूर्ण बन्दै आएको छ । विचार र सङ्गठनबीचको द्वन्द्वात्मक सम्बन्धलाई सँधै जोडेर नेतृत्वको निर्माण गर्ने, पार्टीभित्र सुद्धीकरण, सुदृढीकरणको प्रक्रिया चालु राख्ने, पार्टीभित्र सामुहिक नेतृत्व प्रणाली कायम राख्ने, आलोचना र आत्मालोचनाको पद्धतिलाई दह्रोगरी पकडी राख्ने प्रक्रियालाई निरन्तरता दिंदै गर्ने हो भने नेतृत्वलाई बचाइराख्न र क्रान्तिकारी बनाइराख्न सम्भव हुन्छ । नेतृत्वको क्रान्तिकारी रूपान्तरण हुन सकेन भने त्यस्तो नेतृत्वलाई विस्थापित गर्न पार्टी वा आन्दोलनभित्रका क्रान्तिकारीहरू सचेतरूपले तयार रहने अवस्थाको सिर्जना गर्नुपर्छ । यही तथ्यलाई मध्यनजरमा राखेर नै अहिले एमाओवादीभित्रका क्रान्तिकारीहरूले मुख्य नेतृत्वसहितको सिंगो पार्टीकै क्रान्तिकारी रूपान्तरण गरेर नेपाली क्रान्तिको नेतृत्व प्रदान गर्नसक्ने नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माणका निम्ति दुईलाइन सङ्घर्षलाई भीषण र पेचिलो बनाइरहेका छन् । मालेमावादको रक्षा, प्रयोग र विकासको लागि एमाओवादीभित्रका क्रान्तिकारीहरूका सामु यसको विकल्प पनि छैन ।

No comments:

Post a Comment