Wednesday, March 20, 2013
नेपाली कम्युनिस्ट आन्दोलनका ६३ बर्ष
१.बिषय प्रबेश ः
कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्धारा लिखित विश्वविख्यात कम्युनिस्ट घोषणापत्रको प्रकाशन भएको ठिक १०१ बर्षपछि, र महान्् पेरिस कम्युनको निर्माण भएको ठिक ७८ बर्षपछि, अनि महान्् सोभियत अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भएको ठिक ३२ बर्षपछि महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति विजयको अन्तिम मोडमा पुगिरहेको अवस्थामा वि.सं. २००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिख) का दिन भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पुष्पलालको पहलकदमी र नेतृत्वमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशी समेतको संलग्नतामा नेपाल कम्युनिस्ट एशियाई देशका कम्युनिस्ट पार्टीहरूमा सवभन्दा कान्छो पार्टीको रूपमा गठन भएको थियो । यसैबेला केन्द्रीय सङ्गठन समिति बन्यो र महासचिव कमरेड पुष्पलाललाई बनाइयो ।
नेपाल कम्युनिस्ट पार्टीले २००६ साल १२ बैशाखमा जनताका नाममा एउटा अपिल प्रकाशित ग¥यो । राणा शासनका विरुद्ध पूर्ण नागरिक स्वतन्त्रताका लागि लड्न र त्यसका निम्ति स्थानिय रूपमा विभिन्न मोर्चा समितिहरू बनाउन उक्त अपिलद्धारा जनतासँग अनुरोध गरिएको थियो । र सामन्तवाद तथा साम्राज्यवादका विरुद्ध सङ्घर्षका बीचबाट पूर्ण नागरिक स्वतन्त्रता हासिल गरी समाजवाद र साम्यवादमा जाने लक्ष्य उद्घोष गरिएको थियो । त्यतिवेला अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपालमा पार्टीको मूल नीति र कार्यक्रम अर्थात राजनीतिक कार्यदिशा सर्वहारावर्गको नेतृत्वमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध आम जनसमुदायको एकताद्धारा जनवादी क्रान्ति सम्पन्न गर्ने मान्यतामा आधारित थियो । पार्टीले नयाँ जनवादी क्रान्तिको स्पष्ट खाका कोरेको पनि थियो । स्थापनाकालमै नेपाल कम्युनिस्ट पार्टीले आफनो लक्ष्य र उद्देश्यलाई स्पष्टताका साथ अघि सारेको थियो ।
२.नेकपाको इतिहास सम्बन्धी टिप्पणीको प्रश्न ः
इतिहास तथ्यहरूद्धारा निर्माण हुने भएकोले यो निर्मम हुन्छ र त्यसलाई तोडमरोड गर्न मिल्दैन । त्यसको समीक्षा, संश्लेषण र सिंहावलोकन मात्र गर्न सकिन्छ । त्यसकै आधारमा त्यसबाट सकारात्मक र नकारात्मक शिक्षा ग्रहण गरेर अगाडि बढ्न प्रेरित गर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनको ६२ वर्षको ज्यादै जटिल र अत्यन्तै संवेदनशील विषय हो ।
कम्युनिस्ट आन्दोलनको इतिहास जनआन्दोलन, वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्ष वा विचारधारात्मक अन्तरसङ्घर्षका जटिल सजीव वाङ्गा टिङ्गा मोडहरू र आरोह अवरोहका परिघटनाहरूले भरिएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको अध्ययन गर्नेबारे अनेकौं विवादहरू पाइन्छन् । यस आन्दोलनका कैयौ घटकहरू वा नेताहरूले इतिहासलाई आफ्नो पक्षमा देखाउनका लागि विभिन्न रूपमा तोडमोड तथा अपव्याख्या गर्दै आएका छन र इतिहासलाई मनोगतवादी रूपमा लेख्ने र व्याख्या गर्ने गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा, संश्लेषण र सिंद्धावलोकन गर्ने क्रममा यी तमाम कुराहरूप्रति सतर्क रहन जरुरी छ । माक्र्सवादको मूल सिद्धान्त र क्रान्तिकारी सामाजिक व्यवहार अर्थात विचारधारात्मक, राजनीति तथा फौजी कार्यदिशालाई मापदण्ड बनाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको अध्ययन गर्नु यसको समीक्षा, संश्लेषण र सिंद्धावलोकन गर्नु उपयुक्त हुन्छ ।
३.विचारधारात्मक प्रश्न ः
कमरेड माओत्सेतुङकै शब्दमा हरेक कुराको निर्धारण सही विचारले मात्र गर्दछ । कम्युनिस्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता हो । नेपाल कम्युनिस्ट पार्टी नेपाली सर्वहारावर्गको प्रतिपादनपश्चात माक्र्सवाद–लेनिनवाद र माओवादको मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्तबाट निर्देशित हुदै आएको छ । माक्र्सवाद विश्व सर्वहारावर्गको मुक्तिको वैज्ञानिक र क्रान्तिकारी मार्गदर्शक सिद्धान्त हो । माक्र्सवादका प्रणेता काल माक्र्स (१८१८–१८८३) र फेडरिक एंगेल्स (१८२०–१८९५) हुनुहुन्छ । माक्र्सवादका तीन संघटक अंग छन्, ती हुन्–दर्शन, राजनीतिक अर्थतन्त्र र वैज्ञानिक समाजवाद । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त भएकोले यसले उत्पीडित जनसमुदायका साथै सिंगो मानव जातिलाई मुक्ति प्रदान गर्दछ । माक्र्सवादको अभिष्ट साम्यवादी समाजको स्थापना हो । माक्र्स र एंगेल्सले सर्वहारावर्गको राजनीतिक प्रतिनिधिका रूपमा कम्युनिस्ट पार्टीको निर्माण अनिवार्य रूपमा आवश्यक भएको र यसको नीति तथा कार्यक्रम वा समग्र कार्यदिशाका रूपमा सन् १८४८ फेबु्रअरीमा कम्युनिस्ट पार्टीको घोषणापत्रको रचना गर्नुभयो । माक्र्सवादको सैद्धान्तिक ग्रन्थ यही नै हो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भुमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । प्रकृति, समाज, राज्यव्यवस्था आदिकाबारेमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले महान्् खोज र प्रयोगद्धारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र विचारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारी त्यसको ठाउँमा सर्वहारावर्गको राज्यव्यवस्थालाई स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउछ । माक्र्सवादको परिमार्जन र विकासका क्रममा लेनिनवाद र माओवादमा गुणात्मक रूपले विकास भएको छ ।
साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा लेनिन (सन् १८७०–१९२४) ले माक्र्सवादलाई विकसित तुल्याउनु भयो । र लेनिनवादको जन्म भयो । माक्र्सवादको गुणात्मक विकासको दोस्रोे चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु उत्पादक शक्ति सर्वहारा आन्दोलन तथा ज्ञान विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइँमा विकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मियो । यसै प्रक्रियामा माओत्सेतुङ (१८९३–१९७६)ले माक्र्सवाद–लेनिनवादलाई विकसित तुल्याउनु भयो र माओवाद जन्मियो । माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रोर नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त, अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधानका लागि समाजवादी समाजका अन्तरविरोधहरूको समाधान गर्नु पर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाइँ लड्नु पर्ने ऐतिहासिक आवश्यकताको पृष्टभूमिमा माओद्धारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेश्रो, नयाँ र गुणात्मक उचाइँमा पु¥याउने काम भयो । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । अतः माक्र्सवाद–लेनिनवाद–माओवाद नेपाली सर्वहारावर्गको मार्गदर्शक सिद्धान्त बनेको छ । एकीकृत नेकपा (माओवादी) विश्व सर्वहारावर्गको एक टुकडी भएकोले माक्र्सवाद–लेनिनवाद–माओवाद यसको पनि मार्गदर्शक सिद्धान्त र पथप्रदर्शक सिद्धान्त हो । यसै सिद्धान्तबाट यो पार्टी संचालित हुदै आएको छ । मालेमावादको मार्ग निर्देशनबिना एमाओवादी पार्टी क्रान्तिकारी कम्युनिस्ट बनिरहन सक्तैन ।
४.नेकपाको विकास प्रक्रिया ः
आज नेपाली कम्युनिस्ट आन्दोलनले ६२ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अबधिमा यस आन्दोलनभित्र वर्गसङ्घर्ष र दुइलाइन सङ्घर्ष वा विचारधारात्मक अन्तरसङ्घर्षका अनेकौ जटिल, वाङ्गा टिङ्गा र कहाली लाग्दा घुम्तीहरू रहेका छन् । सर्वविधितै छ, यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौ समुह–उपसमुहहरूमा विभाजित रहदै आएको छ । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्परविरोधी धाराकै द्धन्द्ध प्रमुख बनेर आयो ।
आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी–सुधारवादी धारा जो नेकपा एमालेले नेतृत्व गर्दै आएको छ । आफुलाई विजातिय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एवम् आधुनिक संशोधनवादी धारामा गुणात्मक फड्को हान्न पुगेको छ भने यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जो एकीकृत नेकपा माओवादीले नेतृत्व गर्दै आएको छ । आज माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा गुणात्मक ढंगले विकसित हुँर्दै दश वर्षे सशस्त्र जनयुद्ध र शान्ति प्रक्रियाहुँर्दै संविधानसभाको निर्वाचन र त्यसको गठनमार्फत सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको घोषणा समेत गरेर यहाँसम्म आइपुगेको छ । अहिले सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व भएको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नयाँ जनवादी क्रान्तिलाई अन्तिम विजयमा पु¥याउन अगाडि बढ्ने, यदि यस कार्यमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूबाट षडयन्त्र भएमा जनविद्रोहमार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने महान्् र जटिल प्रक्रियामा फड्को मार्ने स्तरमा पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको यस द्धन्द्धवादलाई हामी माओवादी क्रान्तिकारीहरूले अत्याधिक गहिराइका साथ हृदयगम गर्न जरुरी छ ।
५.नेकपाले पार गर्दै आएको प्रमुख मोडहरू ः
नेपाल कम्युनिस्ट पार्टीको ६२ वर्षको लामो इतिहास अनेकौ बाङ्गा टिङ्गा मोडहरूको बीचबाट विकसित हुदै अगाडि बढिरहेको छ । विचारधारात्मक तथा राजनीतिक कार्यदिशा र आन्दोलनको अवस्थालाई मूल आधार बनाउँदै नेपाल कम्युनिस्ट पार्टीले पार गर्दै आएको विविध मोडहरूको बेग्लाबेग्लै रूपमा अध्ययन, विश्लेषण र समिक्षा गर्नु आवश्यक देखिन्छ ।
६.पार्टी स्थापनाको मोड ः (वि.स.२००६–२००८)
विश्वका विभिन्न देशहरूमा भएका पुँजीवादी जनवादी क्रान्ति, सोभियत रुसमा सम्पन्न महान्् अक्टुवर समाजवादी क्रान्ति, महान्् चिनियाँ नयाँ जनवादी क्रान्ति, भारतको तेलंगाना सशस्त्र सङ्घर्ष तथा भारतकै अंग्रेज साम्राज्यवादविरोधी राष्ट्रिय मूक्ति आन्दोलनको प्रभाव र आफ्नै देश नेपालमा राणा शासन विरोधी आन्दोलनको पृष्टभूमिमा नेपालमा माक्र्सवादको प्रवेश भएको थियो । यसै प्रक्रियामा अर्थात ५ अप्रिल १९४९ मा कमरेड पुष्पलालद्धारा नेपाली भाषामा अनुदित विश्वप्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित भयो । यस प्रक्रियाले नेकपाको स्थापनाका लागि कोसेढुङ्गाको काम ग¥यो । त्यसै प्रसंग र पृष्ठभूमिमा महान्् लेनिनको जन्मजयन्तीको अवसर पारेर भारतको पश्चिम वंगालको कलकत्तामा वि.स.२००६ साल बैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिख) का दिन क.पुष्पलाल श्रेष्ठ, क.निरन्जन गोविन्द वैद्य, क.नारायण बिलास जोशी र क नरबहादुर कर्मचार्यद्धारा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । यसैबेला केन्द्रीय सङ्गठन समिति बन्यो र महासचिब क. पुष्पलाललाई बनाइयो ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुनु एउटा युगान्तकारी घटना थियो । किनकि त्यतिबेला नेपालमा स्थानीय र राष्ट्रिय स्तरका विभिन्न रंगका राजनीतिक दलहरू गठन त भइसकेका थिए तर पनि कुनै पनि राजनीतिक दलसँग एक वा अर्को रूपमा आंशिक लक्ष्यहरू भएतापनि नेपाली समाजलाई राजनीतिक आर्थिक र सांस्कृतिक रूपले कसरी क्रान्तिकारी ढंगले रूपान्तरित गर्ने भन्ने स्पष्ट लक्ष्य थिएन । नेपाली जनता लामो समयदेखि सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादको शोषण र उत्पीडनमा परेका थिए । त्यसकाविरुद्ध सङ्घर्ष गर्दै आएका थिए र उनीहरू त्यसबाट मुक्ति पाउन चाहन्थे । जनता र राष्ट्रका यी चाहनाहरूलाई अभिव्यक्ति दिने कुनै राजनीतिक दल मुलुकमा थिएन । २००५ सालमा गठन भएको नेपाली कांग्रेजले पनि शासक वर्ग र अन्तरर्राष्ट्रिय पुँजीवादसँग संझौता गर्ने, घुडा टेक्ने र जनताका हितहरूलाई लत्याइदिने लक्ष्य देखाउन थालेको थियो । जसले गर्दा मुलुकमा एउटा सशक्त र प्रभावकारी क्रान्तिकारी पार्टी निर्माण गर्नु आवश्यक थियो । यही आवश्यकता पूरा गर्ने उद्देश्यका साथ नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । स्थापनादेखि नै नेपाल कम्युनिस्ट पार्टीले न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति र अधिकतम कार्यक्रम समाजवाद र साम्यवाद राखेको थियो । यो नै सही थियो ।
७. एकीकृत पार्टी मोड (दक्षिणपन्थी संशोधनवादी धाराको विकाससहित), (वि.स.२००८–२०१९)
६२ वर्षको लामो इतिहासमा नेपाली कम्युनिस्ट आन्दोलनले विभिन्न मोडहरू पार गर्दै यहाँसम्म आइपुगेको छ । २००६ सालमा नेकपाको स्थापना भयो । २००८ सालको वरिपरिको अवधिलाई माथि पनि उल्लेख गरिएको छ, त्यस अवधि पार्टी स्थापना र नयाँ व्यवस्थापनकै अवधिको रूपमा लिन सकिन्छ । यहाँ २००८ सालदेखिको अवधि उल्लेख गर्न खोजिए पनि पार्टी स्थापनाकालदेखि तेस्रो महाधिवेशन २०१९ साल बैशाखसम्मको अवधिलाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा दोस्रो मोडको रूपमा लिन सकिन्छ । यो मोडमा पार्टीका तीनवटा महाधिवेशनहरू सम्पन्न भएका छन् । र तेस्रो महाधिवेशनसम्म आउँदा दोस्रो मोड समाप्त हुन्छ ।
२००८ साल असोज ११–१६ मा भारतको कलकत्तामा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा अन्तरसम्बन्धित जनताको जनवाद, जातीय आत्मनिर्णयको अधिकार, जमिन जोत्नेको नारा, राष्ट्रिय अर्थतन्त्र, जनवादी संस्कृति, राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चालगायत कमरेड पुष्पलालद्धारा प्रस्तुत राजनीतिक कार्यदिशा पारित गरियो । यो समग्र कार्यनीतिक कार्यदिशा तत्कालीन अवस्थामा नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति वस्तुवादी अर्थात् माक्र्सवादी–लेनिनवादी दृष्टिकोणमा आधारित थियो र पार्टीले सही लाइन पकडेको थियो ।
त्यस सम्मेलनले त्रिपक्षीय राष्ट्रघाती दिल्ली संझौताको विरोध ग¥यो र अधुरो ‘क्रान्ति’ पुरा गर्ने कार्यनीति तय भयो । २००८ सालमा नै के.आई.सिह विद्रोह भयो । यस विद्रोहमा नेकपाको संलग्नता रहेको आरोप लगाउदै तत्कालिन नेपाली कांग्रेसको मातृकाप्रसाद कोइरालाको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो र पाँच वर्षसम्म नेपाल कम्युनिस्ट पार्टी भूमिगत रह्यो ।
२०१० साल माघ १३–१७ मा पाटनको ग्वाहालमा भुमीगत रूपमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिबमा निर्वाचित ग¥यो । त्यस महाधिवेशनले कुनै नयाँपन ल्याउन सकेन र पार्टीको दोस्रोे महाधिवेशन काठमाण्डौमा खुल्ला वातावरणमा २०१४ साल जेठमा सम्पन्न भयो । त्यस महाधिवेशनले जनवादी कार्यक्रमको रणनीति र गणतन्त्र तथा संविधानसभा चुनावको कार्यनीति पारित ग¥यो । दोस्रोे महाधिवेशनको विडम्वना के रहयो भने गणतन्त्र विरोधी डा.केशरजंग राममाझीलाई पार्टीको महासचिव निर्वाचित ग¥यो ।
२००७ सालमा घोषित संविधानसभाको निर्वाचन राजा र कांग्रेजका कारणले गरिएन । राजालाई यथावतै काममै राखी नाम मात्रको संसद स्वीकार गरियो । २०१५ सालमा संसदको निर्वाचन सम्पन्न भयो । त्यसमा नेपाली कांग्रेसले अत्याधिक बहुमत ल्यायो । नेपाल कम्युनिस्ट पार्टीले चार स्थान मात्र प्राप्त ग¥यो ।
२००७ सालदेखिपछि पार्टीले अनेकौ सङ्घर्षहरू चलायो । यस सन्दर्भमा त्रिपक्षीय दिल्ली संझौताको विरोध बारा, पर्सा, रौतहट लगायत पूर्वी तराइका विभिन्न जिल्लाहरूमा जमिन्दार वर्गकाविरुद्ध सशक्त किसान आन्दोलन, भारतसँग गरिएका कोशी गण्डकी संझौताको विरोध र संविधानसभाको निर्वाचनका लागि उठाएको आवाज लगायतका सङ्घर्षहरू त्यस अवधिका उल्लेखनीय रहेका छन् ।
२००७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रद्धारा फौजीकाण्ड घटाएर बहुदलीय व्यवस्थालाई अपदस्त गरेर निरंकुशतन्त्र चलाउन थालेपछि भारतको दरभंगामा २०१७ फाल्गुणमा १ महिनासम्म पार्टीको प्लेनम बस्यो । सो प्लेनममा सर्वसत्तासम्पन्न संसदको स्थापना, विघटित संसदको पुनःस्थापना र संविधानसभा जस्ता तीन कार्यनीतिक प्रस्ताव प्रस्तुत गरिए र दोस्रोे प्रस्तावमा रहेको विघटित संसदको पुनःस्थापना नामक प्रस्ताव पारित भयो ।
पार्टीको तेस्रो महाधिवेशन ०१९ साल वैशाख ४ –१५ भारतको वनारमा सम्पन्न भयो । यसमा पार्टीले पहिलेदेखि निर्णय गर्दै आएको जनताको जनवादी कार्यक्रको साटो राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित ग¥यो । कार्यनीतिक रूपमा सर्वशक्तिसम्पन्न सार्वभौम संसदसहितको स्थापना अंगीकार गरी किटान भयो । त्यस महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिवमा निर्वाचित ग¥यो । राजावादी भासमा फस्न पुगेका डा. केशरजंज रायमाझीलाई अनुशासनको कार्वाही गरी पार्टीबाट निकालियो । तर उनले राजावादी गुट खडा गरे ।
स्पष्ट रूपमा के देखिन्छ भने वि.स ००६ सालदेखि ०१९ सम्म आउँदा कम्युनिस्ट पार्टीमा दुइलाइन सङ्घर्ष तीव्र बन्यो । यो सङ्घर्षमा मुख्यत पहिले महाधिवेशनदेखि तेस्रो महाधिवेशनसम्म निकै चर्केर गयो । ००८ सालमा सम्पन्न पहिले ऐतिहासिक सम्मेलनबाट पारित कयौं मान्यताहरूमाथि संशोधन गरिएका थिए । ०१२ सालमा ००८ देखि सरकारद्धारा लगाइदै आएको प्रतिवन्ध फुकुवा गर्ने विषयमा गंभीर वहस चल्यो । पार्टीलाई वैधानिक बनाउने नाममा राजाको वैधानिक नायकत्व र समाजवादमा शान्तिपूर्ण संक्रमणको नीति अंगीकार गरियो । यो खु्रश्चोभी नव संशोधनवाद प्रवेश थियो नेकपाभित्र । ०१३ वैशाख ३ गते तत्कालीन महासचिव मनमोहन अधिकारीद्धारा राजाको वैधानिक परिधिभित्र रही शान्तिपूर्ण तरिकाले समाजवादको स्थापना गर्ने सकिनेमा आफ्नो विश्वास प्रतिवद्धता प्रकट गर्दै त्यसैलाई आफ्नो नीति घोषित गर्ने वचनवद्धताका साथ सरकारलाई पत्र पठाईयो र प्रेस विज्ञेप्ती पनि प्रकाशित गरियो । सरकारको विज्ञेप्तीमा भनिएको छ ः ‘नेपाल कम्युस्टि पार्टीले आफुमाथि लागेको प्रतिवन्ध हटोस भन्ने अपिल सरकारसँग गरेको र हिजो सरकारको छेउ प्रतिनिधिहरू पठाई आफ्नो नीति स्पस्ट गरेकोले आजदेखि कम्युनिस्ट पार्टीबाट सरकारको प्रतिवन्ध हटाइएको छ । आफ्नो नीति स्पष्ट गर्दै पार्टीले भनेको छ कि समाजवाद शान्तिपूर्ण तरिकाले स्थापना गर्न सकिन्छ भन्ने कुरामा कम्युनिस्ट पार्टी विश्सास गर्दछ । कम्युनिस्ट पार्टीले यो स्पष्ट गर्दछ कि राजको वैधानिक नायकत्वमा प्रचलित कानुनको अधिनमा रही आएको समाजवादी सिद्धान्तको प्रचार गर्ने छ ।’ यो वक्तव्यसहित ०१३ वैशाख ४ गते सरकारले ००८ माघ १० गतेदेखि लगाउदै आएको प्रतिवन्ध ५ वर्षपछि फुकुवा हटायो । २०१३ वैशाख ३ गते पार्टीमाथिको प्रतिवन्ध हटाउनका लागि राजाको प्रधानता (नायकत्व) स्वीकार र शान्तिपूर्ण संक्रमणको बाटोबाट समाजवाद निर्माण गर्ने पत्र सरकारलाई पठाएको दिन देखि नेपाल कम्युनिस्ट पार्टीलाई विधिवत रूपमा दक्षिणपन्थी संशोधनवादमा प्रवेश गराइएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाइएको यो घटना इतिहासमा अत्यन्तै विवादास्पद विषयमा रहेको पाइन्छ । पार्टीभित्र दक्षिणपन्थी सुधारवादी विचारको प्रवेश यहीबाट शुरु भएको थियो । पार्टीमाथिको प्रतिबन्ध हटेपछि आयोजित केन्द्रीय समितिको प्रथम वैठकमा पोलिट्व्युरोले राजाको सम्बन्धमा आफ्नो नीति स्पष्ट पार्दै लिखित रूपमा दिइएको वक्तव्यको तीव्र आलोचना गरी वहुमतद्धारा त्यसलाई अस्वीकार गरेको थियो ।
दोस्रोे महाधिवेशनमा गणतन्त्रवादी र संवैधानिक राजतन्त्रवादी धाराका बीचमा भीषण दुइलाइन सङ्घर्ष देखा प¥यो । तेस्रो महाधिवेशनसम्म आउँदा पार्टीले जनवादी कार्यक्रमलाई परित्याग गरी राष्ट्रिय प्रजातन्त्रको संशोधनवादी कार्यक्रम र तदनुसारको संसदवादी कार्यनीति पारित गरेर पार्टीलाई विसर्जनको दिलमा पु¥याएको थियो ।
८.पार्टी टुट फुट र विभाजनको मोड (२०१९–२०४६)
२०१९ सालमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनको आसपासदेखि २०४६ सालको जनआन्दोलनसम्मको अवधिलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्र पार्टी टुटफुट र विभाजनको रूपमा लिइन्छ । तेस्रो महाधिवेशनपछि पार्टी केन्द्रीय समितिभित्र तीव्र विवाद चर्कदै गयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुसी र चिनियाँ कम्युनिस्ट पार्टीभित्र चर्कदै गएका विवादको असर नेपाली कम्युनिस्ट आन्दोलनभित्र पनि प¥यो । त्यसै प्रक्रियामा तुल्सीलालको ‘कुन बाटो’ र पुष्पलालको ‘मूलबाटो’जस्ता दस्तावेजहरू खुल्ला रूपमा वाहिर आए । पार्टी केन्द्र नेतृत्वविहीन र विचारविहीन अवस्थामा पुग्यो । पार्टी अस्तव्यस्त र विभाजनको शिकार बन्न पुग्यो । र पार्टी फुटेर छरपस्त हुन पुग्यो ।
त्यसै परिस्थितिमा पार्टीमा तीन धाराहरू देखा परे । ती थिए– पुष्पलाल समुह, माले समुह र चौम समुह । नेपाल कम्युनिस्ट विभाजन हुनुको मूख्य कारण तत्कालीन कार्यनीति सम्बन्धी मतभिन्नताहरू थिए । २०१९ सालको तेस्रो महाधिवेशनपछि पार्टी नीति विहिनताकै कारण छिन्नभिन्न बन्न पुगेको थियो । केन्द्रको विघटनपछि प्रान्तीय र जिल्ला कमिटीहरूले स्वतन्त्र र समानान्तर पार्टीको रूपमा काम गर्न थाले । त्यही परिवेशमा २०२५ सालमा भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरेर पुष्पलाल समुह अस्तित्वमा आयो र उक्त सम्मेलनले नयाँ जनवादी कार्यक्रम अंगीकार ग¥यो । त्यसले कांग्रेस र कम्युनिस्टहरूबीच एकता कायम गरी निरंकुश पञ्चायती शासनका विरुद्ध सङ्घर्ष गर्ने कार्यनीति पारित ग¥यो । साथै त्यस सम्मेलनले क. पुष्पलाललाई महासचिवमा निर्वाचित ग¥यो ।
०२८ सालको ऐतिहासिक झापा विद्रोहको प्रक्रियाबाट नेकपा(माले) समुह जन्मियो । त्यसले दक्षिणपन्थी संशोधनवादका विरुद्ध सङ्घर्षको झण्डा उठायो र सशस्त्र सङ्घर्षको प्रक्रियामा अघि बढ्यो । त्यसको नीति एक एरिया एक यूनिट, एक स्क्वायड र एक एक्सनमा आधारित ‘वर्गशत्रु खतम गर’ लाइनमा आधारित थियो । चारु मजुम्दारको नेतृत्वमा भारतको नक्सलवाडीहरूको सोचबाट संचालित सशस्त्र किसान विद्रोहबाट प्रभावित चिन्तनमा निम्न पुँजीवादी यान्त्रिकता र वामपन्थी दुस्साहसवादका गंभीर कमजोरीका बावजुद झापा सशस्त्र कार्वाही एक यस्तो ऐतिहासिक विद्रोह थियो, जसले जनआन्दोलनको संशोधनवादी धार र राजाको सामन्ती सत्तामा समेत खैलावैला मच्चियो । सशस्त्र सङ्घर्षको प्रश्न कमसेकम कम्युनिस्ट आन्दोलनमा आम बहसको विषय बनेर गयो । पछि २०३५ सालमा पुगेर नेकपा (माले) बन्यो र सीपी मैनालीलाई संस्थापक महासचिब बनाइयो ।
०२८ सालमा मोहनविक्रम सिंहद्धारा न्यूक्लसको निर्माण भयो । न्यूक्लस हुँदै ०३१ सालमा भारतको अयोध्यामा सम्पन्न चौथो महाधिवेशनको वीचबाट नेकपा (चौ.मा) अगाडि बढ्यो । त्यस महाधिवेशनले ‘देशभक्त र जनतान्त्रिक’ शक्तिहरूको सरकारको कार्यनीति पारित ग¥यो र मोहनविक्रम सिंहलाई महामन्त्री बनाइयो । यी तीनवटै समुहहरू चीनमा माओत्सेतुङको नेतृत्वमा संचालित महान्् सर्वहारा साँस्कृतिक क्रान्तिलाई वैज्ञानिक उर्जा मुहान मान्ने गरेको थियो । सैद्धान्तिक तथा राजनीतिक रूपमा हेर्दा यी तीनवटै समुह माक्र्सवाद–लेनिनवाद र माओविचारधारा, नयाँ जनवादी कार्यक्रम तथा सशस्त्र सङ्घर्ष मान्ने समुह नै थिए । तर यी समुहवीच एकता हुन नसक्नुमा आन्दोलनभित्र विद्यमान अवसरवादी चिन्तनले काम गरेको थियो ।
यस अतिरिक्त पुष्पलाल समुहबाट अलग भएर मुक्तिमोर्चा, नेमकिपा, सर्वहारावादी श्रमिक सङ्गठन जस्ता उपसमुहहरू बनेका थिए । अर्काेतिर राजावादी रायमाझी समुह पनि कैयौ चिरामा विभाजित हुँदै गएको थियो । रुस पक्षधर तुल्सीलाल समुहले पनि आफ्नो नाममात्रको अस्तित्व कायम राखेको थियो । यसै प्रक्रियामा नेकपा (माक्र्सवादी) समुह पनि बनेको थियो । यसरी विभाजन भएपछि २०३१ साल यता सशक्त समुहका रूपमा नेकपा सयुक्त (चौ.म.) र नेकपा (माले) नै रहेका थिए ।
९ सेप्टेम्वर १९७६ मा चीनमा माओत्सेतुङको निधन भयो । त्यस पश्चात अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अध्ययन गर्ने र संशोधनवादको पहिचान गर्ने बारेमा नेकपा संयुक्त चौम र नेकपा (माले) बीच गंभीर मत रहन गयो । नेकपा संयुक्त चौमले २०२८ सालमा भारतको अयोध्यामा प्लेनम गरी चीनमा पुँजीवाद पुनःस्थापना भएको ठहर ग¥यो र महान्् सर्वहारा साँस्कृतिक क्रान्तिप्रति प्रतिबद्धता जनायो । तर नेकपा (माले) यो मान्यताको विरोधमा उत्रियो ।
०४० सालपछि सुरुमा नेकपा चौथो महाधिवेशन अन्तरगतका नेकपा (मशाल), नेकपा (मसाल) र नेकपा (चौ.म.) गरि तीन समुहमा विभाजित हुन पुगे । ०४० सालमा सम्पन्न राष्ट्रिय सम्मेलनमा निर्मल लामा सहितका केही नेताहरू पार्टीबाट निस्काशित भए । यो सम्मेलनबाट पार्टीको नाम नेकपा (मशाल) राखियो र चित्र बहादुर के.सीलाई जनरल सेक्रेटरीमा निर्वाचित गरियो । निस्काशित पक्षबाट नेकपा(चौम) समुह बनाइयो र निर्मल लामालाई महासचिव बनाइयो । २०४१ सालमा नेकपा (मशाल)को पाँचौ महाधिवेशन सम्पन्न भयो । यसले क.मोहन वैद्य ‘किरण‘लाई महामन्त्री निर्वाचित ग¥यो । त्यसपश्चात पार्टीभित्र अन्तरसङ्घर्ष तीव्र बन्दै गयो र ०४२ सालमा पार्टी पुनः विभाजित भयो । अल्पमत पक्षले नेकपा (मसाल) समुह बनायो र त्यसको महामन्त्रीमा मोहन विक्रम सिंहलाई चयन ग¥यो ।
०१७ पुस १ गतेदेखि २०४६ सम्मको अवधि राजाको निरंकुशतन्त्रमा आधारित पञ्चायती शासनको कालरात्रीको अबधि थियो । यो अवधिमा सुरुमा नेपाली कांग्रेसले निरंकुशताका विरुद्ध बन्दुक उठायो । नेकपा (माले)ले पनि (२०२८–२०३७) एक दशकसम्म सशस्त्र सङ्घर्ष चलायो । यो अवधिमा पुष्पलाल समुहद्धारा अर्घाखाचीको हर्रेवर्रेसहित रुकुम, प्यूठान, गुल्मीलगायत देशका कतिपय भागमा किसान सङ्घर्ष चलाइयो । नेपालका सुस्ता, महेशपुर क्षेत्रमा भएका भारतीय विस्तारवादी अतिक्रमण र उत्पीडनका विरुद्ध पनि सङ्घर्ष चले । २०३५,२०३६ सालको विद्यार्थी आन्दोलनको पनि महत्वपूर्ण रह्यो । त्यसले जनमत संग्रहमा पु¥यायो तर राजतन्त्रले षडयन्त्रमुलक ढंगले पंचायतलाई जितायो । ०४२ सालको शिक्षक आन्दोलन र रामराजासिंहद्धारा घटाइएको वमकाण्ड पनि उल्लेखनीय रहेका छन् । अन्ततः ०४६ को राजतन्त्र विरुद्धको ऐतिहासिक जनआन्दोलन उल्लेखनीय रहेको छ ।
सुरुमा कांग्रेसले पंचायती व्यवस्थाको विरोधमा बन्दुक उठाएपनि त्यो प्रभावकारी रहेन । त्यो बेला नेकपा मालेले पनि बन्दुक उठायो । पछि त्यो संशोधनवादमा पतन हुन पुग्यो । ०४६ को संयुक्त जनआन्दोलनमा एकातिर कांग्रेस, माले, माक्र्सवादीसहितको वाममोर्चा र अर्कोतिर मशाल, मसाल, नेकपा संयुक्त, सम्भुरामसहितको संयुक्त राष्टिय जनआन्दोलन मोर्चाको संलग्नता संयुक्त पहलमा सम्पन्न भएको थियो । ०४६ को जनआन्दोलन नेपालमा पंचायती शासनको मात्रै अन्त्य नभएर राजतन्त्रको अन्त्य र गणतन्त्रको दिशामा परिलक्षित थियो तर कांग्रेस र मालेसहितको सहमतिमा धोकापूर्ण संझौताद्धारा २६ चैत्र ०४६ टुंगोमा पु¥याइयो र नेपाली जनतालाई ठूलो धोका दिइयो । निरंकुश पंचायती व्यवस्थाको अन्त्य भएर नाम मात्रको बहुदलीय व्यवस्थाको स्थापना हुन पुग्यो ।
पुन ः पार्टी एकीकरण प्रक्रियाको मोड (०४७– ०५१) ।
०४६ को ऐतिहासिक जनआन्दोलनपश्चात नेपाली कम्युनिस्ट आन्दोलनभित्र पार्टी एकीकरणको प्रक्रिया शुरु भयो । ०४७ मा मशाल, विद्रोही मसाल, चौम र सर्वहारा श्रमीक सङ्गठन मिली पार्टी एकता संयोजन समिति बन्यो र नेकपा एकताकेन्द्र बन्यो । ०४८ मंसिरमा एकता महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनबाट माक्र्सवाद लेनिनवाद माओवाद, नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध सहितको विचारधारात्मक राजनीतिक फौजी कार्यदिशा पारित भयो । यसले संसदीय चुनावमा भाग लियो र मुलुको तेस्रो दलको रूपमा स्थापित भयो । अर्कोतिर सशस्त्र सङ्घर्षको तयारीमा पनि लाग्यो । त्यस महाधिवेशनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग¥यो ।
अर्कोतिर ०४७ पौष २२ गते नेकपा माले र माक्र्सवादीबीच एकता भएर नेकपा एमाले बनाइयो । यसले ०४९ माघमा पाँचौ महाधिवेशन ग¥यो र सो महाधिवेशनद्धारा जनताको बहुदलीय जनवाद नामक संशोधनवादी कार्यक्रम पारित गराइयो । त्यस मशाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र महासचिवमा मदन भण्डारीलाई निर्वाचित गरयो । पछि तुल्सीलाल समुह पनि एमालेभित्रै समाविष्ट भयो । एमालेले माओविचारधारा, नयाँ जनवाद, सशस्त्र सङ्घर्ष जस्ता मालेमावादी सिद्धान्तलाई परित्याग गरि बहुदलीय जनवादको पुँजीवादी सिद्धान्त, कार्यक्रम र नीति अंगालेर दक्षिणपंथी संशोधनवादमा पतन हुन पुग्यो ।
१०.क्रान्तिकारी छलाङको मोड (०५१ ०६२)
०४६ सालको बहुदलीय व्यवस्थाको पुनःस्थापना यता पनि राष्ट्रियताको रक्षा, जनतन्त्रको स्थापना र जनजीविकाका आधारभूत समस्याहरूको समाधान हुन सकेन । ती समस्याहरू झनै जटिल बन्दै गए । सरकारमा पुगेको नेपाली कांग्रेस पुरानै तरिकाले चल्न थाल्यो र राष्ट्रव्यापी रूपमा कांग्रेसले सर्वसत्तावाद चलाउन थाल्यो । तत्कालीन सरकारले शान्तिपूर्ण जनआन्दोलनमाथि दमन गर्दै लग्यो र काठमाण्डौमा समेत जनतालाई गोलीले भुट्न थाल्यो । रोल्पामा भीषण दमन चलाउदै रोमियो, अप्रेशनसमेत चलाएर निहत्या जनतालाई गोलीले भुट्न थाल्यो । देशमा दमन, उन्पीडन र क्रान्तिकारीहरूलाई मास्ने प्रक्रिया पराकाष्ठामा पु¥याउन थाल्यो र देशमा श्वेत आतंक भित्राउन थाल्यो ।
यी घटनाक्रमहरूले क्रान्तिकारीहरूलाई नयाँ ढंगले अगाडि बढ्नै पर्ने र सोच्नै पर्ने आवश्यकता पैदा भयो । तर सशस्त्र जनयुद्ध गर्ने विषयमा भने नेकपा (एकताकेन्द्र) भित्र मतभेद भयो र २०५१ जेठमा सम्पन्न नेकपा (एकताकेन्द्र)को राष्ट्रिय पार्टीभित्र विभाजन पैदा भयो र पार्टीभित्रका संशोधनवादी बाहिरिए र यता क्रान्तिकारी सशस्त्र जनयुद्धको विचार राख्नेहरूले नेकपा (माओवादी)को गठन गर्न पुगे भने पार्टीबाट अलगिएकाहरू नेकपा (एकताकेन्द्र) नै बनाए र संसदीय राजनीतिमा सामेल भए ।
०५१ चैत्रमा सम्पन्न नेकपा (एकताकेन्द्र) को तेस्रो विस्तारित बैठकमा एकताकेन्द्र हटाई माओवादी राखियो र नेकपा (माओवादी) को निर्माण भयो । त्यस विस्तारित बैठकले महामन्त्री प्रचण्डद्धारा प्रस्तुत महान्् दस्तावेज पारित भयो । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा ०५२ साल फाल्गुण १ गते रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडीज्यूला प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीमादी प्रहरी चौकी र गोरखामा कृषि विकास वैकमाथि एकै साथ सशस्त्र फौजी आक्रमण गरी प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध महान्् जनयुद्धको थालनी भयो । त्यस महान्् जनयुद्धको उद्देश्य नेपालमा सर्वहारावर्गको नेतृत्वमा जनवादी गणतन्त्रको स्थापना गरी समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्नु रहेको थियो ।
दश वर्षसम्म संचालित त्यो महान्् जनयुद्धले सिंगो देश र विश्वलाई झकझकाएको थियो । त्यस जनयुद्धको प्रक्रियामा छापामारदस्ता, जनमिलिशिया हुँदै ०५८ साल मंसीर ८ गते चीनमा माओत्सेतुङको निधनपछि विश्वकम्युनिस्ट आन्दोलनमै सबै भन्दा विशाल जनमुक्ति सेना नेपालको निर्माण गरेको थियो । र जनयुद्धकै प्रक्रियामा देशका समस्त ग्रामीण क्षेत्रमा नयाँ जनसत्ता र जनअदालतको निर्माण र परिचालन भएका थिए । जनसरकारहरू समेत निर्माण गरेर समानान्तर सरकार समेत संचालन गरिएको थियो । त्यस प्रक्रियामा नेपाली जनता र जनमुक्ति सेनाहरूले त्याग, बलिदानका अपूर्व किर्तिमान प्रस्तुत गरेका थिए । जनयुद्धकै क्रममा माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका वीचबाट प्रचण्डपथको जन्म समेत भएको थियो । तर आज त्यो प्रचण्डपथ भ्रष्टपथमा पुगेर पतन हुन पुगेको छ ।
विचलनको यात्रा (०६२ यता)
माओवादीको नेतृत्वमा ०६२ को असोज–कार्तिकमा सम्पन्न चुनवाङ बैठकदेखि नै मूल नेतृत्वमा सैद्धान्तिक रूपमा विचलन आएको थियो भन्ने कुरा व्यवहारिक रूपमा पुष्टी हुन आएको छ । १२ बुँदे समझदारीमा निरंकुश राजतन्त्रको अन्त्यका लागि मात्र सहमति गर्नु तत्कालीन प्रचण्ड–बाबुरामको मिसन के थियो भन्ने आज प्रष्ट भएको छ । ०६३ कार्तिक २२ गते प्रचण्डहरूले तत्कालीन सात दलसँग जनयुद्धको समाप्तीको घोषणासँगै महान्् जनयुद्धका क्रममा प्राप्त जनसत्ता, जनअदालत, जनकम्युन विना विकल्प विघटन गर्नु विचलनको यथेष्ठ प्रमाण थियो ।
राजतन्त्रको अन्त्य लगत्तैं परिवर्तित राजनीतिक शक्ति सन्तुलनका आधारमा तत्कालीन कार्यनीति निक्र्योल गर्न नसक्नु, पार्टी ठूलो बनाउने नाममा अवसरवादी, भ्रष्ट मानसिकता बोकेकाहरूलाई पार्टीमा हुल्नु यी घटनाक्रमले पनि मूल नेतृत्वको ठूलो वैचारिक विचलन देखा पर्छ । यसै सेरोफेरमा ०६५ मंसिरमा सम्पन्न राष्ट्रिय भेलाबाट पारित सामन्तवाद र साम्राज्यवादी विरोधी सारतत्व भएको जनताको संघीय गणतन्त्रात्मक कार्यदिशा कार्यान्वयनको लागि पहलकदमी नलिनु, ०६७ मंसिरमा सम्पन्न पालुङटार प्लेनमलगत्तै वसेको केन्द्रीय समिति बैठकबाट पारित विद्रोहको कार्यदिशालाई लत्याएर हिड्नु यी सबै घटनाक्रमले मुख्य नेतृत्वमा देखिएका विचलनका ताजा रूप हुन् ।
पार्टी निर्णय विपरीत सरकारमा जान राष्ट्रघाती ४ बुँदे संझौता गर्नु, भारतीय विस्तारवादी शासकहरूसँग राष्ट्रघाती बिप्पा संझौता गर्नु, सम्मानजनक सेना समायोजनको विपरीत जनसेनालाई खुलेआम विघटन गर्नु यी सबै मूल नेतृत्वमा आत्मसमर्पणवाद र विचलनका अरु प्रष्ट रूप थिए ।
यस्तो बेला पार्टीभित्र मौलाउदै आएको विचनलन र दक्षिणपंथी अवसरवादका विरुद्ध पार्टीभित्रैबाट वरिष्ठ उपाध्यक्ष क.किरण र महासचिव वादलद्धारा क्रान्तिकारी विचारको रक्षा गरिरहेको स्थिति छ । क.किरण र वादलद्धारा यो प्रकारको विचारधारात्मक र वैचारिक सङ्घर्ष नचलाइएको भए एमाओवादी उहिल्यै एमाले बनिसक्ने थियो । अहिले एमाओवादीभित्र क्रान्तिकारी माक्र्सवाद र दक्षिणपंथी संशोधनवादबीच भीषण दुइलाइन सङ्घर्ष संचालन चलिरहेको छ ।
इतिहासले सिकाएका पाठहरू ः
नेपाली कम्युनिस्ट आन्दोलनको लामो इतिहासले नेपालका क्रान्तिकारीहरूलाई केही महत्वपूर्ण पाठहरू सिकाएको छ । जस्तो कि ः
१) क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तको आवश्यक्ता पर्दछ । एमाओवादीको मार्गदर्शक सिद्धान्त मालेमावाद हो । फेरी सिद्धान्त भएर मात्र पुग्दैन त्यसको रक्षा, प्रयोग र विकास गर्न पनि आवश्यक हुन्छ । यो शिक्षालाई क्रान्तिकारीहरूले हरदम आत्मसात गरिरहनु पर्दछ ।
२) कम्युनिस्ट पार्टीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी अनिवार्य रूपमा आवश्यक हुन्छ । यस्तो पार्टी निर्माण दुइलाइन सङ्घर्षको बीचबाट हुने गर्दछ भन्ने शिक्षा सिंगो नेपाली कम्युनस्टि आन्दोलनको सबक हो । ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादी सिद्धान्तअनुसार एकता, सङ्घर्ष, रूपान्तरण, फुटसम्म र पुन ः नयाँ आधारमा नयाँ एकताको बीचबाट अगाडि बढ्दै गएको इतिहास छ ।
३) क्रान्तिका लागि विचारधारात्मक राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ भन्ने मान्यता आम कम्युनिस्टहरूको लागि अपरिहार्य सवाल हुन् । नेपाली कम्युनिस्ट आन्दोलन विभाजन पछाडिको मुल कारण विचारधारात्मक एवम् राजनीतिक कार्यदिशाबीच भिन्न सोंचहरू आउनु पनि हो । तेस्रो महाधिवेशनपश्चात पार्टी विभाजन त्यसैको परिणति थियो । त्यसैले क्रान्तिकारीहरूले सही कार्यदिशा समात्नेतिर लाग्नु पर्दछ ।
४) पार्टी विभाजन आउनुका कारण कतिमय अवस्थामा केही जिम्मेबार नेताहरूमा विद्यमान व्यक्तिगत अहम् संकिर्णतावादी चिन्तन, गुटगत स्वार्थ जस्ता कारणले पनि काम गरेका छन् । खासगरी कम्युनिस्ट पाटीभित्र सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको प्रत्यक्ष वा परोक्ष घुषपैठ हुनुु पनि फुटको एउटा महत्वपूण कारण बन्ने गरेको छ । भविष्यमा पनि यस्ता प्रवृतिबाट हामीले पाठ सिक्न जरुरी छ ।
निश्कर्ष ः
नेपाली कम्युनिस्ट आन्दोलनका ६२ वर्षको लामो इतिहासबाट प्राप्त शिक्षाका आधारमा के निश्कर्षमा पुग्न सकिन्छ भने पार्टीले क्रान्तिका लागि सही क्रान्तिकारी विचारधारात्मक र राजनीतिक तथा फौजी कार्यदिशा सही ढंगले निक्र्योल गर्न सकेन भने पार्टीभित्र दुइलाइन सङ्घर्ष पैदा हुन्छ र यसलाई सही ढंगबाट हल गर्न सकिएन भने पार्टी विभाजितसम्म हुन पुग्छ ।
पार्टीभित्र देखा पर्ने अवसरवादी एवम् संशोधनवादीहरूलाई विचारधारात्मक दुइलाइन सङ्घर्षको बीचबाट निस्तेज गरेर क्रान्तिकारी पार्टी निर्माण गरेर क्रान्तिलाई अघि वढाउन सहास त्यस पार्टीपभत्रका क्रान्तिकारीहरूको दायित्व हो भन्ने निश्कर्षमा पुग्न सकिन्छ । दुइलाइन सङ्घर्षको बीचबाट मात्र नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न सकिन्छ र क्रान्तिकारीहरूले संशोधनवादी अवसरवादीहरूसँग संझौताहिन वैचारिक सङ्घर्ष गरेर मात्र क्रान्तिकारी पार्टी निर्माण गर्न सकिन्छ भन्ने निश्कर्षमा पुग्न सकिन्छ ।
यसरी नेपाली कम्युनिस्ट आन्दोलनको ६२ वर्षको लामो इतिहासको शिक्षाबाट के पाठ सिक्न सकिन्छ भने एक कालखण्डमा जनताका बीचमा लोकप्रिय बन्न र स्थापीत हुनका लागि अत्यन्तै क्रान्तिकारी बन्ने तर स्थापित भइसकेपछि त्यही नेतृत्वले देश, जनता र क्रान्तिप्रति गद्धारी गर्दै प्रतिक्रान्तिको बाटो पकड्ने प्रवति हावी हुँदै आएको छ । यसको पछाडिको मूल कारण निम्न पुँजीवादी चिन्तन र अधैर्यताले गर्दा हो ।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास जस्तो गहन विषयलाई विस्तृत रूपमा प्रस्तुत गर्ने, यसको समीक्षा र सिंहावलोकन काम ज्यादैं जटील विषय हो र यो छोटो लेखमा संभव पनि छैन । तर यहाँ दिइएका विषयवस्तुलाई गंभीरतापूर्वक लिन सकेमा यसले निश्चित रूपमा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास तथा समीक्षा गर्न केही जिज्ञासा जागृत गर्ने छ भन्ने विश्वास लिन सकिन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment