Friday, March 29, 2013
प्रचण्ड–बाबुरामको दासत्वपूर्ण आत्मसमर्पण
विषय प्रवेश
चिनियाँ क्रान्तिका नायक कमरेड माओले एक ठाउँमा भन्नु भएको छ, ‘साहसी वीरहरू लड्ने गर्दछन् तर कायर र डरछेरुवाहरू आत्मसमर्पण गर्दछन् ।’ माओको यो संश्लेषण ज्यादै सटिक छ । साहसी वीर र कायर डरछेरुवाहरूमा हुने फरक पनि यही हो । माओले करिब ७५ वर्ष पहिले गर्नु भएको यो वैज्ञानिक संश्लेषण अहिले नेपालका एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराइमा जस्ताको तस्तै लागु हून्छ । माओको उक्त भनाइ संसारभरका कायर र डरछेरुवा सबै गद्दारहरूमाथि समान रूपले लागु हुने गर्दछ । किनभने यो माक्र्सवादको सार्वभौम र आधारभूत नियम हो ।
०५२ फागुन १ देखि ०६२ को अन्त्यसम्म नेकपा माओवादीले महान्् जनयुद्धको संचालन ग¥यो । दश वर्षे जनयुद्धमा माओवादीले छापामार दस्तादेखि जनमिलिशियाहुँदै नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमा डिभिजनस्तरको जनमुक्ति सेनाको सैन्य संरचनाको विकास ग¥यो । यो नेपाली जनता र नेपालकै लागि गौरवको विषय थियो । दश वर्षे महान्् जनयुद्धकै प्रक्रियामै माओवादीले आधारइलाकाहरूको निर्माण ग¥यो, जनसत्ता र जनकम्युनहरूको निर्माण ग¥यो । जनसरकारहरू समेत गठन गरेर समानान्तर सरकार संचालनको अभ्यास समेत ग¥यो । त्यो अवधिमा माओवादीले नेपालको करिब ८० प्रतिशत भुभागमा आफ्नो कब्जामा लिन सफल भयो । त्यही जनयुद्धकै प्रक्रियामा दशौं हजार नेपाली आमाका असल छोराछोरीहरूले सहादत प्राप्त गरे । हजारौं जनतालाई राज्यले वेपत्ता पा¥यो, हजारौं नागरिक घाइते र अपांग बन्न पुगे । लाखौं नेपाली जनताको सहयोग, समर्थन, त्याग, बलिदान र योगदान रह्यो । यति ठूलो त्याग, तपस्या, बलिदान, सहास र सौर्यकासाथ विजयतिर अगाडि वढेको जनयुद्धले नेपालमा मात्र होइन विश्वमै आफ्नो गौरवशाली इतिहास निर्माण गर्न सफल भयो ।
अतः महान्् जनयुद्धको नेतृत्व समेत गरेर आएका प्रचण्ड र बाबुराम अहिले दक्षिणपंथी संशोधनवादको बाटो पकडेर अघि वढीरहेका छन् । जसका कारण मुलुकको राजनीतिक परिस्थिति समेत गंभीर मोडमा पुगेको छ र पार्टीभित्रको चालु दुइलाइन सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष पनि उत्कर्षमा पुगेको छ । यी विचलन र दासत्वपूर्ण आत्मसमर्पणका श्रृंखलाहरू कसरी जन्मिए ? यसले सिंगो कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई के असर पार्दछ ? अनि पार्टीभित्र र बाहिर छितरिरहेर बसेका कम्युनिस्टहरूले यो परिस्थितिमा के भुमिका निर्वाह गर्नु पर्ला ? यसको गंभीरतापूर्वक अध्ययन÷छलफल गर्न आवश्यक छ ।
के हो दासत्वपूर्ण आत्मसमर्पणवाद ?
क्रान्तिकारी कम्युनिस्ट पार्टी र क्रान्तिको नेतृत्व गरिरहेका व्यक्ति वा नेताले आफ्नो सिद्धान्त र क्रान्तिकारी आर्दशलाई त्यागी सिद्धान्तबाट पलायन हुनु वा विचलित हुुनुलाई आत्मसमर्पणवाद भनिन्छ । खास गरि यो शब्द कम्युनिस्ट क्रान्तिकारीहरूले प्रयोग गर्दछन् । आफ्नो क्रान्तिको धारलाई छाडेर प्रतिक्रियावादीहरूलाई समर्थन गरि मिल्न जानुलाई दासत्वपूर्ण आत्मसमर्पणवाद भनिन्छ । यो एक किसिमको विसर्जनवाद हो । यसले क्रान्तिलाई विसर्जन गर्ने काम गर्दछ । क्रान्ति सामाजिक विकासको अनिवार्य र अविच्छिन्न धारा हो भन्ने थाहा भएर पनि क्रान्तिकारी परिश्रम, आर्दश तथा अनुशासन पालना गर्न नसकि आन्दोलनबाट आर्जन गरिएका र क्रान्तिका सम्पूर्ण उपलब्धीहरूलाई प्रतिक्रियावादी शक्तिलाई सुम्पनु अर्थात् राष्ट्र, जनता र क्रान्तिविरोधी काम कार्वाही या आचारण गर्नुलाई दासत्वपूर्ण आत्मसमर्पणवाद भनिन्छ ।
उपयुक्र्त विश्लेषणका आधारमा रही के निष्कर्षमा पुग्न सकिन्छ भन्ने दश वर्षे महान्् जनयुद्धबाट आर्जन गरिएका नेपाली क्रान्तिका सम्पूर्ण उपलब्धिहरूलाई शान्ति र संविधानको ढ्वाङ फुक्दै प्रचण्ड र बाबुरामले देशी विदेशी प्रतिक्रियावादीका सामु सुम्पेर नेपाली क्रान्तिलाई विसर्जनको अन्तिम मोडमा पु¥याएको हुनाले यस लेखमा प्रचण्ड बाबुरामको दासत्वपूर्ण आत्मसमर्पण भन्ने वारेमा संक्षिप्तमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
कहाँबाट शुरु भयो दासत्वपूर्ण आत्मसमर्पणको यात्रा ?
०६२ असोज–कार्तिक माओवादीको चुनवाङमा बैठक बस्यो । त्यस बैठकले राजतन्त्रको अन्त्य गर्न संसदवादीदलहरूसित कार्यगत एकता गर्ने निर्णय ग¥यो र लोकतान्त्रिक गणतन्त्रको तत्कालीन कार्यनीतिक कार्यदिशा पारित ग¥यो । सो बैठकबाटै माओवादीले दक्षिणपन्थी संशोधनवादी लाइन पकड्यो । किन कि कम्युनिस्टहरूको कार्यक्रम गणतन्त्र होइन, जनगणतन्त्र हो । गणतन्त्र त बुर्जुवाहरूको नारा । यो पुँजीवादीहरूको संसदीय नारा हो । चुनवाङ बैठकबाटै गणतन्त्रको कार्यनीति पारितसँगै माओवादीको मुख्य नेतृत्व अर्थात् प्रचण्ड–बाबुरामको दासत्वपूर्ण आत्मसमर्पणको यात्रा शुरु भएको हो ।
यो यात्रा पूरा गर्नलाई बीच बीचमा संसद्वादी दलहरूसँग विभिन्न समयमा विविध विषयमा सम्झौता र सहमतिहरू सम्पन्न हुदै गए । भारतीय विस्तारवादको मध्यस्तामा ०६२ मंसिर ७ गते भारतको नयाँ दिल्लीमा सात संसद्वादी दलहरूसित १२ वुँदे समझदारी भयो । त्यतिखेर नै राजतन्त्रको अन्त्य हुनु पर्ने हो पार्टीको कार्यदिशा अनुसार तर ‘निरंकुश राजतन्त्रको अन्त्य’ भन्ने बुँदामा मूल नेतृत्व सहमत भएको छ । ०६२÷०६३ को १९ दिने जनआन्दोलनको बलबाट ०६३ बैशाख ११ गते तत्कालीन निरंकुश राजा ज्ञानेन्द्रले विघटित संसदको पुनस्थापना स्विाकार गरेपछि जन आन्दोलन स्थगित भयो र माओवादीले पनि स्वीकार गर्यो । संवैधानिक राजतन्त्रलाई स्वीकार्न पुग्नु माओवादी मूल नेतृत्वको बैचारिक विचलनको पराकाष्ठा थियो । यहाँनेर ०१२ सालमा नेकपाका तत्कालीन महासचिव मनमोहन अधिकारीले वैधानिक राजतन्त्रको नायकत्व स्विकार्ने सर्तमा ००८ सालदेखि पार्टीमाथि लगाउदै आएको प्रतिबन्ध फूकाउने जुन सहमति भएको थियो, त्यही इतिहासको पुनरावृत्ति हुन पुग्यो । ०६३ बैशाख ११ गते राजतन्त्र संवैधानिक भएको घोषणा भएपश्चात माओवादीले पनि संवैधानिक राजतन्त्रको नेतृत्व अन्तरगत रहेर १० वर्ष पहिलेदेखि भूमिगत रहेको पार्टीलाई खुल्ला गरायो । १२ वुँदे समझदारी गर्दा नै सम्झौता पत्रमा जनमुक्ति सेना नेपाल राख्नु पर्नेमा ‘माआोवादीका लडाकुहरू’ भन्ने शब्द राख्ने काम भयोे । उनीहरू माओवादीको जनमुक्ति सेना नेपाल भन्ने शब्द नै सुन्न चाहदनै थिए भन्ने त्यो बलियो प्रमाण हो । अनि यो आत्मसमर्पण कै उपज पनि थियो ।
०६३ मंसिर ५ गते नेपाल सरकार र विद्रोही माओवादीका बीच बृहत शान्ति सम्झौता गर्ने क्रममा पार्टी अध्यक्ष प्रचण्डले जनयुद्ध समाप्त भएको भन्ने घोषणापत्रमा हस्ताक्ष गरे र बिना विकल्प दश वर्षे महान्् जनयुद्धको प्रक्रियामा दशौ हजार महान्् सहिदहरूको रगतले निर्माण गरिएका आधार इलाकाहरू खारेज गरियो । नयाँ जनसत्ताहरू र जनकम्युनहरू विघटन गरियो । यी सबै कार्यहरू पार्टीको निर्णयबिना प्रचण्डले साम्राज्यवादीहरू, विस्तावादीहरू र तिनका नेपाली दलालहरू काँग्रेस–एमालेको दबाबमा गरिएको थियो । किसानहरूको रगत र पसिनाले युद्धकालीन अवस्थामा कब्जा गरिएका सामन्त÷जमिन्दारहरूको जमिन पनि फिर्ता गरियो । कांग्रेस÷एमालेहरूको मागअनुरूप वाइ.सि.एलको अर्ध सैनिक संरचना भंग गयिो । नेपाली क्रान्तिको निम्ति यो भन्दा ठूलो गद्दारी अर्काे हुनै सक्दैन । यी कार्यहरू दासत्वपूर्ण आत्मसमर्पणका परिणामहरू थिए ।
०६८ जेठ १४ गते जनताको नयाँ संविधान घोषणा गर्ने दिन नजिकिदै गर्दा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले षडयन्त्र गर्न थालेका छन् । संविधानसभा नै विघटन गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपति शासन लगाएर संकटकाल लगाउने र क्रान्तिकारीहरूलाई समाप्त पार्ने तयारी भइरहेको छ भन्ने हाउगुजी देखाएर प्रचण्ड–बाबुरामले जनविद्रोहको पार्टीको आधारिक कार्यदिशालाई परित्याग गरेका छन् । उनीहरूबाट ‘शान्ति र संविधान’ सम्वन्धी कांग्रेस–एमालेको वुर्जुवा सुधारवादी एवम् संंसद्वादी कार्यदिशालाई पकड्न पुगेर नेपाली क्रान्तिप्रति ठूलो गद्दारी र बेइमानी गरिएको छ । आफ्नो भन्दा शत्रुको शक्ति ठूलो देखाएर कायरता प्रदर्शन गर्ने क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्ड–बाबुराममा चीनका आत्मसमर्पणवादी गद्दार चाङ क्वो थाओको गलत कार्यदिशा अभिव्यक्त हुन पुगेको छ ।
चाङ क्वो थाओका बाटोमा प्रचण्ड–बाबुराम
चीनमा लम्वे अभियानका क्रममा सन १९३५ मा चौथो मोर्चा सेनामा काम गर्ने चाङ क्वो थाओले शत्रुबाट हमलाको सामना गर्ने अभियान चल्दा उसले क्रान्तिको भविष्य प्रति भरोसा गरेन र जापान विरोधी जनवादी आन्दोलनको राष्ट्रव्यापी उत्थानलाई नकार्न पुग्यो र शत्रुको तागतलाई अधिक मूल्याङकन गर्दै क्रान्तिकारी शक्तिहरूलाई अति कम्जोर ठान्न पुग्यो । चाङ क्वो थाओको पलायनवादी कार्ययिदशाबाट चीनमा लालसेनाको ठूलो क्षति भयो र जापान विरोधी आन्दोलन पनि निकै कम्जोर बन्न पुग्यो । यतिले मात्र नपुगी चाङ क्वो थाओले लालसेनाको एकतालाई छिन्नभिन्न गर्दै नक्कली ‘केन्द्रीय समिति’ बनाई उसले पार्टी केन्द्रीय समितिलाई समेत खतरामा पार्ने कार्य रच्न पुग्यो । पार्टी निर्णय विपरित चाङ क्वो थाओले चौथो मोर्चा सेनालाई पश्चिमतर्फ बढ्ने आदेश दियो । यसको परिणाम एउटा सानो इकाई बाहेक पुरै चौथो मोर्चा सेना चाङ क्वो थाओको गलत कार्यदिशाको शिकार हुन पुग्यो । चीनियाँ लालसेनाका निम्ति यो गंभीर क्षति थियो । चाङको विघटनकारी गतिविधी एवम् तोडफोडका कारणले चीनियाँ लालसेनाले ठूलो क्षति व्यहोर्नु प¥यो । येनानमा भएको पार्टी र माओत्सेतुङद्धारा दिइएको सही नीतिले गर्दा चौथो मोर्चा सेनाले केन्द्रीय समितिको सही नेतृत्वको स्विकार ग¥यो । चाङको गल्तीबाट उम्कन केन्द्रीय समितिले लगातार शिक्षा दिने र बुझाउने तरिका अपनायो । रूपान्तरण गर्नका लागि चीनियाँ कम्युनिस्ट पार्टीले चाङलाई गल्तीहरूको आत्मालोचना गर्ने मौका दियो तर उसले नक्कली केन्द्रीय समिति स्थापना गर्न पुग्यो । अवसरवादी पतनलाई रोक्न उसले सकेन । अन्त्यमा चाङ क्वो थाओले क्रान्तिप्रति गद्दारी गर्दै आफूलाई क्वोमिङताङसँग बेच्यो र पतनको खाडलमा आफै पुरिन पुग्यो । महान्् चीनियाँ लालसेना विजयको झण्डा फहराउदै अगाडि बढ्यो ।
यहाँ चीनियाँ चाङको कालो इतिहासलाई किन उल्लेख गर्न खोजिएको हो भने नेपालमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष बाबुराम भट्टराईले पनि शत्रु शक्तिलाई बलियो देख्ने, हजारौ महान्् सहिदहरूको रगत र लाखौ नेपाली जनताको त्याग, बलिदान, योगदान र सहयोगबाट निर्माण गरिएको जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेना परिचालन गरेर आत्मसमर्पण गराई विघटन र विसर्जन गराउने र त्यस गद्दारीलाई प्रचण्डले ‘साहसिक निर्णय’ गरे भनेर जनतालाई उल्लु बनाउने अनि ‘जनमुक्ति सेनाको क्यान्टोनमेन्टभित्र हुन गइरहेको रक्तपातलाई रोकेको हुँ’ भनेर जनतालाई ढाट्ने जुन कार्य भइरहेका छन् सवै चाङ क्वो थाओ प्रवृत्ति हुन । यसले उजागार हुनु एमाओवादी पंक्ति भित्र अनिवार्य छ ।
दासत्वपूर्ण आत्मसमर्पणको पुनरावृत्ति
एकीकृत माओवादीका प्रचण्ड र बाबुराममा उत्पन्न भएको दासत्वपूर्ण आत्मसमर्पण नेपालको हकमा पहिलो र नौलो चाँही होइन, यो इतिहासको पुनरावृत्ति मात्रै भएको हो । यो नेपालको राजनीतिक इतिहासमा कहाँबाट शुरुबाट भएको हो भने तत्कालीन शासकहरूले ब्रिटिस भारतका सामु आत्मसमर्पण गरेर ३ मार्च सन् १८१६ मा राष्ट्रघाती सुगौली सन्धिमा हस्ताक्षर गरेपश्चात नेपालका शासक बन्दै आएकाहरूले श्रृंखलाबद्ध र क्रमबद्ध रूपमा साम्राज्यवादी र विस्तारवादीहरू विशेष गरी भारतीय विस्तारवादका सामु दासत्वपूर्ण आत्मसमर्पण गर्दै आएका थिए ।
नेपाल–अंग्रेज युद्ध (१८१४–१८१६) पछिको झण्डै २० वर्षसम्म शक्तिशाली मुख्तियार रहेका भीमसेन थापा(१८१६–१८३६)ले ब्रिटिश भारत सरकारलाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न र हालीमुहाली चलाउन नदिए पछि तत्कालिन ब्रिटिश आवासीय राजदूतावासले अनेक घात–प्रतिघात र षडयन्त्रद्धारा दरवारिया राजनीतिलाई विषाक्त तुल्याई भीमसेन थापाको पतनदेखि कुवर खलकको उदयसम्मको प्रपञ्ज तयार पारी अन्ततः नेपालमा आफू अनुकुलको सत्ता निर्माण गर्न सफल भएको थियो । परिणाम स्वरूप सन् १८४६ सेप्टेम्बर १४ को राती १० वजे तत्कालीन शाही मन्त्री जंग बहादुर कँुवरले कोत पर्व मच्चाई स्वयंलाई सर्वेसर्वा तुल्याएको थियो । त्यसयता सत्तामा पुग्न र सत्तामा टिकिरहनका लागि ब्रिटिश भारतका सामु आत्मसमर्पण गर्दै गुलामीको जीन्दगी बिताउदै आएका छन् ।
जंगबहादुर राणाले ब्रिटिश भारत सरकारलाई साधेर नेपालमा एक शताब्दी लामो आततायी शासनको पूर्वाधार तयार पारेको थियो । सत्ता जोगाउनका लागि जंगबहादुर राणाले ब्रिटिशको सहयोगको लागि पहिलो विश्वयुद्ध (१९१४–१९१८) र दोश्रो विश्वयुद्ध (१९३९–१९४५) मा भारतको आन्तरिक मामिलामा भारतीय सिपाही विद्रोह (१८५७) र कास्मीर संकट तथा हैदरावाद संकट (१९४८) जस्ता ब्रिटिश भारत एवम् स्वतन्त्र भारतमा उठेका आन्तरिक एवम् वाहिरी संकटमा पूर्ण बचन बद्धताका साथ नेपाली सेना र साधन श्रोत उपलब्ध गराइएको थियो । राणा शासकहरू ब्रिटिश दलाल बाहेक हरू केही थिएनन् । कार्ल माक्र्सले जंगबहादुर राणालाई ‘बेलायती कुकुर’ को संज्ञा दिएका थिए ।
जनताको आन्दोलन र विद्रोहले एक शताब्दी भन्दा लामो जहाँनियाँ तथा खुनी राणा शासन डगमगाउन थालेपछि सत्ता जोगाउनका लागि अन्तिम राणा प्रधानमन्त्री मोहन समशेर राणाले स्वतन्त्र भारतसँग सन् १९५० को राष्ट्रघाती सन्धि गरेका थिए । ००७ सालमा राष्ट्रघाती एवम् धोकापूर्ण त्रिपक्षीय दिल्ली संझौताले राजा त्रिभुवन र नेपाली कांग्रेसलाई सत्तामा पु¥याई दियो । सत्तामा पु¥याइदिएवाफत भारतको तत्कालिन उत्तर प्रदेशका गृह सचिव गोविन्द नारायण सिंहलाई राजा त्रिभुवनले आफ्नो नीजि सचिव बनाइ काठमाडौमा राखेका थिए । त्यसैगरी ००८ सालमा नेपाली कांग्रेसको मातृका प्रसाद कोइरालाको सरकारले नेपालका लागि भारतीय राजदूतलाई क्याविनेटको बैठकमा उपस्थित गराउने र नेपालको राजनीतिको रिपोर्रिङ भारतमा गर्नेसम्मका काम गरे । ती सबै आत्मसमर्पणवादका ज्वलन्त उदाहरण थिए । नेपाली कांग्रेसले सत्ता टिकाउनकै निम्ति ०११ बैशाख १२ मा भारतसँग कोशी संझौता, कांग्रेसका प्रधानमन्त्री वीपी कोइरालाले ०१६ मंसीर १९ गते बेलुकी भारतसँग गण्डक संझौता सम्पन्न गरेर नेपालका नदी नालाहरू भारतलाई बेचेर दासत्वपूर्ण आत्मसमर्पणको श्रृंखलालाई निरन्तरता दिए ।
सत्ता टिकाउनकै निम्ति तत्कालिन राजा महेन्द्रले सन् १९६२ मा चीनको सुराकी गर्नका लागि पश्चिम नेपालको दार्चुला जिल्लाको कालापानीमा ३७ वर्ग किलोमिटर भू–भागमा भारतीय सेनाको क्याम्प राख्ने अनुमति दिएका थिए । अहिलेसम्म पनि कालापानीमा भारतीय सेनाले परेड खेलीरहेको छ । त्यति मात्रै होइन सत्ता जोगाउनकँे निम्ति राजा महेन्द्रले सन् १९६५ मा राष्ट्रघाती सुरक्षा संझौता भारतसँग गरेका थिए । सत्तामा टिकिरहनका निम्ति ०४८ सालमा भारत भ्रमणका क्रममा कांग्रेसका प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले भारतसँग टनकपुर सन्धि गरे । सत्तामा पुग्नकै लागि कांग्रेस र एमालेले ०५३ असोज ४ गते संसदबाट राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरे । सत्तामा टिकिरहनका निम्ति दलाली गुलामी स्वरूप एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष बाबुराम भट्टराईले ०६८ कार्तिक ४ गते भारतसँग राष्ट्रघाती बिप्पा संझौता गरे ।
सत्तामा पुग्न र टिकीरहनका निम्ति ०६९ बैशाख २१ गते एमाओवादी प्रचण्ड–बाबुराम समूहको स्थायी समिति वैठकमा वर्तमान भारतीय राजदूत जयन्त प्रसादलाई उपस्थित गराइएयो र जयन्त प्रसादको उपस्थिति अनि निर्देशनमा दासत्वपूर्ण आत्मसमर्पणवादी ५ वुँदे संझौतामा प्रचण्डले हस्ताक्षर गरे । अहिले एमाओवादीका प्रचण्ड–बाबुरामले भारतका सामु सत्तामा पुग्न र टिकिरहनका निम्ति गर्दै आएको दासत्वपूर्ण आत्मसमर्पण कुनै नयाँ, नौलो परिघटना होइन, जंगबहादुर राणा, मोहन शम्शेर जवरा, मातृका प्रसाद कोइराला, वीपी कोइराला, राजा महेन्द्र शाह, गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवा र माधव नेपाल–केपी वलीले गर्दै आएको दासत्वपूर्ण आत्मसमर्पणको पुनरावृत्ति मात्र हो । इतिहास दोहोरिएको मात्र हो र तिनै राष्ट्रघाती गद्दारहरूको विडो प्रचण्ड–बाबुरामले थाम्न खाजेको मात्र हो । यो विषयलाई यसरी नै बुझ्नु पर्ने हुन्छ । कार्ल माक्र्सले जंगबहादुर राणलाई ‘बेलायती कुकुर’ भन्नु भएझै यी राष्ट्रघातीहरूलाई ‘भारतीय कुकुर’को संज्ञा दिएका कुनै फरक नपर्ला । किन कि भारतीय शासकहरूले फ्याकी दिएको कलो खाएर यिनीहरूले मालिकको आज्ञापालन इमान्दारीपूर्वक निर्वाह गरेकै छन् । भारतलाई नरिझाए सम्म र उसको निर्देशनलाई पालना नगरेसम्म सत्तामा पुग्न पनि सकिदैन र टिक्न पनि सकिदैन भने दासत्वपूर्ण मानसिकताबाट यी घटनाहरू दोहोरिदै आएका छन् । भारतको विरोध गरेमा भीमसेन थापा र मदन भण्डारीको जस्तै हालत ब्यहोर्नु पदैछ भन्ने डरले पनि यी गद्दारहरूले भारतीय विस्तारवादका सामु आत्मसमर्पण गर्दै आएका छन् ।
क्रान्तिप्रति गद्दारीको अन्तर्राष्ट्रिय कडी
माक्र्सवादको जन्म र विकाससँगै संशोधनवादको पनि जन्म र विकास भयो । संशोधनवादको साम्राज्यवादसँग सोझै सम्पर्क रहदै आएको छ । साम्राज्यवादको विश्व भौगोलिकृत भइरहेको अवस्थामा संशोधनवादको पनि अन्तर्राष्ट्रियकरण भएको छ । संशोधनवाद भनेको माक्र्सवाद विरोधी, क्रान्ति विरोधी विचारधारा हो ।
लेनिनले रुसमा सन् १९०३ मा कम्युनिस्ट पार्टीलाई अनुशासनबद्ध, कमिटी प्रणालीमा चल्ने र पद्धतिसंगत लडाकु दस्ता बनाउनु पर्दछ भन्ने प्रस्ताव राख्दा मार्ताेभहरूले लेनिनको विरोध गरेका थिए । परिणाम त पार्टी फूटेर बोल्सेविक र मेन्सोविक बन्न पुगे । लेनिनले १९०१–१९१४ मा क्रान्तिको कुरा गरिरहेको बेला मेन्सोविकहरूले लेनिनको विरोध गरे । लेनिनले सर्वहारा क्रान्ति र सर्वहारावर्गको अधिनायकत्वको कुरा गरिरहेको बेला कार्ल काउत्स्की (१८५४–१९३८) ले सर्वहारा क्रान्ति र सर्वहारावर्गको अधिनायकत्वको आलोचना गरे । कार्ल काउस्कीका माक्र्सवादी सिद्धान्तसँग असहमतिका कुराहरूको खण्डन गर्दै सन् १८१८ मा लेनिनले ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ भन्ने पुस्तकको रचना नै गर्नु भएको थियो ।
अहिले नेपालमा मोहन वैद्य ‘किरण’ र वादलहरूले जनविद्रोहको तयारी गरेर नेपाली क्रान्ति सम्पन्न गर्नु पर्छ भनिरहँदा प्रचण्ड–बाबुरामहरू संसदीय भासमा चुर्लुमै डुबेका छन् । पार्टी र क्रान्तिलाई छिन्नभिन्न पारेर, जनमुक्तिसेनालाई प्रतिक्रियावादी सेनामा विलय गरेर प्रचण्ड–बाबुरामले गरेको क्रान्तिप्रतिको यो गद्दारी नयाँ होइन अन्तरर्राष्ट्रिय गद्दारीकै नेपाली कडी र संस्करण मात्र हो ।
क्रान्तिप्रति गद्दारीको राष्ट्रिय कडी
नेपाली क्रान्तिप्रति गद्दारी गर्ने क्रममा प्रचण्ड–बाबुराम पहिलो पंक्तिमा पर्दैनन् । नेकपाको पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारीले वि.स. ०१२ मै राजतन्त्रका सामु आतमसमर्पण गरेर नेपाली क्रान्तिप्रति गद्दारीको शिलान्यास गरेका हुन् भने दोश्रो महाधिवेशन निर्वाचित महासचिव डा. केशरजंग रायमाझीले नेकपालाई र नेपाली क्रान्तिलाई राजदरवारमा बुझाएर नेपाली क्रान्तिप्रति ठूलो गद्दारी गरेका थिए । ऐतिहासिक झापा विद्रोहबाट अगाडि बढेका एमालेका नेताहरूले नेपाली क्रान्तिलाई भारतीय विस्तारवादका सामु बुझाएर ठूलो गद्दारी गरेका थिए भने अहिले प्रचण्ड बाबुरामले नेपाली क्रान्तिलाई भारतीय विस्तारवादी शासकहरू र तिनका नेपाली दलालहरूका सामु बुझाएर सत्तामा पुग्न र टिकिरहनका निम्ति दासत्वपूर्ण आत्मसमर्पण गरेका छन् । मनमोहन, रायमाझी र एमालेका नेताहरूको पंक्तिमा आफ्नो नाम दर्ता गरेर इतिहासको पुनरावृत्ति गरेका छन् । अर्थात प्रचण्ड–बाबुरामले मनमोहन, रायमाझी र एमालेका नेताहरूको विडो थाप्ने काम मात्र गरेका छन्, कुनै नयाँ इतिहास निर्माण गरेका होइनन् ।
क्रान्तिकारीहरूको दायित्व
क्रान्तिकारीहरूले संशोधनवादी, क्रान्तिका गद्दारहरूका विरुद्ध भीषण दुइलाइन सङ्घर्ष र विचारधारात्मक अन्तरसङ्घर्ष संचालन गरेर मात्र क्रान्तिलाई अगाडि बढाउन सक्छन् र गद्दारहरूलाई आन्दोलनबाट विस्थापित गर्न सक्छन् । माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओले यही पद्धति अपनाएर नै माक्र्सवादको रक्षा र विकास गर्नु भएको थियो । जहाँ पनि आन्तरिक दुई लाइन सङ्घर्षको माध्यमबाट नै क्रान्तिलाई विजयमा पुर्याइएको थियो ।
नेपालमा पनि एमाओवादीका प्रचण्ड–बाबुरामहरूले गर्दै आएको क्रान्ति र माक्र्सवादप्रतिको गद्दारीकोे बारेमा पार्टी भित्रका मोहन वैद्य ‘किरण’ र ‘वादल’हरूले भीषण दुइलाइन सङ्घर्ष संचालन गर्दे आएका छन् र यतिबेला दुइलाइन सङ्घर्ष उत्कर्षमा पुगेको छ । प्रचण्ड–बाबुरामरूपी नवसंशोधनवाद नेपालका क्रान्तिकारीहरूका सामु नाङ्गो र कुरूप ढंगले उभिन पुगेको छ । यो संशोधनवाद क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट विस्तापित हुने अन्तिम मोडमा पुगेको छ ।
सन् १९५६ मा रुसमा खु्रश्चोवको आधुनिक संशोधनवादको क्रान्तिकारीहरूले समयमै उपचार गर्न नसक्दा सोभियत समाजवादले पराजय भोग्नु प¥यो । चीनमा माओको निधन पश्चात प्रतिक्रान्तिले मौलाउने मौका पायो । नेपालमै ०१९ सालमा पार्टीको तेश्रो महाधिवेशनले नेपाली क्रान्तिको गद्दार रायमाझीलाई त कार्वाही गरेर पार्टीबाट निकाल्यो तर क्रान्तिकारी कार्यदिशाका साथ अगाडि बढ्नु पर्नेमा राष्टिय प्रजातन्त्र जस्तो बुर्जुवा संसदवादी कार्यदिशा पारित गरेर अगाडि बढ्न खोज्दा नेपाली कम्युनिस्ट आन्दोलन विभाजित हुन पुग्यो । जसको असर अहिलेसम्म पनि कायमै छ । अव एमाओवादीका क्रान्तिकारीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इतिहासबाट सकारात्मक तथा नकारात्मक पाठ सिकेर क्रान्तिकारी कार्यदिशाका साथ बढेर मात्रै नेपाली क्रान्तिका गद्दारहरूलाई निस्तेज पार्न सकिन्छ र क्रान्तिलाई विजयतिर लान सकिन्छ । इतिहासले सिकाएको पाठ पनि यहि नै हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment